विदेशबाट फर्कने नेपालीका लागि होटल तथा रिसोर्ट ‘क्वारेन्टिन’

विदेशबाट फर्कने नेपालीका लागि होटल तथा रिसोर्ट ‘क्वारेन्टिन’


विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थित रूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको खुलासा गरेका छन् ।

राज्यमन्त्री मानन्धरका अनुसार हाल काठमाडौं उपत्यकामा ५ सय १८ श्यया तयारी अवस्थामा छन् । देशभर भने करिव ६५ हजार क्वारेन्टिन तयारी अवस्थामा रहेकामा २५ हजार सर्वसाधारण क्वारेन्टिनमा छन् ।

देशभर क्वारेन्टिनको अनुगमन र सहजीकरण गर्ने जिम्मेवारी राज्यमन्त्री मानन्धरको काँधमा छ । देश सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेन्टिनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा उनले गरेका छन् ।

हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने राज्यमन्त्री मानन्धरको भनाई छ । विदेशमा विपदमा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौ. उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पूर्वतयारी गरिएको जानकारी दिँदै खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारण सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट गरे । हवाईमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेन्टिन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।

केही स्थानमा क्वारेन्टिन व्यवस्थापनमा कमजोरी देखिएको स्वीकार गर्दै राज्यमन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको दाबी पनि गरेका छन् । क्वारेन्टिन व्यवस्थापनको खर्च सङ्घीय सरकारले व्यहोर्ने बताउँदै राज्यमन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानीय सरकारलाई उनले आग्रह गरेका छन् ।

बिहीबार (८ जेठ) शहरी विकास मन्त्रालयमा भएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, गृह मन्त्रालयका उपसचिव गोमादेवी चेमजोङ, रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारका अलावा गृह, रक्षा, सामान्य प्रशासन, स्वास्थ्य र शहरी विकास मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।