लकडाउनको रणनीति परिवर्तन गर्न विज्ञहरुको सुझाव

लकडाउनको रणनीति परिवर्तन गर्न विज्ञहरुको सुझाव


आगामी सोमबार (जेठ ५) देखि तेस्रो चरणको लकडाउन समाप्त हुँदैछ । कोरोनाको महामारी चर्किंदै गएको कारण पुनः कम्तीमा दुई साताको लागि लकडाउन अवधि बढाउने सोच सरकारवाला निकायले बनाइरहेको बुझिएको छ । यसै क्रममा आज (जेठ २) बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ ।

समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुत्रका अनुसार स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि मोडालिटी परिवर्तन गर्ने निर्णय गरिएको हो ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको बताइन्छ ।

अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल भएको हो । छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् । यस्तै, वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् ।