कोरोनाबाट सङ्क्रमित ५०७, निको हुने ७०, ४० जिल्लामा असर

कोरोनाबाट सङ्क्रमित ५०७, निको हुने ७०, ४० जिल्लामा असर


कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज शुक्रबार निको भई घर फर्किएका छन् । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराखेका थिए ।

निको हुनेमा महिला नौ र पुरुष १२ रहेका छन् । योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ । २० दिनको अस्पताल बसाइपछि संक्रमितहरु कोरोना जितेर घर फर्किएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले पछिल्लो समय १९ जनामा कोभिड–१९ बाट सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्ममा नेपालमा सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

सङ्क्रमित हुने कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुष, डडेल्धुराका २८ र बैतडीका २२ वर्षका पुरुष रहेका छन् । यस्तै, बाँकेका १४ जना सङ्क्रमित भएका छन् । आज सङ्क्रतित हुने १८ देखि ६१ वर्ष उमेर समूहका रहेका र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म यो भाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ ।