प्रवासमा किन बढ्दैछ नेपाली विद्यार्थीको आत्महत्या ?

प्रवासमा किन बढ्दैछ नेपाली विद्यार्थीको आत्महत्या ?


■ राजन घिमिरे

पछिल्लो समय उच्चशिक्षा हासिल गर्न विदेशिने नेपाली विद्यार्थीहरूको संख्या बढ्न थालेको छ । क्यानडा, यूरोप, अमेरिका र अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूको चाप पनि बढ्दै जान थालेको छ । विद्यार्थीहरूको यो चापसँगै विविध कारणले उनीहरूले आत्महत्या गर्ने क्रम पनि रोकिएको छैन । महिनैपिच्छे प्रवासमा सुनिने नेपाली विद्यार्थीहरूको आत्महत्याको समाचारले प्रवासको नेपाली समाज पनि यतिबेला झस्किन थालेको छ ।

उच्चशिक्षा अध्ययनका लागि विदेशिएका नेपाली विद्यार्थीमा देखापरेको मानसिक तनाव, विचलन र नैराश्यपूर्ण पाटोको खोजी गर्न थालिएको छ यतिबेला प्रवासमा ।

अमेरिका, यूरोप, क्यानडा र अस्ट्रेलियालगायतका मुलुकलाई ‘सपनाको देश’ मानिने गरिन्छ । गर्न सक्नेलाई यी मुलुकहरूमा धेरै अवसरहरू पनि छन् । तर, ती अवसर पहिल्याउन भने धैर्यता, आँट र सहनशीलता चाहिन्छ । चाँडै कमाइधमाई गरिहालौँ भनी हतारिँदा र त्यो महत्वकाङ्क्षा वा इच्छा पूरा नहुँदा ‘आत्महत्या’ जस्ता गलत परिणाम निस्किरहेका छन् । विशेष गरेर उच्चशिक्षा अध्ययनका लागि आकर्षणको थलो बनेको मुलुकहरूमा हानिएका विद्यार्थीमा धैर्यता, सहनशीलता र अठोटको कमी देखिएको छ ।

नेपालबाट अध्ययनका लागि विभिन्न मुलुक पुगेका विद्यार्थीहरूले नेपाल रहँदा महिनामा यति कमाइन्छ भनेर देखेको सपना त्यो मुलुक पुग्नासाथ पूरा नहुँदा उनीहरूमा मानसिक विचलन आएको देखिन्छ । यी र अन्य थप कारणले विद्यार्थी आत्महत्यासम्म पुगेको बुझ्न सकिन्छ ।

उच्चशिक्षा अध्ययनका लागि बाबुको साथ र आमाको काख छाडेर विदेश हानिएका ‘भविष्यका कर्णधार’मा विभिन्न कारणले विचलन आउनु र ज्यानसम्म फाल्नु यतिबेला चिन्ताको विषय बन्न पुगेको छ । विशेष गरेर विद्यार्थीलाई आत्महत्यासम्मको अवस्थामा पुऱ्याउनुमा पारिवारिक कारण मूल देखिएको छ । अध्ययन गर्न आएका विद्यार्थीमा पढ्न आउँदा लागेको खर्च उठाउनुपर्ने र नेपालबाट पैसा पठाउन बारम्बार ताकेता आउनु पनि उनीहरूका लागि टाउकोदुखाइको विषय बन्ने गरेको छ ।

‘यता आएर विशुद्ध रूपमा अध्ययन मात्र गर्ने विद्यार्थीको संख्या निकै कम छ । पढ्न आएको विद्यार्थीको कलिलो दिमागमा चौतर्फी दबाब नै उनीहरूका लागि गलत कारण बनिरहेको छ । परिवारमा सुखसयल र रमाइलो गरेर जीवन बिताइरहेका विद्यार्थीमा यता आएपछि ठूलै जिम्मेवारी काँधमा पर्न जान्छ’– लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एवम् गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन केसीको भनाई छ । कमाएर बाँच्नुपर्ने, कलेजको शुल्क तिर्नुपर्ने र परिवारबाट बारम्बार पैसा पठाउन दबाब आइरहने जस्ता कुराले त्यो कलिलो दिमागमा असर परेको देखिन्छ ।

केसीका अनुसार यस्ता कुरालाई सहज रूपले नलिइ विद्यार्थीले तनावको रूपमा लिने गरेका छन् । ‘विद्यार्थीबीचको भलाकुसारीमा धेरै सुनिन्छ । टेन्सन नै टेन्सन छ, कमाई छैन, तर घरबाट पैसा पठा भनेर किचकिच गर्छन् भनी उनीहरू आपसमा दुःख साटासाट गरेका हुन्छन्’, केसीले विद्यार्थीहरूले भोगेको समस्याबारे जानकारी दिए । पढ्न विदेश जाँदा आफ्नो क्षमता या हैसियत पनि मनन गरौँ । अरूको लहलहैमा होइन, आफै रिसर्च गरेर मात्र विदेश पढ्न जाउँ र वास्तबिकता भन्दा बढी महत्वकांक्षा नपालौँ’– विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई केसीको सुझाव छ ।

एकपछि अर्को नेपाली विद्यार्थीले आत्महत्या गर्न थालेपछि अस्ट्रेलियाको नेपाली समाज यसबारे चनाखो हुन थालेको छ । विद्यार्थीमा ऊर्जा र उत्साह जगाउने सोचको विकास गर्न सक्नुपर्छ, सामूहिक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई एक्लै नभएको महसुस दिलाउन सकियो भने पनि विद्यार्थीमा देखापर्ने मानसिक तनाव वा विचलनलाई निकै मात्रामा कमी गर्न सकिने कुरा लामो समयदेखि अस्ट्रेलियामा रहेर एजुकेशन क्षेत्रमा सक्रिय रवीन्द्रकुमार शर्मा बताउँछन् ।

विद्यार्थीको रूपमा बिदेशिएका र अहिले स्थापित भइसकेका अधिकांश विद्यार्थीहरूको भोगाइमा भने विद्यार्थीमा धैर्य नहुनु र चाँडै लाखौँ कमाउने सपना देख्नु ठूलो समस्या हो । ‘बारम्बार नेपालबाट पैसाका लागि दबाब आइरहँदा पनि विद्यार्थीमा विचलन आउने गरेको छ । परिवारबाट ऋणको समस्या देखाइदिनु तर आफ्ना सन्तानलाई उत्साह प्रदान गर्न नसक्नु पनि आत्महत्याका कारण हुन्’– शिक्षा ब्यवसायी सुनिल उप्रेतीले भने ।

मूलतः आत्महत्याका कारण निम्न देखिन्छन्–
– पारिवारसँगको विछोड
– ऋणको भार
– खराब सङ्गत
– खर्चिलो बानी
– पैसाका लागि समयमा नसुतेर काम गर्ने बानी
– बढी महत्वाकांक्षा
– मानसिक तनाव
– अभिभावकको गलत अवधारणा

‘उच्च अध्ययनका लागि आफ्ना सन्तान अस्ट्रेलियाको एअरपोर्टमा झर्न पाएका हुँदैनन्, यहाँ रूखमा पैसा फल्ने र सन्तानले त्यही टिपेर पठाउनेजस्तो गरी पैसा पठाइहाल है बाबु वा नानी भन्ने दबाब दिन थाल्छन् । त्यहाँबाट सुरु भएको मानसिक तनावले अन्ततः गलत परिणाम निस्किरहेको छ । कम अभिभावक मात्र यस्ता भेटिएका छन् कि जसलाई सन्तानको कमाई होइन शिक्षाको चिन्ता छ,’ शिक्षा ब्यवसायी रवीन्द्रकुमार शर्माको धारणा छ ।

‘अधिकांशलाई सन्तानले कति पठाउला र कहिले पठाउला भन्ने चिन्ता छ । तर सन्तानको अवस्थाको चिन्ता देखिँदैन,’ गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन केसीको पनि यही धारणा छ ।

अमेरिकाबाट पुस्कर पन्तको भनाई भने यस्तो छ– ‘अरूको लहलहैमा विदेश पढ्न आउनेको बाढी धेरै छ । अरूको देखेर होइन, आफू अध्ययन गरेर आउनु पऱ्यो । यसो गर्दा आत्मविश्वास बढ्छ’– पन्तले सुझाव दिए । यस्तै क्यानडामा रहेका हरि सिवाकोटी भने डिप्रेसनमा रहेका नेपाली विद्यार्थीहरूलाई उत्साह प्रदान हुने र साथ दिने कार्यक्रमहरू ल्याउनु पर्ने सुझाव दिन्छन् ।

कुनै पनि सरकारले विद्यार्थीले काम गर्न नपाउने नियम बनायो भने सायद धेरै अभिभावकहरूले आफ्ना सन्तानलाई विदेश पढ्न पठाउँदैनथे होला भन्ने धारणा शिक्षा ब्याबसायी स्वतन्त्रप्रताप शाहको छ । उनी भन्छन्– ‘त्यसैले पहिला सन्तानलाई खुला दिमागले पढ्न दिनुहोस्, कमाई नहुने होइन तर तत्काल कमाएर देखाउन दबाब नदिनुस्, तपाईंहरूको दबाब, तनाव अनि किचकिचका कारण कलिलो दिमागमा गलत असर परिरहेको छ ।’