समाजको लक्ष्य, हाम्रा आन्दोलन र परिणतिहरू

समाजको लक्ष्य, हाम्रा आन्दोलन र परिणतिहरू


■ डा. लक्ष्मीकान्त पौडेल

हामी नेपाली आन्दोलनको ‘पर्याय’जस्तै बन्न पुगेका छौँ । अब त हाम्रो नामको पछिल्तिर ‘आन्दोलनकारी’ भन्ने ‘टाइटल’ नै झुण्ड्याइदिए पनि फरक पर्दैन होला । झट्ट सुन्दा यो कुरा कुनै जोक गरेजस्सतो या हलुका लाग्न सक्छ, तर यस्तो अनुभूति अकारण गरिएको भने होइन ।

हामीकहाँ अनेक जायज आन्दोलन र धेरै नै नाजायज आन्दोलनहरू पनि भएका छन् भन्दा अन्यथा नहोला । जायज आन्दोलन र उपलब्धिमा २००७ सालको आन्दोलन, २०१७ पछिका आन्दोलनहरूमा २०३६, २०४२, २०४६ समेत हालसम्मका आन्दोलनहरू पर्दछन् । नाजायज आन्दोलनमा देशको कुनै जिल्लामा लोग्ने स्वास्नीको झगडामा राजमार्ग चक्काजाम भएका मात्र नभइ सडकमा कुखुरा मारिएपछि पनि चक्कजाम भएका धेरै घटना छन् । विदेशीले नेपालीलाई नराम्रो रूपमा हेपेकोले नेपालीले आन्दोलनका क्रममा रिसले अफ्नै टिभी सेट फोरेको पनि त हामीले सुनेकै हौँ । पङ्क्तिकार केही भावनालाई ब्याख्याविना नै प्रस्तुत गर्न चाहन्छ, किनभने ती सन्दर्भ स्वयम् नै बोलेका छन् ।

अनेक समय र सन्दर्भमा हामीले राम्रो निर्णय गर्न सकेका छौँ कि छैनौँ भन्ने सवाल पनि छ । हाम्रा काम अनि आन्दोलन तथा परिणाम र त्यसपछिका उपलब्धिका बारेमा लक्ष्मी उप्रेती मुक्तकमा यसरी पोखिन्छिन्–
तिमीले जीवन नै बलिदान गरेर युद्धमा नलगाएको भए
तिमीले सर्वस्व गुमाएर देशका लागि रगत नबगाएको भए
सुशासनका नाममा देश लु्ट्ने गणतन्त्र कसरी आउँथ्यो र !
थुप्रैलाई राजा हुन तिमी शहीद भएर बाटो नबनाएको भए ?

उनका यी पङ्क्तिमा केही थपथाप गर्नुपर्ला र ? अझै उनी थप्छिन्, जो झनै महत्वपुर्ण छ–
ए समय ! अतीतका सारा आँशु पुछेर जा
सपना पनि उज्यालो विपनामा मुछेर जा
जीवन सङ्घर्षमा नथाक्ने मिठो तिर्खा हो
अघि बढ्ने यात्रा अझै धेरै सिकाएर जा ।

मानिसको स्वभाव वा प्रवृत्ति पनि अचम्मको हुन्छ । स्वार्थ मिल्दासम्म धेरै गल्तीहरू पनि देखिँंदैनन् । जब स्वार्थको टकराव हुन्छ र मानिस ब्यक्तिगत स्वार्थको पछि लाग्छ, त्यतिबेला उसले विमति र विवादमा आफ्नो पक्ष ठिक भनेर धेरै नै निहुँ खोज्दछ । उसलाई के राम्रो र के नराम्रो भन्दा पनि अरुको अगाडि आफ्ना कुरा राम्रा र अरुका गलत भन्ने भावले घर्लप्पै छोप्दछ ।

मोहब्बत थि तो चाँद अच्छा था,
उतर गइ तो दाग भि दिखने लगे ।

मानिसको स्वार्थको कुनै पनि सीमा रहेन । गलत मानिसको बुद्धि यति भ्रष्ट भएको हुन्छ कि उसलाई राम्रो सल्लाह विष जस्तो लाग्दछ । जब सत्ताबाट उत्रन्छ तब मात्र उसको राग पनि उत्रन्छ ।

पङ्क्तिकारलाई जंगबहादुरको समयको एउटा भनाई अचेल मन पर्ने गरेको छ ।
नयाँ सडकमा राती १२ बजे एक मानिस रक्सी खाएर हिँड्दै रहेछ । उसलाई आफू ठुलै हुँ भन्ने लागेछ । रक्सीको तालमा उ हिँड्दा त्यहाँका सुरक्षाकर्मीले भनेछन्– ‘श्री ३ जंगबहादुर आउँदै हुनुहुन्छ, पखा लाग ।’ त्यसो भन्दाभन्दै जंगबहादुर आइपुगेछन् । रक्सी खानेले भनेछ– ‘केको जगबहादुर ? मै हुँ जंगबहादुर ! मभन्दा ठूलो जंगबहादुर यहाँ को छ ?’ जंगबहादुरले पनि उसको कुरा सुनेछन् । उनलाई पहिला रिस उठेछ, तर रक्सी खाएको मानिस भएकोले यसको विचार के हो रक्सीले छोडे पछि बुझ्नुपर्छ भन्ने ठानेर उसलाई जंगबहादुरले आफूसँगै लगेछन् । चिसो छिँडीमा सुताएछन् र बिहान त्यसको के खबर के रहेछ भनेर उनी बुझ्न गएछन् । उनले जँड्याहालाई सोधेछन्– ‘के छ त जंगबहादुर तिम्रो खबर ?’ जवाफमा विचराले साँचो कुरा नै भनेछ– ‘सरकार, मेरो जंगबहादुर राती नै चिसोमा भागिसक्यो, अब त म हजुरको प्रजा ।’ अनि जंगबहादुरले हाँस्दै उसलाई छोड्न भनेछन् । सत्ता पनि रक्सीको मात जस्तै हो ।

उ त रक्सीको मातमा थियो, तर सत्ताको मदमा शासन–सत्तामा रहेका मानिसले भ्रष्टाचारलाई संस्थागत बनाउँछन् । रक्तचन्दनलाई बकाइनो भनाउँछन्, सुनलाई पित्तल बनाउँछन् । यस्ता फेहरिस्त बनाउन थाल्ने हो भने सबै समेट्न साध्य नै हुँदैन । अब त भ्रष्टाचारी सावित हुन नपरोस् या भ्रष्टाचारको आरोप नलागोस् भनेर अख्तियार भन्ने स्थानमा आफ्ना ‘हनुमान’हरूलाई मात्र लगिने परिपाटी स्थापित हुँदैछ भन्ने सुन्न थालिएको छ । त्यसपछि त न रहे बाँस न बजे बाँसुरी !

गलत उद्देश्यको लागि नेता छान्नेलाई पनि नेताहरूले नराम्रोसँग लात हानिदिन्छन् । पुनः चुनावमा त्यसै गर्दछन् । त्यसैले त यो कथा सुन्नु पर्दछ । एउटा राजाकोमा एकजना गरिव गायकले गएर साह्रै राम्रो गीत गाएछ । राजा उसँग निकै प्रशन्न भएछन् । उनले उसलाई सुनका सिक्का, जग्गा, जागिर दिने बताएछन् । उ दङ्ग परेर घरमा गयो । सबैलाई त्यो खुसखबरी सुनायो । राजाले बचन दिएका कुरा प्रदान गर्न आफूलाई नबोलाएपछि उ सोध्न गएछ । राजाले उसलाई सोधेछन्, किन आएको ? गायकले भनेछ– हजुरले दिने बक्सिस पाउँछु कि भनेर । अनि राजाले भनेछन्, तिमीले गीत गाएर मेरो कानलाई धेरै खुसी बनायौ, मैले पनि बक्सिस दिउँला भनेर तिम्रा कानलाई खुसी बनाइदिएँ । हिसाब बराबर नै भयो ।

अहिले कोरोना महामारी, राहतका कुरादेखि सीमा–विवाद समेतका जटिल समस्याबाट नेपाल गुज्रेको छ । नेताहरूले राम्रै गरेका होलान् । सरकारमा रहेकाहरूको दाबी राम्रो गरेका छौँ भन्ने नै छ । जति राम्रो गरे पनि समस्या कम हुने भन्दा बढिरहने चाहिँ किन हो ? वास्तवमा बेलामा सही छनौट गर्न नजानेपछि पछुताउनु बाहेक के विकल्प हुँदोरहेछ र !

राजनीति मात्र हैन सबै काममा योग्य मानिस उपयुक्त ठाउँमा भन्ने नियम त लागु हुनै पर्दछ । पङ्क्तिकारलाई सम्झना छ– सोभियत संघ हुँदाको कुरा हो । सोभियत रुसले अत्याधुनिक प्रविधिको रक्षा–संयन्त्रको विकास गरेको थियो । त्यसलाई अन्य किसिमले गोप्य पनि राखेको थियो । त्यसै समयमा अमेरिकाका रक्षामन्त्री शोभियत संघ गएका थिए । उनलाई त्यो संयन्त्र राम्रोसँग रुसीहरूले देखाए । उनले पनि हेरे । उसलाई पछि सोधियो । त्यो यन्त्रको बारेमा केही जानकारी त पाउनुभयो होला ? उनले भने– म रक्षा–विशेषज्ञ होइन, न त वैज्ञानिक नै हुँ । मैले त केही पनि बुझिनँ, मात्र हेरेँ । मन्त्रीमा उपयुक्त पात्र भएको भए सत्यतथ्य केही थाहा लाग्थ्यो होला नि !

हाम्रो जस्तो देशमा सबै विद्वानहरू पदको लागि कुनै पनि दलका स्वतन्त्र संगठनमा संलग्न भएका हुन्छन् । मानवअधिकार संगठनमा समेत दलका कार्यकर्ताहरू स्वतन्त्र रुपमा लागेका हुन्छन् । त्यो स्वतन्त्रता दलको हितमा र आफ्नो दलमा हैसियत बनाउन भन्दा र दलको तावेदारी गर्नभन्दा बढि के होला र !

एउटा कथा यहाँनेर उपयुक्त नै होला । एकपटक जंगलको राजा छान्नलाई चुनाव भएछ । बाँदर र स्याल धेरै बाठा थिए । उनीहरू मिलेर सिंहलाई चुनावमा हराएछन् । एकदिन सिँहले एउटा मृगलाई ओडारमा लगेछ । पीडित मृगको अभिभावक मृगले आफ्नो पीडा नेता छानिएको स्याललाई सुनाएछ । स्यालराजाले ‘हुन्छ म गर्छु’ भन्ने वचन दिएछ । काम देखाउन स्याल ओडारको नजिक जाने र कराउने गर्दोरहेछ । कहिले–कहिले बाँदरलाई पनि लगेर गुफाको नजिकका रुखहरू हल्लाउन लगाउँदोरहेछ । तर काम त बनेन । सायद सिँहले पनि मृगलाई सिकार गरिसकेको थियो होला । अति नै भएपछि अभिभावक मृगले फेरि स्याल र बाँदरलाई सोधेछ– ‘मेरो काम अझै भएन ?’ जवाफमा उनीहरूले भनेछन्– ‘हामी तिम्रो काममा लागेका लाग्यै छौँ, देखेकै छौ । तिमीले चुनेको नेताको हैसियतले जे गर्न सकिन्छ त्यो गरेकै छौँ ।’ के हामीले पनि हाम्रा लागि त्यस्तै अगुवा चाहेका र चुनेका त होइनौँ ?

मनिसहरू भन्ने गर्दछन् कि गलत गर्नेको विरोध गर्न सकिँदैन भने गलत गर्नेभन्दा ठुलो गल्ती विरोध नगर्नेको हुन्छ । त्यो जिम्मेवारी अझै विद्वानहरूको हो । तर हाम्रो जस्तो देशमा सबै विद्वानहरू पदको लागि कुनै पनि दलका स्वतन्त्र संगठनमा संलग्न भएका हुन्छन् । मानवअधिकार संगठनमा समेत दलका कार्यकर्ताहरू स्वतन्त्र रुपमा लागेका हुन्छन् । त्यो स्वतन्त्रता दलको हितमा र आफ्नो दलमा हैसियत बनाउन भन्दा र दलको तावेदारी गर्नभन्दा बढि के होला र ! सत्ता–स्वार्थ भन्दा बाहिरका वुद्धिजीवीहरू जति नै उपयुक्त भए पनि उनीहरू हास्यका पात्र मात्र हुन्छन् । राज्यले कहाँ सुन्छ र ? दलका वा दलका जस्ता संगठन तर नामचाहिँ ‘स्वतन्त्र’ भनेर काम छ त ?

सत्तामा रहेको एकोहोरो तर अरुले देख्दा मुर्खजस्तो ठूलो मानिस मतको मातमा आफ्नै कुरा मात्र गर्दछ । यहाँनेर बुद्धवाणीबाट केही मनन गर्ने कोशिस गरौँ–
मुर्ख आफुलाई पनि जान्दैनन्, अरुलाई पनि मान्दैनन्
तर्क शङ्का उपहास गरी आफ्नो हात माथि पार्छ ।
मुर्खको मुर्खता देखेर, विद्वान् जब चुप लाग्दछ
तब मुर्खले आफूलाई सफल अनि महान् ठान्दछ ।।