‘असफल सरकार’लाई नेतृ चौधरीको शुभकामना !

‘असफल सरकार’लाई नेतृ चौधरीको शुभकामना !


जनता समाजवादी पार्टी, नेपालकी नेतृ तथा सांसद चन्दा चौधरीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशङ्का रहेको बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे संसदमा जारी छलफलमा सहभागी हुँदै पूर्व सहायकमन्त्री समेत रहिसक्नुभएकी नेतृ चौधरीले सरकारले प्रस्तुत गरेको ६३ पृष्ठ लामो दस्तावेजले कोभिड–१९ का कारण आक्रान्त समाजलाई पटक्कै हौसला प्रदान गर्न नसकेको तर्क गर्नुभयो ।

अर्थतन्त्रलाई सुदृढ तुल्याउन आवश्यक पुँजी निर्माणको लागि चाहिने श्रोत व्यवस्थापनबारे केही नबोलेको, कोभिड महामारीपछि उल्लेख्य मात्रामा रेमिट्यान्स घट्ने निश्चित भइसकेको परिवेशमा अब हाम्रो अर्थतन्त्र के हुने भन्ने प्रश्न खडा भएको अवस्थामा पुरानै ढाँचाको नीति–कार्यक्रम फोटोकपीको रूपमा आएको भन्दै उहाँले खिन्नता प्रकट गर्नुभयो ।

स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो भन्ने यथार्थलाई सरकारले महसुस गर्न नसकेको भन्दै महामारीले जनताको समग्र स्वास्थ्य–जीवनमा पार्ने नकारात्मक प्रभावलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि नीति तथा कार्यक्रमले केही नबोलेको सांसद चौधरीको धारणा थियो । दुई महिनादेखि ठप्प अर्थतन्त्र अझ कति लम्बिने भन्ने अन्योल रहेको अवस्थामा मझौला तथा लघु उद्यमी, किसान, पर्यटन व्यवसायी आदिलाई कसरी आर्थिक सहुलियत दिने, बैंकको चर्को ब्याज, घरभाडालगायत दैनिक जीवनमा असर पार्ने उद्योग–व्यवसायलाई सम्बोधन गर्ने आर्थिक प्याकेज सरकारी दस्तावेजमा नभेटिएको नेतृ चौधरीको जिकिर थियो ।

यी सबका बाबजुद सरकारले यो वर्ष बढ्दो बेरोजगारी, कृषिमा परनिर्भरता, खाद्य असुरक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आइरहेको विषम परिस्थितिको आँकलन गर्दै गरिब तथा जनमुखी बजेट ल्याओस् भन्दै नेतृ एवम् सांसद चौधरीले सरकारलाई शुभकामना दिनुभयो ।