पचास दिनको बन्दाबन्दीपछि मङ्गलबारदेखि शेयर बजार खुल्दै

पचास दिनको बन्दाबन्दीपछि मङ्गलबारदेखि शेयर बजार खुल्दै


कोरोनाको सङ्क्रमण बढ्न नदिन सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ घोषणा गरेसँगै बन्द भएको धितोपत्र बजार मङ्गलबार (३० वैशाख) देखि नियमित सञ्चालनमा आउने भएको छ ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मङ्गलबारदेखि शेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिँदै नियामक निकाय नेपाल धितोपत्र बोर्डले शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको स्मरण गराए । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार लकडाउनपछि बन्द भएको ५०औँ दिनमा खुल्न लागेको हो ।

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्ण रुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको पनि जनाइएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिने बोर्डको निर्णय छ ।