लकडाउन अवधिभर गरिवलाई खाना खुवाउने मीनकृष्णको प्रतिबद्धता

लकडाउन अवधिभर गरिवलाई खाना खुवाउने मीनकृष्णको प्रतिबद्धता


राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष, करातेका अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल कराते डोजोका संरक्षक मीनकृष्ण महर्जनले कोरोना माहामारीबाट पीडित असाहय निमुखाहरूलाई बितेको डेढ महिनादेखि दैनिक रूपमा खाना खुवाएर राहत पुऱ्याउँदै आएका छन् । लगनखेल कराते डोजोमा महर्जनले पीडितलाई खानाको व्यवस्था गरी खाना खुवाउँदै आएका हुन् ।

ललितपुरको महालक्ष्मी मन्दिर बटुक भैरव मन्दिरको वरिपरि मागेर दैनिक गुजारा गर्ने र दैनिक ज्याला–मजदूरी गरी बाँचेका गरिवहरूलाई खाना खुवाइरहेको उनले जानकारी गराउँदै समाजसेवी महर्जनले कोरोनाको माहामारीका कारण मन्दिर र व्यापारिक केन्द्र बन्द भएपछि भोकभोकै परेकाहरुलाई खाना खुवाउन पाउँदा आत्मसन्तुष्टि मिलेको बताए ।

नेपाली काङ्ग्रेस ललितपुरका नेतासमेत रहेका महर्जनले विगत एक महिनादेखि उनीहरूलाई बिहान–बेलुकी दुइ छाक नै खाना खुवाउँदै आएकोमा अब नगरपालिका वडा–वडामा पनि खाना खुवाउन थालिएपछि आफूले बेलुकी मात्र खुवाउने जानकारी गराए । हप्ताको एकपटक मासुभात खुवाउने गरेको पनि उनले जानकारी गराएका छन् ।

समाजसेवी महर्जनले यो अभियान थालेको अहिले डेढ महिना भैसकेको छ । पहिलो दिन महालक्ष्मी मन्दिरमा परेवालाई चारा खुवाउन जाँदा मन्दिरवरिपरि मागेर गुजारा गर्नेहरूका छोराछोरीले अंकल हामीलाई खान छैन, हामीहरुलाई पनि चामल दिनुस् भनेर चामल नै खोसेपछि त्यसै दिनदेखि महर्जनले यो अभियान थालनी गरेका थिए । त्यसपछि उनले लगनखेल डोजोमा खानाको व्यवस्था गर्दै आएका हुन् ।

आरम्भमा आफ्नो व्यक्तिगत पहलमा खाना खुवाउन थालेका महर्जनलाई अहिले विभिन्न संघसंस्थाले खाद्यन्न सहयोग गरेका छन् ।

महर्जनको यो अभियानलाई सफल पार्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता विप्लप श्रेष्ठ, लगनखेल डोजो प्रमुख पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जन, हरिगोविन्द महर्जन, कोन्ज्योसोम गाउँपालिका वडा अध्यक्ष तीर्थ घलान, नेपाली कांग्रेस गोदावरी नगरपालिका सभापति सुरज श्रेष्ठ, नेविसंघ जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धव दहाल, सचिव दिपक घिमिरे, तरुण दल ललितपुर जिल्ला सहसचिव रामकृष्ण घिमिरे, जिल्ला सदस्य द्वारिका श्रेष्ठ लगायतले दैनिक खाना पकाएर खुवाउने कार्यमा सहयोग गर्दै आइरहेका छन् ।

ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा रहेका भोका, निमुखा र गरिवहरूलाई विगतमा पनि महर्जनले सहयोग गर्दै आएका हुन् । महर्जनको यो कार्यको अहिले ललतिपुर जिल्लाका अलावा अन्यत्रसमेत प्रशंसा भैरहेको छ । जिल्लाका संघसंस्थाहरुबाट सकारात्मक धारणा आएपछि यो अभियानलाई लकडाउन पूर्ण रुपमा नखुन्जेलसम्म निरन्तरता दिने मीनकृष्णले प्रतिबद्धता जनाएका छन् ।