प्राणीविहीन बन्ने तीव्रतामा पृथ्वी

(प्रलय प्रारम्भ–७/८)

■ देवप्रकाश त्रिपाठी



पृथ्वीको अवान्छित तापमानलाई नियन्त्रण गर्न सार्थक प्रयास भएको दशकौँ नाघिसकेको थियो । कम्तीमा आधा शताब्दीअघिदेखि नै मानिसले बढ्दो तापमानको बारेमा चिन्ता जाहेर गर्दै आएका थिए । विनास आफैंमा एउटा कुरुप सिर्जना हो भने यसले धर्तीमा आफ्नो सम्पूर्ण ‘सामर्थ्य’ दर्शाउन थालिसकेको थियो ।

वातावरणीय परिवर्तनको सबभन्दा सुक्ष्म रूप त्रासदीपूर्ण प्रतिक्रिया हरित संसारले दर्शाएको थियो । बाली नउम्रिने, उम्रिए पनि बढ्न नसक्ने, बढिहाले पनि बाली नलाग्ने र बाली लागे पनि अत्यन्त कम मात्र । पूलका बिरुवाहरूमा नियमित फूल नफुल्ने, फुले पनि पहिलेझैँ बोटमा लामो समयसम्म नबस्ने !

फलहरूमध्ये स्याउ फल्नै छोडेको, आँपका बोटमा लटरम्म फल लागे पनि नपाक्दै ओइलिएर झर्ने गरेको, केराको बोटमा केरा निस्कने तर कलिलैमा कुहिएर झर्ने, नासपातीमा फूल फुल्ने तर फल नलाग्ने, अङ्गुरका लहरा फल नलागिकनै सुक्ने, भुइँकटहर, कटहर, लिचीजस्ता फलका बोटमा फल लाग्ने तर नपाक्दै ओइलाएर झर्ने, काँक्राका बोटमा फूलसम्म पनि नफुल्ने, सुन्तलाका बिरुवाहरू बढ्दै नबढ्ने, दुई–तीन फिटसम्मको उचाईमा पुगेर वृद्धि रोकिने, फूल फुल्ने र फल पनि लाग्ने, सानो कागती आकारमा सुन्तला फल्ने तर स्वाद पनि कागतीकै जस्तो, निबुवा र कागतीका बोटहरू पहिलेभन्दा खिइएका, तिनमा फल लागे पनि ज्यादै कम । खरबुजो जस्ता फलहरू पहिलेको भन्दा बढि फल्ने तर नपाक्दै ओइलिने र कुहिने । मकैका बोटहरूमा घोगा लाग्ने तर दाना नलाग्ने, धानका बोटहरूमा बाला नै पैदा नहुने, भए पनि चामल नलाग्ने केवल भुस मात्र !

जङ्गलका ठूला–ठूला रूखका पातहरूमा हरियोपन घट्दो र पँहेलोपन बढ्दो थियो । वनस्पतिविद्हरूका अनुसार रूखका जरामा पानी सोस्न सक्ने क्षमता कम हुँदै गएको थियो । त्यसो त धर्तीको भित्री सतहमै पानीको मात्रा कम भएपछि रूखहरू जीवीत नरहने परिस्थिति सिर्जना हुनु स्वाभाविक थियो ।

समय–समयमा आँधी चल्दथ्यो, रूखहरू ढल्थे, मानिसका घरहरूमा समेत क्षति पुग्दथ्यो । आकाशमा बादल देखिँदैनथ्यो, धुलाका कणले आकाश ढाक्दा दिउँसो पनि उज्यालो देख्न पाइँदैनथ्यो । हिउँदमा हिउँ पर्दैनथ्यो, परे पनि तुरुन्त पग्लिएर जान्थ्यो । हिमालहरू पूरै नाङ्गिएका थिए, काला अस्थिपञ्जर जस्तो बनेको थियो हिमाली पहाड ।

पहाडहरूमा बस्ती रित्तिएका थिए– पानीको समस्याका कारण नदी, ताल र सागर किनारका वासिन्दाहरू पनि ब्याकुल बनेका थिए । पिउनयोग्य पानीको अभावमा सिङ्गो पृथ्वीग्रह एउटा सुख्खा पिण्डमा रुपान्तरित हुँदैछ कि भन्ने भान हुन्थ्यो । मानिसले पहिले स्थापना गरेका सांस्कृतिक परम्परा अब किताबका पानाहरूमा मात्र सीमित हुँदै गएका थिए । सन्तान जन्माउने चाहना मानिसहरूमा घट्दै गएको थियो । केही अति विपन्न र अशिक्षितहरूले मात्र बच्चा जन्माउने गरेका थिए । विवाहप्रति मानिसहरूको आकर्षण घटेको थियो । युवा–युवतीहरू क्षणिक मनोरञ्जन लिएर खुशी प्राप्त गर्न उत्सुक हुने गर्दथे ।

पृथ्वीमाथिको आकाश ठाउँ–ठाउँमा च्यातिएर सूर्यका विकृत किरणहरू पोखिएका कारण मानिसमा छालाको क्यान्सर, दृष्टिहरण र मस्तिष्कसम्बन्धी रोगको प्रकोप बढेको थियो । पृथ्वीको वातावरण असन्तुलित र अनपेक्षित थियो । कतिबेला तातो हावा बग्ने र कतिबेला कम्पन पैदा गराउने चिसोले अँठ्याउने हो त्यसको निश्चितता थिएन । केही कालअघि असमयमा आएको भीषण बाढीले लाखौँको ज्यान लिएको थियो भने कतिपय स्थानमा नामले गृष्म या वर्षा भनिने ऋतुहरूमा पानीको थोपै नचुहिएको पनि कैयन वर्ष भइसकेको थियो ।

कतै महाभूकम्पको निरन्तर धक्का, कतै सुनामी, अतिवृष्टि र अनावृष्टि, कहीँ भीषण आँधीबेहरी र कतै सुख्खा पहिरो, ज्वालामुखी विष्फोटन, नयाँ–नयाँ भयङ्कर डरलाग्दा रोगहरूको प्रादुर्भाव, खाद्यान्न सङ्कट, लाखौँको मृत्यु, शवदहनको समस्या, मानिस र अन्य जीवजन्तुका शवहरूको दुर्गन्धले बाँकी प्राणीहरूलाई पारेको प्रभाव ! संसारभरिका सञ्चारमाध्यमको समाचार सामग्री केही वर्षदेखि यिनै विषयहरूमा केन्द्रित थिए ।

मृत्युसँग युद्ध लड्न विज्ञानले गरेका अनेक प्रयासहरू पनि असफल हुँदै गइरहेका थिए । त्यसैले सिङ्गै पृथ्वी एउटा मृत्युपिण्डमा रुपान्तरित हुँदै गएको महसुस बाँचेकाहरूले गर्न थालेका थिए ।

हरेक मानिसभित्र जिजीविषा यसरी हाबी हुँदै थियो कि मृत्यूसँगको यो लडाइँमा पूर्वस्थापित सबै मूल्य र मान्यता विस्मृतिमा गएका थिए । राष्ट्र, राजनीति, सिद्धान्त र दर्शनजस्ता विषयहरू विध्वंश र विनासले हैरान मानिसहरूका लागि तुच्छ भएका थिए । केवल बाँच्नु उनीहरूको लागि एक मात्र उदेकलाग्दो अभीष्ट हुँदै थियो ।

विगत एक दशकदेखि प्रकृतिले हानेको विध्वंशकारी थप्पडले मानिस र उभयचरहरूको सङ्ख्यामा निकै ठूलो ह्रास ल्याइसकेको थियो । यस्तै स्थिति अर्को एक दशकसम्म रह्यो भने पृथ्वी प्राणीविहीन ग्रह बन्ने अनुमान वैज्ञानिकहरूले गरिरहेका बेला अस्वाभाविक किसिमबाट भइरहेको थप तापक्रम वृद्धिको कारण पत्ता लगाउन वैज्ञानिकहरूबाट निर्णायक प्रयास पनि भएको हो । तर, अस्वाभाविक तापक्रमकै कारण कतिपय वैज्ञानिक उपकरणहरूले समेत राम्ररी काम गर्न छाडे । त्यसैले प्रकृतिका सामु आत्मसमर्पण गर्नु वैज्ञानिकहरूका लागि पनि बाध्यता बन्दै गरेको थियो ।

०००

जमिनमुनिका प्राणीहरूले सतहमा निस्केर प्राण जोगाउन सक्ने स्थिति थिएन । तापको असर पृथ्वीको सतहमुनि जति थियो त्योभन्दा बढी बाहिर भएकोले कमिला मात्र होइन अलिक ठूला कीटपतङ्गले पनि आफूलाई बचाउन सकेनन् । वनजङ्ल र बाटोघाटोमा यत्रतत्र साना प्राणीको सुकेका शवहरू मात्र भेटिन्थे । जमिनमा नयाँ बिरूवा अङ्कुरण हुन छाडेका थिए । बडेमानका रूखहरू समेत अधिक तापका कारण लोलाउन थालेका र कमजोर जाति–प्रजातिका रुख–बिरूवाहरू टुप्पोबाट सुक्न लागेका थिए । पहाड, कन्दरा र गल्छेँडोहरूमा रहेका पानीका कुवाहरूको त अस्तित्व नै नामेट भइसकेको थियो, खोलानालाहरू पनि अत्यासलाग्दो किसिमबाट सुक्दै थिए ।

दिन–प्रतिदिन नदीनालाहरू खिएर कुलोको आकारमा देखिन थालेका थिए । नदीहरूबाट माछा र अन्य जलचर पनि लोप भइसकेका थिए । पानी देखिने ठाउँहरूमा मानिस र सबै बाँकी अन्य प्राणीहरू एकत्रित हुने क्रम सुरु भएको पनि वर्षौं बितिसकेको थियो ।

पृथ्वी द्रुत गतिमा ओसविहीन बन्दै गएको थियो । पृथ्वीमा वर्षा नभएको पाँच वर्ष बित्न लाग्दा सुख्खा र गर्मीका कारण थप करोडौँ मानिसले ज्यान गुमाइसकेका थिए । अधिक तापमानका कारण हवाइसेवा र आवागमनका अन्य सबै साधन पनि निकम्मा हुन पुगेकाले कोही कहीँ जाने स्थिति थिएन र जानुपर्ने कारणहरू पनि सीमित हुँदै गएका थिए । अत्यासलाग्दो मृत्युले सबैलाई आफ्नो बाहुपासमा लिँदै थियो । अक्सिजनमा आएको व्यापक ह्रासका कारण कसको प्राणपखेरू कतिबेला उड्ने हो कुनै निश्चितता थिएन । जीर्ण शरीर र उजाड–उजाड मन–मानसिकताका ब्याकुल मान्छेहरूबाट हाँसो पूर्णतः हराइसकेको थियो । मृत्युको निकटतालाई सहन नसकेर मानसिक सन्तुलन गुमाउनेहरूको सङ्ख्या पनि निकै बढ्दो थियो ।

पागलमध्येका मानिसहरू चाहिँ हाँस्थे पनि । हाँस्थे, तर मरूभूमिको आँधीजस्तो हाँसो, रस र सुवासविहीन । कोलाहलपूर्ण हाँसो । ईश्वर, खुदा, ईशु आदिको पुकारा गर्नु बाँकी मान्छेहरूको एक मात्र चर्या भएको थियो, तर मानवबस्तीको समूल नष्टीको यो क्षणमा भगवान् या ईश्वर पनि निरीह, एकदमै निरीह प्रतीत भइरहेका थिए । सबैको आस्था, विश्वास, भरोसा र समर्पणको केन्द्र बनेका ईश्वर नै निरीह बनेको त्यस्तो अवस्थामा मानिसको मनोदशा दर्दनाक रहनु अस्वाभाविक हुँदो रहेनछ । आफ्नो वैयक्तिक अस्तित्व नामेट हुने कुराले भन्दा पृथ्वी प्राणीविहीन बन्ने कहालीलाग्दो यथार्थले बाँकी मानिसलाई व्यग्र बनाउँदै थियो ।
(क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–

‘गल्ती गर्ने उनीहरू, सजाय भोग्ने हामी’

प्रतिक्रिया