नेपालमा नर्सिङ पेशाको वर्तमान अवस्था

नेपालमा नर्सिङ पेशाको वर्तमान अवस्था


■ सावित्रा दहाल भट्टराई

मे १२, अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । कोरोना-महामारीकै बीच यस वर्ष पनि विश्वभरीNurses: A Voice to Lead, Nursing the World to Health’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।

विश्व इतिहासलाई हेर्ने हो भने सन् १८४० मा बेलायतमा भयङ्कर अनिकाल पऱ्यो । त्यहाँ रोग, भोक, कुपोषणले आक्रान्त मानवहरूको अवस्था देखेर फ्लोरेन्स नाइटेङ्गलको कोमल हृदय आहत भयो । उनी परिचारिकाको ज्ञान हासिल गरेर दीन-दुःखी, शोषित, पीडित, दमित, रोगीहरूको सेवा गर्न चाहन्थिन् तर  उनताका धनी र अभिजात्य परिवारका नारीहरूले परिचारिकाको सेवा गर्दैनथे । नर्सिङ पेसालाई बडो घृणा र हेयका दृष्टिले हेरिन्थ्यो । यस्तो अवस्थामा फ्लोरेन्स नाइटेङ्गललाई नर्सिङ पढ्ने अनुमति परिवारले दिएन  तर फ्लोरेन्स नाइटेङ्गलले नर्सिङ कोर्षका किताबहरू किनेर कोठामा राती अबेरसम्म पढ्ने गरेको देखेर फ्लोरेन्सका मातापिताले उनलाई नर्सिङ कोर्ष पढ्ने अनुमति दिए । उनीले पछि उनले आफ्नै नर्सिङ तालिम केन्द्रको स्थापना गरिन् ।

सन् १८५४ देखि १८५६ सम्म रुस र टर्कीमाझ क्रिमियाको युद्ध भयो । त्यसबेला फ्लोरेन्स नाइटेङ्गल आफ्ना ३८ अन्य सहयोगी नर्सहरू लिएर घाइते सैनिकहरूको सेवा गर्न टर्की पुगिन् । त्यहाँ युद्धमा घाइते र अपाङ्ग भएका सैनिकहरूको सेवा गर्न प्रारम्भ गरिन् । अपाङ्ग र घाइते सैनिकहरूको चित्कार, आर्तनादको स्वरमाझ चौबिसै घण्टा नसुतेरै पनि हातमा बत्ती लिएर प्रत्येक घाइते सैनिकको सेवा गर्न उनी पुग्न थालिन् । युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएकी उनीलाई सैनिकहरूले उच्च सम्मानका साथ ‘लेडी विथ ए ल्याम्प’ भनेका हुन् ।

त्यतिबेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भने अस्पतालमा सरसफाईका कुराहरूमा उत्ति ध्यान दिइँदैन थियो । स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए । फ्लोरेन्सले अस्पताललाई सफा राख्न र विरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रुपमा आधुंनिक नर्सिङ पेशाको सुरुवात गरिन् ।

आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने उनको जन्म सन् १८२० मे १२ का दिन इटालीको फ्लोरेन्स भन्ने शहरको थियो । चिकित्सा क्षेत्रमा नयाँ उचाई थप्ने उनै महान् व्यक्तित्व फ्लोरेन्स नाइटेङ्गलको योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ अर्थात उनको जन्म दिनको अवसर पारेर अन्तराष्ट्रिय नर्सिङ दिवस मनाउने भनी विश्व स्वास्थ्य संगठनले १९७४ जनवरीमा घोषण गऱ्यो, त्यसपश्चात विश्वभरी अन्तराष्ट्रिय नर्स दिवस मनाउदै आएको छ । यो वर्ष प्लोरेनको २००औं जन्म दिन भएकोले कारण यस वर्षको नर्सिङ दिवस विशेष प्रकारको हुने विश्व स्वास्थ्य संगठनको भनाई रहेको छ । यसैगरी अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलले यस वर्ष वर्षेैभरी विविध कार्यक्रम गरी यस दिवसलाई महत्वपूर्ण बनाउने योजना बनाएको छ ।

नेपालमा भने यस दिवसको सुरुवात नेपाल नर्सिङ परिषद् वि.सं. २०५३ साल (सन् १९९६) मा स्थापना भएपश्चात प्रत्येक वर्ष मे १२ का दिन यो दिवस मनाउने गरिएको छ ।

नेपालमा नर्सिङ शिक्षाको संक्षिप्त इतिहास

नेपालमा नर्सिङ शिक्षाको इतिहासलाई हेर्दा वि.सं. १९८५ मा विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेरका पालामा प्रसूति सेवासम्बन्धी डेढवर्षे तालिमका लागि भारत पठाइएको थियो । जुन नेपालमा नर्सिङ शिक्षाको इतिहासको सुरुवात हो । यसभन्दा अगाडि नेपालमा विदेशबाट नर्स ल्याई राजपरिवार तथा विशिष्ट घरानाहरूको सेवामा लगाइन्थ्यो । वि.सं. २००९ मा उमादेवी दास तथा रुक्मणि चरण श्रेष्ठलाई भारतमा चार वर्षे नर्सिङ तालिमका लागि पठाइयो र उनीहरू फर्किएपछि नेपालमा २०१३ सालमा पहिलो पटक नर्सिङ स्कुल खोलियो । नेपालमा नयाँ शिक्षा योजना लागू हुँदा वि.सं. २०२९ मा सबै नर्सिङ कलेजहरूलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत गाभियो । त्रि.वि. अन्तर्गत २०३३ सालमा पहिलोपटक स्नातक तह तथा २०५२ सालमा स्नातकोत्तर (एम.एस्सी. नर्सिङ) तहको पढाइ सुरु भयो ।

हाल नेपालमा नर्सिङ शिक्षा त्रिभुवन विश्वविद्यालय, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय तथा सी.टी.ई.भी.टी. बाट प्रदान गर्दै आएको छ । हाल नेपालमा नर्सिङ क्षेत्रमा अ.न.मी., स्टाफ नर्स (प्रमाण पत्र तह), स्नातक (बी.एन. तथा बी.एस्सी. नर्सिङ) र वि.सं.२०६९ देखि नर्सिङ क्याम्पस महाराजगंजमा विद्यावरिधि (पी.एच.डी.) को पढाइ संचालनमा छ ।

वर्तमान अवस्था

आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, शहर शहरमा नर्सिङ कलेजहरू खुलेका छन् । विदेश जान सहज हुने भएकाले नर्सिङ शिक्षा प्रतिको आकर्षण वढ्दै गईरहेको छ । नर्सिङ को अचम्मको कुरा के छ भनेँ यो ब्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस ब्यवसायमा उत्ति आकर्षित नभएको पाईन्छ । शायद माया, स्नेह अनि ममतामयी यो पेशामा महिलाको मधुर उपस्थितिनै अत्यूक्तम लागेको हुनसक्छ ।

नेपाल नर्सिङ काउन्सिलमा दर्ताका हिसाबले नेपालमा हाल (२०७७ वैशाख २८ सम्म) ६० हजार ७९५ जना नर्स, अनमी ३३ हजार ७२४ जना र विदेशी नर्स ८४४ जना गरी जम्मा ९५ हजार ३६३ नर्सिङ जनशक्ति रहेको छ । काउन्सिलमा दर्ता भएका मध्ये करिब ५ हजार नर्सको मृत्यु भइसकेको र १५ हजारको हाराहारीमा रोजगारी तथा अध्ययनका लागि विदेश गएको काउन्सिलको तथ्यांक छ । काउन्सिलमा दर्ता नभई पढाइका लागि विदेश जाने वा नर्सिङ सेवाभन्दा अन्य कामका लागि जाने नर्सको संख्या पनि ठूलो छ, जसको कुनै तथ्यांक छैन । समग्रमा अध्ययन र रोजगारीका लागि ३० हजारको हाराहारीमा नर्स विदेशमा रहेको अनुमान काउन्सिलको छ । तर, यकिन तथ्यांक भने उपलब्ध छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा रहेका ११ वटा अञ्चल अस्पताल, ६ वटा क्षेत्रीय अस्पताल, ५ वटा शिक्षण अस्पताल, १६ वटा रोग विशेष अस्पताल, ११ वटा केन्द्रीय अस्पताल, ५८ वटा जिल्ला अस्पताल र १३ वटा १५ सैयाका अस्पताल गरी मुलुकभर सञ्चालित जम्मा १२० वटा अस्पतालमा हाल करिव १० हजार नर्स कार्यरत छन् । निजी क्षेत्रमा कार्यरत नर्सको कुनै तथ्यांक छैन । नेपालमा रहेका नर्समध्ये २० हजार रोजगार र झन्डै ४० हजार बेरोजगार रहेको काउन्सिलको अनुमान छ ।

नर्स विरामी अनुपात अनुसार स्कूल कलेजहरूमा राख्ने हो भने नेपालमा हाल ७५ हजार भन्दा बढी नर्सको तत्काल आवश्यकता छ तर सरकारले यस तर्फ उदासिनता देखाउदा नेपालमा उत्पादित नर्सहरू अधिंकाश वेरोजगार छन् र रोजगार भएकाहरू पनि अनि न्यून पारिश्रमिकमा काम गर्न वाध्य छन् ।

विश्व स्वास्थ्य संगठनले जनरल वार्डमा १ नर्स ४ देखि ६ विरामी, सुत्केरी वार्डमा २ नर्स र १ वेड, ICU/CCU मा १ नर्स १ विरामी, पोष्ट अपरेटीप थिएटरमा १ नर्स १ विरामी, अपरेशन थिएटरमा १ टेबल ३ नर्स हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ । नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनको यही मापदण्डमा हस्ताक्षर गरेको छ र ‘स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका’ मा पनि स्पष्ट रूपमा बिरामीको अवस्थाअनुसार नर्स–बिरामी अनुपात तोकिएको छ, जसमा जनरल वार्डमा ५ देखि ६ बिरामीबराबर एक नर्स हुनुपर्ने प्रावधान छ । त्यसैगरी, हाइडिपेन्टिक वार्डमा २ बिरामीबराबर एक नर्स र क्रिटिकल केयरमा एक बिरामी बराबर एक नर्स हुनुपर्छ । त्यस्तै, डेलिभरी गराउने ठाउँमा एक बिरामी बराबर २ जना नर्स र अप्रेसन थिएटरमा एक बिरामी बराबर ३ जना नर्स हुनुपर्ने मापदण्ड निधार्रण गरेको छ ।

तर विडम्बना, नेपालका ठूला सरकारी अस्पतालमै यो मापदण्ड अनुसार नर्सिङ जनशक्ति उपलब्ध छैन । सरकारी स्तरबाट सञ्चालित प्रमुख अस्पताल मध्यको विर अस्पताल हाल ३८० वेडको सञ्चालन भएपनि नर्स तथा अनमीको दरवन्दी संख्या १५५ मात्ररहेको छ भने ३६५ वेडमा सञ्चालित कान्ति बाल अस्पताल नर्सिङ स्टाफको दरवन्दी १८४ मात्र छ । सरकारी अस्पतालहरूमा एक नर्सले ५० जनासम्म बिरामीको हेरचाहको जिम्मा लिनुपर्ने अवस्थाबाट नेपालको स्वास्थ्य क्षेत्र गुज्रिरहेको छ । यसले गर्दा नर्समा घेरै कामको बोझ पर्न गइरहेको छ । ‘एक नर्सले ५० जनाभन्दा बढी बिरामी हेर्नुपर्दा कसरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ?’ आज हामीले विश्व नर्सिङ दिवस मनाईरहदा यी विषयमा गम्भिर भएर बहस गर्नु जरुरी छ ।

नर्सिङ पेशाका समस्या र चुनौतीहरू

बिरामी भएर अस्पताल पुगेपछि सबैभन्दा नजिकको सहारा सेतो कोट लगाएका नर्स नै हुन्छन् । नर्स जस्तोसुकै कठिनाइ आइपरे पनि चौबिसै घण्टा बिरामीको सेवामा समर्पित हुन्छन् । बिरामीको सेवा नै नर्सको कर्म र धर्म पनि हो । उपचार अवधिभर उनीहरूले हरेक पल बिरामीको हेरविचार गरिरहेका हुन्छन् । नर्सको व्यवहारले पनि धेरै हदसम्म बिरामीले छिटो स्वास्थ्यलाभ गर्छन् । तर, नेपालमा नर्सले कामअनुसारको सुविधा र सम्मान पाइरहेको अवस्था छैन ।

खासगरी निजी अस्पतालले अहिले पनि नर्सलाई थोरै पारिश्रमिक दिएर धेरै काम लगाइरहेका छन् । गत वर्ष चितवन मेडिकल कलेज लगायत स्वास्थ्यसंस्थाले नर्सलाई मासिक ५ हजार दिएर काम गरारहेको खुलासा भएको थियो । नर्समाथिको श्रमशोषण विरुद्ध जनस्तरमा आवाज उठ्न थालेपछि न्यूनतम पारिश्रमिक तोकिएको थियो । तर, अहिले पनि हजारौँ नर्स तोकिए भन्दा निकै कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । उनीहरू ‘भएको जागिर पनि जाने डरमा शोषणको विषयमा बोल्न चाहँदैनन् । भोलेन्टियरका नाममा श्रमशोषण खेपिरहेका नर्सको कहानी उत्तिकै पीडादायक छन् । लामो समयसम्म एउटै पदमा कार्यरत रहदा उचित समयमा बढुवा हुनुपनि नर्सिङ पेशाको अर्को समस्या हो ।

पेशागत समस्या परेका नर्सहरूलाई कानुनी सहायता प्रदान गर्न नसक्नु पनि अर्को समस्या हो यस्तै गरी कार्यस्थलमा हुने हिंसा नर्सिङ पेशाको प्रमुख बन्दै गइरहेको छ । ‘प्रशासन र विरामीको दोहोरो चपेटामा परी ‘बर्गर’ जस्तै बन्नु परेको छ’– उनीहरूको गुनासो छ । कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यताले घरेलु हिंसा पनि खेप्नु परेको उनीहरू बताउँछन् । ‘एकातिर विरामीको चाप अर्कोतिर प्रशासनको दबाब र घरमा कम पारिश्रमिक ल्याउदा खेप्नु पर्ने हिंसा, यो दोहोरो तेहेरो दबाबले यो पेशाले त मानसिक रोगी पो बनाउने भयो’- उनीहरूको दुखेसो छ । अधिकार दिलाउन खोलिएका पेशागत संगठनको आन्तरिक द्वन्द्वका कारण उनीहरूले अपेक्षा गरेको सेवा र अधिकार प्राप्तिको पहल पनि प्रभावकारी र उचित हुन सकेको छैन । एकातिर अत्यावश्यक काममा पनि कहिलेकाहीँ विदा माग्दा प्रशासनले विदा दिँदैन भने अर्कोतिर सिनियरहरूको हेपाई खेप्नुपर्छ- अधिकांश नर्सहरू गुनासो रहेको छ ।

यस्तैगरी जनसंख्या र बिरामीको चाप कैयौँ गुणा बढिसक्दा पनि नर्सिङ जनशक्ति भने पुरानै कायम रहँदा एकातर्फ स्वास्थ्यसेवाको गुणस्तरमा प्रत्यक्ष असर पुगेको छ । अर्कोतर्फ सेवारत नर्समा कामको बोझ अत्यधिक थपिएको छ । बिरामी तथा स्वास्थ्य समस्या थपिएसँगै सीमित संख्यामै भए पनि स्वास्थ्यसंस्थामा बेड थपिन्छन्, यन्त्र उपकरण थपिन्छन्, सेवाविस्तार हुन्छ, तर नर्सिङ जनशक्ति भने थपिँदैन । सरकारको यस्तो अमिल्दो व्यवहारले नर्सलाई मापदण्डको कैयौँ गुणा बढी बिरामीको रेखदेखमा खटिनुपर्दा यसले नर्सलाई मात्र नभई स्वास्थ्य सेवाको गुणस्तरमै असर पुऱ्याइरहेको सरोकारवालाहरूको भनाई रहेको छ ।

नर्सिङ सेवाको प्रभावकारिता

बिरामीलाई स्वास्थ्य बनाउन नर्सहरूको ठूलो भूमिका रहेको छ । नर्सहरूले स्वास्थ्य सेवाका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका छन् । नेपाल लगायत विश्वभरि नर्सहरूको व्यापक माग छ । थप सुखद लक्षण के छ भने नर्सको तालिम लिएकी कन्याहरूको माग विवाह निम्ति पनि व्यापक छ । नर्सको तालिम लिएकी महिलाहरूले बेरोजगार भएर बस्नु पर्ने अवस्था छैन ।

सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरू वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पताल, स्वास्थ्य सुधार अनि ममतामयी सेवाको याद आँउछ, तर कतिपय अवस्थामा यो पेशामा कार्यरतका केही नर्सका कारण विरामीहरूले दुःख पाईरहेको गुनासोहरू सुनिएका छन् । विरामीले सोधेको प्रश्नहरूको सही तरिकाले उत्तर नदिनु, उनीहरूको बुझाई क्षमतालाई ध्यानै नदिई प्रविधिक शब्दावलीको प्रयोग गर्नु, विरामीमैत्री व्यवहार नहुनुले यो पेशा प्रति प्रश्न उठ्ने गरेका छन् । यसतर्फ पनि सम्बन्धित सरोकारवालाको ध्यान जानु जरुरी छ । बिरामीको सेवा अनि उपचारमा फ्लोरेन्सका पथहरूलाई हामीले कत्तिको आत्मसाथ गर्न सकेका छौँ ? विचार गर्न जरुरी छ ।

सुधार गर्नुपर्ने पक्षहरू

नेपालमा हाल सरकारी मापदण्डको पालना नहुँदा नर्सको ठूलो समूहले श्रमको चरम शोषण झेलिरहेकाले प्रभावकारी नियमन गर्नु आवश्यक रहेको छ । नर्सिङ सेवाको दायरा फराकिलो बनाउन सरकारी सरह निजी स्वास्थ्य संस्थाहरूमा तालिमको व्यवस्था गरी गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्नुपर्ने देखिन्छ । विशेषज्ञ नर्सलाई विशेषज्ञताको आधारमा पद सृजना गरी पदस्थापना गरिनुपर्ने र नर्स कार्यस्थलमा हुने हिंसाबाट बचाउनको लागि विशेष कानुन तर्जुमा गर्न सम्बन्धित निकायमा पहल गनुपर्ने आवश्यक देखिन्छ । निजी तथा सरकारी सेवामा कार्यरत नर्सिङ जनशक्क्तिलाई पदोन्नतिको उचित व्यवस्था गर्नुपर्ने र तहगत नर्सहरूको कार्य विवरण बनाउनु पर्ने देखिन्छ । बिरामी र वेड अनुपातमा नर्सिङ जनशक्तिको व्यवस्था गर्नुपर्ने र कार्यस्थलमा नर्समैत्री कार्य वातावरण सृजना गरिनुपर्ने आवश्यकता देखिन्छ ।

उपसंहार

अन्त्यमा, आज विश्वभर ४७औं अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइरहँदा नेपालमा भने अत्याधिक मात्रामा उत्पादन भएको नर्सिङ जनशक्तिको उचित खपत गर्ने तर्फ सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । अर्कोतर्फ निजी अस्पताल र क्लिनिकमा काम गर्ने नर्सहरूलाई न्यूनतम पारिश्रमिकको मापदण्डको आधारमा सेवा सुविधा उपलब्ध गराउन रोजगार प्रदायक संस्थासँग विशेष पहल गर्नुपर्ने आवश्यता देखिन्छ । अरु पेशा भन्दा नर्सिङ पेशामा नर्स बढी पीडित छन् ।

वर्तमानमा भने विश्वभर फैलिएको कोरोनाका भाइरसका कारण उपचारमा संलग्न स्वास्थ्यकर्मी उच्च जोखिममा रहेकोले नेपाल नर्सिङ संघले नर्सहरूको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा कवचका साथै संक्रमण नियन्त्रणका लागि आवश्यक सुविधा माग गरेको छ । संघले उपचारमा संलग्न नर्सको व्यक्तिगत सुरक्षाका लागि चाहिने स्वास्थ्य साम्रगी उपलब्ध गराउन अस्पताल तथा सरकारसाँग माग गरेको हो। महामारीको जोखिमपूर्ण अवस्थामा काम गरेका नर्सलाई सुरक्षित रही सेवा प्रदान गर्न र उनीहरूको उच्च मनोवल बढाउन आर्थिक, भौतिक पेशागत सुरक्षा को ग्यारेन्टीको व्यवस्था गर्नु आजको प्रमुख आवश्यकता हो ।

स्वास्थ्यकर्मीको सुरक्षासँगै आमजनताको पनि स्वास्थ्य जोडिएको छ । उनीहरू सुरक्षित भएमा बिरामीको राम्रो सेवाको कल्पना गर्न सकिन्छ । त्यसैले यो विषम परिस्थितिमा अन्य क्षेत्रको बजेट कटाएरै भए पनि स्वास्थ्यकर्मीहरूलाई विशेष सुविधा दिएर उनीहरूको मनोबल उच्च बनाऔँ । अन्तराष्ट्रिय नर्सिङ दिवसको शुभकामना ।

[email protected]

(लेखक पोषण पुनर्स्थापना गृह, मेची अञ्चल अस्पताल भद्रपुर झापाका पूर्व व्यवस्थापक हुनुहुन्छ ।)

सल्लाह तथा सुझावका लागि ९८५२६७७१२०