शत्रु पनि साथमा रहन्छ, कहिले दुःखी त कहिले खुशी भएर !

शत्रु पनि साथमा रहन्छ, कहिले दुःखी त कहिले खुशी भएर !


■ दामोदर पौडेल

विशेष गरेर धर्मको कट्टरता र राजनीतिको उग्रताले मानिसलाई कहिलेकाहीँ मानवताभन्दा तल लगेको हुन्छ । त्यतिबेला पीडाका पहाडहरू असहमतहरू माथि थोपिन्छन् । तैपनि पीडा जसलाई दिइएको छ, उनै पीडकसँग साथमा देखिन्छ । पीडक पनि पीडितको पीडासँगै रोएको हुन्छ । पीडितलाई पनि पीडकप्रति नै अरुप्रतिभन्दा बढि विश्वास हुन्छ । कहिलेकाहीँ यस्तो विडम्बना देखिन्छ ।

एउटा सायरीको भावार्थ थियो– ‘मेरो घर जलाएर उ, मसँगै रोइरहेको छ । मेरो शरीरमा घाउ बनाएर उ, मेरै रगतले मेरो घाउ धोइरहेछ ।’ त्यो सायरी मन परेन, तर साह्रै मन नपरेकोले होला याद त रहिरह्यो ।

समय–समयमा विश्वमा विभिन्न नाममा आन्दोलन र हिंसा हुन्छन् । ती हिंसा र आन्दोलनमा आन्दोलनकारीहरूको पक्षमा रहन नसक्ने वा विरोधमा रहनेहरूले वा आन्दोलनमा रहनेहरूलाई सहयोग नगर्नेहरूले धेरै नै बदला चुकाउनुपरेको हुन्छ । कहिले घरमा आगो लाग्दछ । बम पड्कन सक्दछ । चोरी र लुटपाट पनि हुन्छ । पति वा पत्नी वा दुवै मारिन्छन् । साना लालाबालाको बिजोक हुन्छ । बच्चाहरू पहिला राम्रो गुजारा गरेकामा बाबुआमा नहुनुका साथै सम्पत्ति पनि तहसनहस भएपछि भीख माग्ने हुन्छन् । कतिपय अवस्थामा भोकले र बिरामीले उनीहरू मर्दछन् । वृद्ध बाबुआमा पनि बेसाहारा हुन्छन् । कमाउने उमेरका छोरा–बुहारी मरेपछि वा अपाङ्ग बनाइएपछि राम्रो परिवार माग्नेमा परिणत हुन्छ । तहसनहस हुन्छ ।

त्यसको ज्वलन्त उदाहरण अफगानी मूलका लेखक खालिद हुसेनीले आफ्नो ‘द काइट रनर’ नामको उपन्यासमा प्रस्तुत गरेका छन् । एकजना विश्वविख्यात विज्ञानका प्राध्यापक हुन्छन् । उनको परिवार राम्रो हुन्छ । सुन्दर बंगलाका साथ कार आदि हुन्छन् । उनलाई इस्लामको विरोधी भएको वा लडाकुको पक्षमा नलागेको भनेर त्यो इस्लामिक आन्दोलनमा उनको घरमा बम पड्काइन्छ । उनी पूर्ण रूपमा अपाङ्ग हुन्छन् । पत्नी–बच्चाहरू मारिन्छन् । उनको अरु कुनै उपाय नहुँदा मस्जिदको गेटनजिक मागेर गुजारा गर्दछन् । उनका विद्यार्थी त्यहा पुग्दा अचानक उनलाई देख्दछन् र सोध्छन्, ‘सर यो के भएको ?’ उनले सबै प्रष्ट्याउँदै थप भन्छन्– अब जीवन चलाउनको लागि सबैभन्दा सजिलो उपाय यही बाँकी रहेको छ र म यसै गर्दैछु, बाँचिरहेछु । बाँच्नको लागि धेरै पीडालाई स्वभाविक रुपमा पचाउनु पर्दछ । गलत गर्नेले गर्दछ र पछि ‘गल्ती भयो’ पनि भन्ला, तर बिग्रेपछि भनेर पनि के हुन्छ र ? भत्काउनेका विपक्षमा रहनेहरू तहसनहस भएकोले उसले आफैलाई पीडा पुऱ्याउनेको समर्थन गर्ने हो भने मात्र गुजाराको बाटो पनि केही हुन सक्दछ । त्यस समयमा बाँच्नु छ र बिगार्नेबाट केही सहयोग पाउनु छ भने पीडितले आफूले गल्ती गरेकोले सजाय पाएको र आन्दोलन गर्नेले त ठिकै गरेका हुन् समेत भन्न बाध्य बन्दछ ।

उसले बाँच्नको लागि त्यही भन्नुपर्ने हुन्छ । अरु पीडा नपाउनको लागि पनि त्यसो भन्नुपर्ने हुन्छ । कहिलेकाहीँ केही पीडितले त्यसो भन्दा पीडकको मन बदलिने र पीडकप्रतिको अरुको धारणा बदलिने र भ्रम बढाउन सकिने हुँदा पीडित पीडकबाट गल्ती महसुस गरेर महानता देखाएको भन्दै पुरस्कृत पनि भएका हुन्छन् ।

अफगानिस्तानको कावुल विश्वका सबैभन्दा राम्रा स्थलमध्ये पर्दथ्यो । पर्यटन समेतबाट प्रशस्त आम्दानी हुन्थ्यो । सबैजसोको जीवन सुखमय थियो । तर, अहिलेको जिन्दगी कस्तो छ ? सबै शहर चिहान जस्तो भएको छ । नागरिक जीवन अस्तब्यस्त छ । केही ब्यवस्थित छैन । कुन दिन कताबाट आक्रमण भएर मरिने हो केही थाहा छैन ।

जबर्जस्ती गर्नेहरू, एकोहोरा भएकाहरू आन्दोलनमा घर भत्काउँछन् र भन्दछन् कि अब पुरानो घर भत्कियो नयाँ राम्रो घर बन्दछ । तर त्यहाँ कहिल्यै पनि राम्रो घर बन्दैन, बरु पुरानो घर भएको परिवार घरबारविहीन भएर नै मर्न सक्दछ ।

‘द काइट रनर’मा कुनै ब्यक्तिले त्यस अवस्थामा चिन्ता देखाउँदा आन्दोलनकारीले भन्दछ कि यति ठुलो परिवर्तन भएको छ जहाँ जनताले मुक्तिको बाटोमा पाइला चालिसकेका छन् । समाज धेरै अगाडि बढिसक्यो । यति ठुलो सकारात्मक परिणामलाई तपाईं कसरी नकारात्मक रुपमा लिनुहुन्छ भन्दा बिचरोले डरले पुनः हो भन्दछ । किनभने उ पनि त्यही आक्रमणमा पर्न सक्दछ । त्यो उपन्यासको आशय यस्तै छ ।

केही जबर्जस्ती गर्नेहरू, एकोहोरा भएकाहरू आन्दोलनमा घर भत्काउँछन् र भन्दछन् कि अब पुरानो घर भत्कियो नयाँ राम्रो घर बन्दछ । तर त्यहाँ कहिल्यै पनि राम्रो घर बन्दैन, बरु पुरानो घर भएको परिवार घरबारविहीन भएर नै मर्न सक्दछ । पुलहरू भत्काइएला, धर्म वा राजनीतिको नाममा, तर पुल बन्दैनन् । केही बने भने पनि अझै नराम्रो र अरुले सहयोग गरेर बन्दछन् । त्यो के भयो त परिणाममा पहिला खाल्टो खनेर ठुलो काम गरेँ भन्ने र पछि ठुलो खाल्टो पुरेर महान् कार्य गरेँ भनेर धाक दिनुको कुनै तुक छ र ?

अझै, घर भत्काएर घर नबनाएपछि यस्तो घर बनाउँछु भनेर धाक लागउनुको केही अर्थ रहला र ? नक्सा देखाएर पनि के काम छ ? सधैं नक्सा, भाषण र आश्वासन मात्र पाउने, आश्वासन दिनेहरू नै गलत बाटोमा हिँड्ने, तर जनताले डरले भनेको मान्ने वा भ्रममा मत दिने मात्र पीडित वा बहकाइएकाहरूकोे भाग्य हुन हुँदैन । आन्दोलन गर्नेले कसैको विरोधमा ‘उ सबैभन्दा नराम्रो हो, उसलाई हटाउनु नै ठुलो उपलब्धि भयो’ भनेर उसले गरेको जत्ति पनि राम्रो गर्न नसकेपछि र उभन्दा धेरै गलत भएपछि त्यो कामको र भनाइको के औचित्य रह्यो र ! काम नगर्नु नै थियो भने ती गलत काममा किन जनधनको क्षति गरियो त ?

कुनै पनि धार्मिक आन्दोलन वा राजनीतिक उथलपुथल मानिसको हितको लागि भनेर गरिन्छ । जनता त्यही आशामा आन्दोलनलाई सहयोग गर्दछ । परिणाम भने आशा गरेको भन्दा उल्टो भएमा आशा, अरुलाई गाली, झुक्याउने भाषण नै त्यति ठूला आन्दोलन, जनसंहार, तहसनसको क्षतिपुर्ति हो त ?

जति ठूलोे क्षतिका साथ उथलपुथल गरेर परिणामको आशा देखाइन्छ, त्यसले परिणाम राम्रो नदिए त्यति नै ठुलो अपराध जनतालाई भ्रममा पार्नेको हुन्छ । हरेक गलत कार्यको विरोध गर्नु पर्दछ । अन्यायको प्रतिकार मानिसको जन्मसिद्ध अधिकार नै हो । तर, त्यो प्रतिकार कुन स्तरको हुनुपर्ने भन्ने ध्यान दिन आवश्यक हो ।

गलतले विजय पाउँदा जित्न पनि ठूलो मूल्य चुकाउनुपर्ने र जितेपछि पनि अझै नराम्रो हुने रहेछ । गलत जितमा भूमिका निभाउनेहरूले परिणाम राम्रो नदिएपछि क्रान्तिका गाथा र बलिदानका कुराहरू गर्नु भनेको निरीहहरूका अगाडि बलियोले धाक लगाएजस्तो हो र डाँकाले सोझा मानिसलाई राम्रो भनेर ताली बजाउन लगाएजस्तो हो ।

कुनै पनि विचारका कुशल योजनाकारले जनतालाई भाषणले भ्रममा पार्न सक्दछ । पीडा र दुःखको मुक्तिको कुरा पनि गर्न सक्दछ । त्यही कारणले जनता बन्दुक बोक्न तयार हुन्छ । मानिसले मानिसलाई काट्न समेत तयार हुँदोरहेछ । छोराले बाबुआमालाई समेत क्रान्तिको नाममा मार्दोरहेछ । तर, बदलामा क्रान्तिका नायकहरूले दिएको आश्वासन सत्तामा पुगेपछि पूरा गरेनन् । जनतालाई धोका दिए, क्रन्तिको फाइदा नेताहरूले र बेइमानहरूले मात्र लिए भने त्यो भन्दा ठुलो धोका केही हुँदैन ।

आफू–आफूमा मारामर गर्ने र दुस्मनी गर्नेहरूले दुस्मनीबाट केवल धोका मात्र पाए भने जनताले गल्ती भएछ भन्ने कि त्यसको प्रतिकार गर्ने भन्ने पनि हो । तर त्योभन्दा महत्वपुर्ण भनेको राजनीतिकर्मी र अन्य आन्दोलनकर्मीले असम्भव र पूरा नहुने कुरालाई गर्छौं भनेर जनतालाई भ्रम दिनु हुँदैन । जनता त सोझा हुन्छन् । पीडाबाट मुक्ति पाइन्छ कि भनेर साथ दिन्छन् । त्यसलाई दुरुपयोग गरिनु भएन । नहुने कुराको भ्रम दिनु त झनै ठूलो अपराध हो ।

जनता गलत आश्वासन दिने र परिणाम गलत दिनेबाट सजग हुनै पर्दछ । घर भत्काएर घर नबनाउने तर राम्रो नक्सा छ भनेर हिँड्ने गर्दैमा केही हुँदैन । जित ठुलो त कहिल्यै पनि होइन रहेछ, बरु जितको परिणाम असल हुनुपर्ने रहेछ । हार भए पनि कुनै दिनमा जित हुँदा जनताले सुख पाउँछन् । गलतले विजय पाउँदा जित्न पनि ठूलो मूल्य चुकाउनुपर्ने र जितेपछि पनि अझै नराम्रो हुने रहेछ । गलत जितमा भूमिका निभाउनेहरूले परिणाम राम्रो नदिएपछि क्रान्तिका गाथा र बलिदानका कुराहरू गर्नु भनेको निरीहहरूका अगाडि बलियोले धाक लगाएजस्तो हो र डाँकाले सोझा मानिसलाई राम्रो भनेर ताली बजाउन लगाएजस्तो हो । यस्तो कहिल्यै कुनै विषयमा पनि नहोस् ।