उपत्यकामा चोरी र ठगी गर्ने गिरोह धमाधम पक्राउ

उपत्यकामा चोरी र ठगी गर्ने गिरोह धमाधम पक्राउ


  • सनत आचार्य

काठमाडौं उपत्यकामा लकडाउनको समयमा दिउँसो र रातको समयमा चोरीका घटना बढेपछि यस्ता घटनाको पहिचान गरी न्यूनीकरण र नियन्त्रण गर्न महानगरीय अपराध अनुसन्धान महाशाखा सक्रिय भएको छ । लकडाउनको समयमा उपत्यकामा चोरीका घटनाहरू बढ्न थालेपछि महाशाखा नयाँ रणनीतिसहित आक्रामक रुपले फिल्डमा उत्रेको हो ।

यस रणनीतिलाई ‘चोरी तथा लुटपाट घटना नियन्त्रण अभियान ०७७’ नाम दिइएको छ । यस रणनीतिअनुसार महाशाखाले आफूमातहतका प्रहरीहरू सादा पोसाकमा खटाएर उपत्यकामा चोरीका घटना भएका र हुन सक्ने सम्भावित स्थानहरूमा दिनरात निगरानी बढाएको छ भने चोरीका घटना नियन्त्रणका लागि उपत्यकाका तीनवटै परिसर तथा वृत्तहरूसँग समन्वय गरी चोरी तथा लुटपाटका घटनालाई सुक्ष्म रुपले अध्ययन गर्ने गरिएको बताइएको छ ।

अपराध नियन्त्रण महाशाखाका प्रमुख एसएसपी दिपक थापाले चोरी तथा लुटपाटका घटनाहरूको नियन्त्रणका लागि विभिन्न निकायहरूसँग समन्वय गरी दिउँसो र रातीको समयमा पनि प्रहरीहरू खटाइएको जानकारी दिँदै चोरी तथा लुटपाट हुन सक्ने सम्भावित स्थानहरूमा निगरानी बढाउने कार्य प्रभावकारी देखिएको बताउनुभयो ।

उपत्यकाका विभिन्न स्थानमा भएका चोरीका घटनाको अनुसन्धान गरी त्यसको पहिचान गर्न र चोरी अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न समेत प्रहरी सफल भएको दाबी एसएसपी थापाको रहेको छ । उहाँले पछिल्ला चार वटा घटनामा प्रहरीले सफलता पाइसकेको उल्लेख गर्दै लकडाउनको समयमा पनि दैनिकजसो चोरी तथा ठगीका घटनामा संलग्नको पहिचान गरी पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिनुभयो ।

काठमाडौंमा संगठित रुपमा चोरी र लुटपाट कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई यसको संजाल निर्मूल पार्ने अभियानमा लागेको उहाँ बताउनु हुन्छ । विगतमा चोरी गरी कारागार बसेका गिरोहसमेत पक्राउ परेको जानकारी दिँदै उहाँले यसबाट समाजले अझ सुरक्षित महसुस गर्न सक्ने तर्क गर्नुभयो ।

महाशाखाले सरकारद्वारा जारी लकडाउन कार्यान्वयन गर्न महाशाखाका प्रहरीहरू काठमाडौंका विभिन्न नाकामा खटिएका र वर्तमान विषम परिस्थितिमा पनि मौकाको फाइदा उठाई कालोबजारी तथा विभिन्न गैरकानुनी क्रियाकलाप गर्ने, गलत धन्धामा संलग्न हुने र विगतमा अनुसन्धान गर्न बाँकी रहेका ज्यान मुद्धा, ठुला–ठुला चोरी तथा ठगीका मुद्धाको समेत फलोअप गर्ने योजना रहेको उहाँले जानकारी दिनु भयो ।

यसवाहेक विगतमा भएका जघन्य अपराध, साइवर तथा संंगठित अपराधको जालोलाई छुट्टाछुट्टै हेर्न विभिन्न समुह बनाई उपत्यकामा परिचालन गरिएको र छोटो समयमा आफुहरूले अनपेक्षित रुपमा सफलता हासिल गरेको पनि एसएसपी थापाले बताउनुभयो । यसका लागि प्रहरीले मात्र सबै काम गर्न सम्भव नभएको हुँदा चोरी र ठगीबाट पीडितहरूले विश्वस्त भई महाशाखामा जानकारी गराउन पनि अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी थापाले अनुरोध गर्नुभएको छ ।