आर्थिक संकटमा परेपछि निजीकरणको तयारीमा थाई एयरवेज

आर्थिक संकटमा परेपछि निजीकरणको तयारीमा थाई एयरवेज


कोरोना भाइरसका कारण यात्रा र पर्यटन क्षेत्रमा ठूलो संकट उत्पन्न हुनुअघि नै आर्थिक समस्या झेल्दै आएको थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेजले सरकारबाट १ अर्ब ७० करोड अमेरिकी डलर ऋणका लागि प्रस्ताव गरेको छ । थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्ने गरी थाइल्याण्डको एक अदालतमा निवेदनसमेत दिएको छ ।

थाई सरकारका प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका लागि मंगलबार पेश गरिने जानकारी दिएका एपीले जनाएको छ । प्रस्तावित कार्ययोजनाका बारेमा विस्तृत रुपमा भने प्रवक्ताले खुलाएका छैनन् ।

प्रस्तावित योजना कार्यान्वयनमा आए थाई एयरवेजमा सरकारको लगानी ५० प्रतिशतभन्दा कम हुनेछ, र यसले निजीकरणतर्फ अग्रसर गर्ने छ । घाटामा गएर कमजोर हुन थालेको उद्धारका विकल्पहरुमध्ये खासगरी कर्मचारी, विमान संख्या र उडानहरु कटौती हुने बताइएको छ ।

थाई एयरवेजले सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको थियो । संचारमाध्यमहरुले थाई एयरवेजमा ९ अर्ब ४० करोड डलर ऋणभार रहेको बताएका छन् ।

कोरोनाभाइरस महामारीका कारण अप्रिलको शुरुदेखि नै थाई एयरवेजले सबै उडान बन्द गरेको छ । विमान सेवामा कार्यरत अधिकांश कर्मचारीलाई तलब घटाएर विदामा बस्न बाध्य पारिएको छ । सरकारले गत साता अन्तर्राष्ट्रिय उडानबाट थाइल्याण्ड आउन आगामी जुनको अन्त्यसम्म रोक्ने घोषणा गरिसकेको छ ।