पूर्वराज्यमन्त्री चौधरीको निधन, देउवाद्वारा दुःख व्यक्त

पूर्वराज्यमन्त्री चौधरीको निधन, देउवाद्वारा दुःख व्यक्त


नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधन भएको छ । नेता चौधरीको शुक्रबार (९ जेठ) बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो ।

चौधरीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । एक शोक विज्ञप्तिमार्फत सभापति देउवाले नेता चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

स्व चौधरीले कांग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

सदिवंगत चौधरी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५६ मा संसदमा निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री भएका थिए ।

वि.सं २०२८ मा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्व. चौधरीले पार्टीका विभिन्न पदमा रहेर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ । दिवंगत चौधरीका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् ।