निर्माण सामग्री बोक्ने ट्रिपर सञ्चालनमा

निर्माण सामग्री बोक्ने ट्रिपर सञ्चालनमा


विकास रौनियार

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै राजमार्गमा ट्रिपरहरु सञ्चालनमा आएका छन् ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले धादिङ्ग र काठमाडौंको सीमानामा पर्ने खत्रीपौवामा चालक एवम् सहचालकलाई सुरक्षा सामाग्रीहरु माक्स, सेनीटाइजर, पन्जालगायत आवश्यक सुरक्षा सामाग्री हस्तान्तरण गर्दै सुरक्षित भएर सिधा आफ्नो गन्तब्यमा जान र फर्किन निर्देशन दिएको छ।

समितिका अध्यक्ष रामकुमार चापागाईंले सम्पूर्ण चालक सहचालकलाई तीव्र गतिमा सवारी नहाँक्न र यात्रु नबोक्न निर्देशन दिँदै आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर दूरी कायम गर्दै काम गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै, राष्ट्रिय यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले स्वागतयोग्य निर्णय गरेर ट्रिपर संचालन गर्न दिएको मौकालाई चालक सहचालकले दुरुपयोग नगर्ने र अनुशासित ढंगले सवारी चलाउने भन्दै आफ्नो जीवनको सुरक्षाका सम्पूर्ण सावधानी अपनाएर अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

निर्माण सामाग्री बोक्ने सवारी चलेको भए पनि रोडा ढुंगा उत्पादन गर्ने क्रसर उद्योग हालसम्म सञ्चालन नभएकोले त्यसको सञ्चालन सहज गरिदिन सरकारसँग युवा व्यवसायी तथा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका उपाध्यक्ष शिव ओझाले आग्रह गरे । ट्रिपर विकास निर्माणको संवाहक भएको भन्दै आफुहरु नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको र सरकारले पनि त्यसरी नै सहयोग गर्नुपर्ने धारणा उनले राखे ।

सुरक्षा सामाग्रीहरु माक्स, सेनीटाइजर र पन्जा वितरण कार्यक्रममा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति संस्थापक अध्यक्ष यादव श्रेष्ठ, थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठ लगायत अन्य ब्यावसायीहरुको उपस्थिति रहेको थियो।

सरकारको पछिल्लो निर्णयसँगै निर्माण सामग्री बोकेका ट्रिपर राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् ।