नक्कली एकतालगत्तै सक्कली झगडा !

नक्कली एकतालगत्तै सक्कली झगडा !


राष्ट्रिय जनता दल र सङ्घीय समाजवादी पार्टीबीच रातारात एकीकरण भएको महिना दिन नपुग्दै आन्तरिक विवाद चर्किएको छ।

गत वैशाख महिनाको पहिलो साता केपी ओली सरकारले एक अध्यादेश जारी गर्दै दल विभाजन हुन पार्टीको केन्द्रीय समिति या संसदीय समितिमध्ये कुनै एउटामा चालीस प्रतिशत सङ्ख्या पुर्‍याउनुपर्ने कानूनी ब्यवस्था गरेको थियो। उक्त अध्यादेश आफूहरूलाई लक्षित गरेर ल्याएको भन्दै मधेशकेन्द्रित दुई समूह मध्यरातमा ूएकताबद्ध ू भएका थिए । केवल आफ्नो पार्टीको एकता जोगाउन हतारमा एकता गरिएको भए पनि सङ्गठनको नेतृत्व कसरी चयन गर्ने भन्ने केही कुरा टुङ्गिएको थिएन। अहिले पार्टीको कार्यकारी प्रमुख को बन्ने भन्ने विषयलाई लिएर उक्त पार्टीमा चरम विवाद उत्पन्न भएको छ।

महन्थ ठाकुर र बाबुराम भट्टराईलाई सेरेमोनियल हैसियत दिएर आफू कार्यकारी प्रमुख बन्ने योजनामा उपेन्द्र यादव थिए भने राजेन्द्र महतोचाहिँ आफूले पनि कार्यकारी जिम्मेवारी पाउनेमा ढुक्क थिए । तर, अहिले महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो तीनैजनाले कार्यकारी जिम्मेवारी खोजेका छन् । यस क्रममा छलफल गर्न गत बिहीबार बोलाइएको संसदीय समितिको बैठकमा राजेन्द्र महतो उपस्थित भएनन् ।

पार्टीका अन्य नेताहरूले राजेन्द्रलाई बेवास्ता गर्दै अघि बढ्ने मानसिकता बनाएका छन् । महतो भने पार्टी एकीकरणपछि आफ्नो हैसियत खस्कने देखिएपछि घुर्क्याउने र ब्ल्याकमेलिङ गर्ने मानसिकतामा पुगेको बताइएको छ। राजपालाई समाजवादीमा बिलय गराउनु हुन्न, पहिले विस्तृत गृहकार्य गर्नुपर्ने हुन्छ भनी राजकिशोर यादव र अनिल झाहरूले भन्दा राजेन्द्र महतोले उनीहरूलाई केपी ओलीसँग मिलेको आरोप लगाएका थिए। अहिले महतो आफैले केपी ओलीसँग नजिकिने प्रयास गरिरहेको बुझिन आएको छ।

प्रचण्ड, माधव र एकीकृत मधेसकेन्द्रित पार्टी मिलेर सरकार बनाउने सपनाका साथ सुरु भएको खेल तत्कालका लागि सफल नहुने स्पष्ट भैसकेको छ। प्रचण्डको समेत विशेष आग्रह र योजनामा भएको यो एकता आगामी कति दिनसम्म टिक्न सक्ला भन्ने जिज्ञासा राजनीतिक वृत्तमा पैदा भएको छ।