छपन्न दिनमा तीन अर्बको औषधि आयात

छपन्न दिनमा तीन अर्बको औषधि आयात


लकडाउन शुरु भएपछिको ५६औैँ दिनसम्म करिव तीन अर्ब बराबरको तयारी औषधि आयात भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार बन्दाबन्दीपछि मङ्गलबार (६ जेठ) सम्म दुई अर्ब ७१ करोड ६ लाख ६७ हजार बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख ९५ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको जनाएको हो ।

मन्त्रालयको तथ्यांकानुसार एक लाख ८३ हजार ९२३ मेट्रिक टन खाद्यान्न, ५१ हजार ८३२ मेट्रिक टन दलहन, ६९ हजार २५५ मेट्रिक टन तरकारी, २५ हजार ९८१ मेट्रिक टन फलफूल र १२ हजार ५७ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार बन्दाबन्दीपछि खाद्य पदार्थ आयात बढेको छ भने पहिलो हप्ताको तुलनामा आठौँ हप्तामा खाद्यान्न आयातमा ८२ दशमलव ६ प्रतिशत तथा दलहन तथा गेडागुडी आयातमा १२१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ९ दशमलव ६ र ३०५ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा दुग्धजन्य पदार्थ आयातमा १३२ दशमलव ९, औषधिको कच्चा पदार्थमा १९८ दशमलव ३ र तयारी औषधिमा ५७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

बन्दाबन्दी भएपछिको हाल विद्यमान आठौँ सातामध्ये खाद्यान्न पाँचौँ साता, दलहन तथा गेडागुडी, फलफूल र तयारी औषधि छैटौँ साता र औषधिको कच्चा पदार्थ सातौँ सातामा सबैभन्दा बढी आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी तरकारी तथा दुग्धजन्य पदार्थ चौथो सातामा सबैभन्दा बढी आयात भएको थियो ।

रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबारसम्म वीरगञ्ज एकीकृत जाँचचौकीबाट ३१२ ट्रक भित्रिएको, २७६ ट्रक बाहिरिएको र ६३३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएको, ११५ ट्रक बाहिरिएको र तीन हजार ५९२ ट्रक रोकिएका छन् । भैरहवा नाकाबाट ५० ट्रक भित्रिएको, ४४ ट्रक बाहिरिएको र १८० ट्रक रोकिएका छन् ।

विराटनगर एकीकृत जाँचचौकीबाट २१७ ट्रक भित्रिएको, ११४ ट्रक बाहिरिएको र २५५ ट्रक उतै रोकिएका छन् भने विराटनगर सुख्खा बन्दरगाहमा एक ट्रक रोकिएको छ । काकरभिट्टा जाँचचौकीबाट ६८ ट्रक भित्रिएको, ५८ ट्रक बाहिरिएको र ३३ ट्रक रोकिएको छ ।