फुटबलर थापाद्वारा विदेशी खेलाडीलाई राहत

फुटबलर थापाद्वारा विदेशी खेलाडीलाई राहत


पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् ।

वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले काठमाडौंको नयाँबजारमा रहेका विदेशी खेलाडीलाई खाद्यान्न सहयोग गरेका हुन् ।

नेपालमा बसेर विभिन्न क्लबबाट सहिद स्मारक ए डिभिजन लिगलगायत विभिन्न प्रतियोगिता खेल्दै आएका करिब १० जना विदेशी खेलाडीलाई थापाले खाद्यान्न सहयोग गरेका हुन् ।

उनले चामल, दाल, नुन, तेल, बिस्कुटसँगै विभिन्न तरकारी सहयोग गरेका थिए । थापाले नेपालमा बसेर फुटबल खेलिरहेका अन्य विदेशी खेलाडीलाई पनि रुपमा सहयोग गरिरहने जानकारी दिए ।

कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण समस्यामा परेका खेलाडीलाई सहयोग गरेकोमा विदेशी खेलाडी एरिक बोल्वेले थापालाई धन्यवाद दिएका छन् ।