पेरुमा कोरोना संक्रमित एक लाख नाघ्यो, तीन हजारको मृत्यु

पेरुमा कोरोना संक्रमित एक लाख नाघ्यो, तीन हजारको मृत्यु


दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ भने तीन हजारभन्दा बढीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिकोपछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन् । गत अप्रिल ३० यता संक्रमित र मृत्यु हुनेको दर त्यहाँ तीन गुणाले बढेको छ ।

भाइरस फैलिन नदिन पेरुमा नौ हप्तादेखि लकडाउन जारी छ, र यसबाट मुलुकको अर्थतन्त्र अत्यन्त नाजूक अवस्थामा पुगेको छ । पेरुको करिब ३ करोड २० लाख जनसंख्यामध्ये एक तिहाई बसोबास गर्ने लिमा र तटीय शहर कालाओमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

पेरुका अस्पतालमा बिरामीको संख्या व्यापक रुपमा बढ्नुका साथै अस्पतालहरुमा स्वास्थ्य सामग्रीको चरम अभाव हुन थालेको छ । राजधानी लिमको उनानु अस्पतालमा कार्यरत नर्स मिगेल अर्मासले यहाँका अवस्था अहिले “हरर फिल्म” (तर्साउने फिल्म) हेरेजस्तो देखिएको बताएकी छन् ।

स्वास्थ्य मन्त्रालयले कोविड–१९ का बिरामी उपचारका लागि हाल ७ हजार ५०० व्यक्ति अस्पताल भर्ना भएको जनाएको छ भने स्थानीयवासीले चिकित्सा सेवाको पर्याप्त व्यवस्था नहुँदा संक्रमितहरुको घरघरमै ज्यान गइरहेको गुनासो गरेका छन् ।