लिपुलेकमा झण्डा गाड्न हिँडेका विप्लवका कार्यकर्ता पक्राउ

लिपुलेकमा झण्डा गाड्न हिँडेका विप्लवका कार्यकर्ता पक्राउ


लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका विप्लव नेतृत्वको नेकपाका आठ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई व्यास गाउँपालिका–२ दुम्लिङबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । उनीहरुलाई व्यासका स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिएका छन् ।

स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम खलङ्गा ल्याइरहेको विष्टको भनाई छ । प्रहरीले लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउद, दीपक साउद र जनकसिंह साउदलाई नियन्त्रणमा लिएको हो ।

जीवन यसअघि पनि कालापानी जान भन्दै सदरमुकाम खलङ्गामा पर्चा वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । बन्दाबन्दीको अवस्थामा उनीहरु लुकेर व्यासको दुम्लिङ पुगेका बताइएको छ ।