डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई वर्षभरीमा कोरोना भाइरसविरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार (१८ मे) जानकारी दिएका छन् ।

विश्वभरी कोरोना भाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरससम्बन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिएका एपीले जनाएको छ ।

‘हामी कोरोना भाइरसको नियन्त्रण र उपचारसम्बन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौँ, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।

संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको हो । अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो ।

विश्वव्यापी महामारीका कारण डब्लुएचओलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै सो संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ ।