आस्थालाई परीक्षणको कसीमा राखौँ

आस्थालाई परीक्षणको कसीमा राखौँ


■ दामोदर पौडेल

‘यो त मेरो आस्थाको विषय हो । यो मेरो धर्मले भनेको कुरा हो । त्यति धेरै प्रमाण र भविष्यवक्ताहरूको भनाइको आधारमा भएको परिणाम वा कुरालाई विरोध र विवाद गर्नु नैतिकता, धर्म र परम्पराको विरुद्ध हो । अरु सबै कुरा गर तर मेरो आस्थामा प्रश्न गर्ने वा आस्थालाई होच्याउने काम नगर ।’ हो, कसैको परम्परा र धर्म, आस्था र संस्कृतिलाई सबैले सम्मान गर्नु पर्दछ । कसैको विश्वासलाई राम्रो मान्ने र कसैको विचार र आस्थालाई राम्रो नमान्ने कार्य अस्वभाविक र समान ब्यवहारको विपरीत छ भन्ने गरिन्छ । यसमा केही भने पनि चिरफार आवश्यक छ ।

कोही भन्दछ मेरो विचार सर्वोच्च छ । मेरो विश्वास नै मेरो अधिकार भएजस्तै अरुको अधिकारको पनि सम्मान हुनु पर्दछ भन्ने पनि छ । मेरो आस्था वसुदैव कुटुम्वकम् । विश्वका सवब मानिसहरू मेरो दाजुभाइ दिदीबहिनी हुन् । मेरो आस्था छ कि मेरा विचारहरूमा प्रश्न गर्न पाइनु पर्दछ । मेरा विचारहरूलाई अझै खार्नको लागि मेरो आस्थामा सवालहरूको आवश्यकता हुन्छ । मेरो आस्थामा सवाल उठाइएन भने मेरो विचारमा खिया लाग्न सक्दछ । यो नै मेरो विश्वासको मुख्य आधार हो । यो राजनीति र धर्म तथा परम्परामा बारम्बार आउने गरेको हुन्छ । मेरो यो विचारलाई सम्मान गरियोस् ।

अर्को भन्दछ कि मेरो विचार सर्वोच्च हो । मेरो आस्थाको आधार सबैभन्दा उपयुक्त हो र यो विचारलाई तुलना र राम्रो नराम्रोको कसीमा राखिनुहुन्न । मेरो विचारलाई कसैले समालोचना गर्दछ वा ठिक हैन र यो कारणले विवेकसंगत छैन भन्दछ भने त्यो मेरो धर्म संस्कृति, राजनीति परम्परासमेत जेको विरोध गरेको हो त्यसलाई सजायको दायरामा ल्याइनु पर्दछ ।

दुवै फरक विचार भन्दछन् कि मेरो विचारको सम्मान हुनु पर्दछ । पहिलो विचारको सम्मान भएमा अर्को भन्दछ कि उसको विचारको सम्मान भयो मेरो विचारको भएन । तर पहिलो विचारको सम्मानमा दोश्रो विचारको सम्मान स्वतः समाहित हुन्छ भन्ने सम्झाउन कहिलेकाहीँ कठिन हुँदोरहेछ । बरु पहिलो विचारको वा आस्थाको सम्मान नगरे पनि हुँदो रहेछ, दोस्रोको त गर्नैपर्ने बाध्यता आउँछ । यसैलाई उदारताको कमजोरी बन्दोरहेछ । उदारता र राम्रो पक्षको पतन हुँदै लोप हुन सक्ने सम्भावना पनि यसै कारणले हुँदोरहेछ ।

दोस्रो पक्ष पहिलो पक्ष कमजोर हुँदै गएकोमा खुशी त हुँदोरहेछ तर त्यो अन्त्य हुँदा मानवताको महानता र सहिष्णुता नै अन्त्य हुने र मानवजातिका बहुुपक्षीय आयामहरू नै कमजोर हुँदै अन्त्य हुनेतर्फ ध्यान नै जाँदो रहेनछ ।

मैले बलीको नाममा धेरै जनावारहरू एकैचोटी मार्दा समुदाय नै दुर्गन्धित भएर, रोगसमेत लागेको र पर्यावरण नै नराम्रो भएको देखेको छु । तर विरोध हुँदा ‘मेरो आस्थामा चोट नपुऱ्याउ’ भनिन्छ । धर्मको नाममा पशुहरूलाई तड्पाइ–तड्पाइ मारेको पनि मैले देखेको छु । किन त्यसो भयो भन्ने हो भने यो मेरो आस्था हो भन्ने गरिन्छ । पुरुषको एउटा करङबाट महिला बनेकोले पुरुष महिलाभन्दा श्रेष्ठ भन्नेहरू पनि छन् । यो हैन भन्दा ‘यो मेरो आस्थाको विषय हो, तपाईंलाई बोल्ने छुट छैन’ भनिन्छ । यस्ता कार्य र ब्यवहारहरू आस्थाका नाममा धेरै धर्ममा धेरै हुने गरेका छन् । राजनीतिमा पनि त भएका छन् । कम्पुचियामा आफ्नो राजनीतिको विरोध गर्नेलाई त मारियो, सँगसँगै उनको तीन महिनाको बच्चालाई पनि यसले पछि हाम्री आमालाई यिनले मारेका हुन् भनेर बदला लिन्छ भन्दै टाउको ढुङ्गामा थेचारेर मारियो । राजनीति र धर्मको आस्थाका यस्ता दःुख लाग्ने सूची अनगिन्ती नै छन् ।

के आस्था त्यस्तो विषय हो जसलाई कहिल्यै पनि विरोध गर्न पाइँदैन ? के त्यसलाई सत्यता र विवेक तथा मानवीयताको वा अमानवीयताको कसीमा राख्नै पाइँदैन ? के आस्था जस्तो भए पनि मान्नैपर्ने र अरुले त्यो नराम्रो हो भन्नै नपाउने हो ? राजनीतिमा मानिस नै मारे पनि वैचारिक कुरा हो भनेपछि सबै सम्मानलायक हुने हो ? के यसमा ‘वा’ ‘तर’ भन्ने पनि हुँदैन ?

महिला र पुरुषका अधिकार समान छन् भन्दा पनि आस्थाको कारणले हैन भन्न मिल्ला ? धर्ममा छैन तर त्यो कुनै समयबाट शुरु भएको परम्परा हो भने पनि सतीप्रथालाई मेरो परम्परा हो भनेर कसैले पैरवी गर्नु राम्रो होइन । सबै पक्षमा आफ्ना आस्था र विचार, धर्म र परम्परा, संस्कृति र विश्वासहरूलाई विवेक र विज्ञान, वर्तमान र आवश्यकतासँग तुलना गर्न पाउनु पर्दछ । गलत र सही भन्ने धारणा राख्न पाउनु पर्दछ । त्यसलाई समयसापेक्ष बनाउन सक्नु पनि पर्दछ । कुनै पनि विचारको प्रतिरक्षा बलले हैन विचारबाट नै हुनु पर्दछ । त्यसको अधिकार र समुचित वातावरण पनि दिइनु पर्दछ । समुचित अवसर भनेको कुनै विचारलाई नियन्त्रण गर्ने र कसैले गर्ने विचारलाई विचरण गरिरहन पाउने अधिकार हैन । बरु वैचारिक अधारमा र विवेकको आधारमा सर्वोत्तम भन्ने स्थापित हुने अधिकारको र बाटोको सुरक्षा हो । तर कसैले कसैलाई निषेध गर्ने र रोक्ने भने होइन । विवेक र तर्क, ब्यवहार र परिवेसवाट परिपक्व भएको विचार र धर्म मात्र जीवन्त हो र त्यो नै जीवन हो ।

समयसापेक्ष सुधार नभएको भए हामी अहिले पनि अरुलाई नछुने नाममा उपचारबाट वन्चित भएर मर्थ्यौँ होला । महिला र गरिवहरूलाई दास बनाउने र मतबाट पनि वन्चित गर्ने अवस्था कायम रहने थियो होला ।

संसार तपाईंको हो र संसारका सबै विचारहरू तपाईंका हुन् । सबै मानवको उत्पत्ति एकै ठाउँमा भएको हो र एउटै परिवेशको कारणले भएको हो । पछि छरिएर अलग भएकोले संस्कार, संस्कृति, परम्परा, धर्महरू फरक भएका हुन् । धर्म पनि समाजको विकास सुरुबाटै भएको भए एउटै हुने थियो र भाषा त एउटै हुने थियो नै । अहिले पनि आमा, सूर्य जस्ता केही शब्दहरू संसारका सबै भाषामा करिब मिल्दा छन् । अर्थात् बढि बोलिने शब्दहरू एक किसिमका हुनाले हामी एक हौँ र परिवेश, हावापानी, उचाइ, टाढा हुँदै गएकाले मात्र फरक देखिएका हौँ भन्ने मात्र सोचे पनि यो मात्र मेरो हो भन्ने भावनाको अन्त्य हुने थियो । दुनियाँको सबै राम्रो जति मेरो र नराम्रो जति कसैको पनि हैन, राम्रा विचार पनि कहिलेकाहीँ फरक परिवेशका छन् भने ती विचार हाम्रा भन्ने भावनाको विकाश भएमा मात्र मानवको कल्याण छ । त्यस्ता विचारलाई मात्र असल मानिसले स्थान दिनु पर्दछ । ‘मन त पर्दैन तर के गर्ने, मेरो विचारले यसै भन्दछ’ भन्ने हो भने कुनै दिनमा भेडाजसरी नै मुली वा अगाडिको भेडा नदीमा पसेमा सबै पसेर मर्ने हुन सक्दछ ।

विवेक र सत्यता मर्नु पनि मृत्यु नै हो । इतिहास, विवेक, मानवता र सत्य नै मरे हामीमा पशुत्वको प्रधानता हुन्छ । हामी बाँचे पनि हाम्रोको मानवता मर्दछ । हामी पछाडी पुग्दछौँ । जाडो ठाउँमा न्यानो कपडा लगाउने परम्पारा भएकोले मेरो परम्परा न्यानो कपडा लगाउने हो भनेर लगाइरह्यो भने उ गर्मी ठाउँमा मर्छ र गर्मी ठाउँको मानिसले जाडोमा म कुर्था लगाएर बस्छु मेरो संस्कृति र पहिरनको गौरव भन्दछ भने पनि उ मर्दछ । पृथ्वी मेरो हो र पृथ्वीका सबै विचार र विश्वासहरू मेरा हुन्, ती समय र परिवेशअनुसार छान्नु मेरो महानता मात्र हैन कर्तब्य हो । यो विवेक र मानवता पनि हो भन्ने भावनाको विकास भएन भने विज्ञान वरदान हैन अभिसाप हुन सक्दछ । किनभने, हामी हाम्रा ज्ञानलाई अरुको विरुद्धमा प्रयोग गर्दछौँ सबैको हितमा हैन ।

इरफान खानलाई भनिएछ उनी खानको घरमा जन्मेका बाहुन भए । उनले पनि राम्रै जवाफ दिएका छन् । उनको भनाइ छ– विश्वास एउटा घरको धेरै कोठामध्ये एउटा हो, म उपरवालालाई सबै धर्म सम्प्रदायको माध्यमबाट जान्न प्रयास गर्दछु, शंका गर्नु विश्वासलाई अझ बलियो बनाउनु हो, म मेरो विश्वासलाई शंका गर्न चाहान्छु । उनी त्यही कारणले मुसल्मान धर्मालम्वीबीच विवादित पनि भएका थिए ।

वास्तवमा विचार र विश्वासलाई एउटा घरको धेरै कोठामध्ये एक हो र कोठाहरूको तुलना गरिनु पर्दछ, परिवेश अनुसारको उपयुक्तता सम्झन सक्नु पर्दछ । सबै विश्वासहरू एउटा घरका कोठा जस्तै हुन् र दाजुभाइ जस्ता हुन् । तर त्यस्तो नसोच्नेहरूले त्यस्तो सोच्नेहरूलाई कमजोर सोच्ने अवस्था रहेसम्म उदारता कमजोरी हुन सक्दछ भनेर सजग भने हुनै पर्दछ । राजनीति पनि यो परिवेशबाट फरक छैन ।