पोखरा-पर्यटन : कोरोना-महामारीपश्चात पुरानै अवस्थामा फर्काउन के गर्ने ?

पोखरा-पर्यटन : कोरोना-महामारीपश्चात पुरानै अवस्थामा फर्काउन के गर्ने ?


■ सनत आचार्य

कोरोना भाइरस (कोभिड–१९) संक्रमण विश्वभर फैलिएसँगै नेपालको मुख्य पर्यटकीय नगरी पोखरामा आन्तरिक र बाह्य पर्यटकको चहलपहलमा निराशाजनक रूपले कमी आएको छ । अहोरात्र स्वदेशी–विदेशी पर्यटकहरूको भीड देखिने लेकसाइड, फेवाताल र आसपासको क्षेत्र अहिले सुनसान छ ।

भौगोलिक, सामाजिक, धार्मिक र सांस्कृतिक विविधता बोकेको पोखरा र आसपासका क्षेत्र स्वदेशी हुन् वा विदेशी सबै पर्यटकका लागि निकै आकर्षक गन्तव्य मानिन्छ । पोखरा उपत्यकाबाट हेर्दा उत्तरतर्फ चाँदीझैँ टल्किने हिमाल, फेवा अनि बेगनास तालमा गरिने जलयात्रा, डेभिड फल्स झरनाको दृश्यावलोकन र विन्दवासिनी/तालबाराही मन्दिर, शान्ति स्तुपा, प्याराग्लाइडिङलगायतका विविध दृश्यावलोकनका साथै रमाइलो गरेर विदा मनाउने, धार्मिक स्थलहरूको दर्शन, पैदल तथा पर्वतारोहण गर्नका लागि बच्चादेखि वृद्धसम्म सबैका लागि यो क्षेत्र आकर्षक र सहज गन्तव्यको रूपमा पर्दछ । यसका अलावा घोडेपानी पुनहिल, धम्पुस, घान्द्रुक जस्ता छोटो र अन्नपूर्ण बेसक्याम्प, धौलागिरी, उपल्लो मुस्ताङसम्मको लामो दूरीको पैदलयात्राको शुरुवात पनि यसै पोखरा नगरीबाट हुने भएकोले यो क्षेत्रमा पर्यटकको चहलपहल निकै हुने गर्दछ । नेपाल आउने अधिकांश पर्यटक पोखरा अनिवार्य रूपले आउने र आनन्दित हुने गर्दछन् ।

त्यस्तै, आर्थिक दृष्टिकोणले पनि नेपाल विश्वका अन्य मुलुकभन्दा नेपाल कम खर्चिलो र सजिलो गन्तव्य भएकोले पोखरा सबै किसिमका पर्यटकका लागि उपयुक्त स्थान मानिन्छ ।

यसरी पर्यटनका दृष्टिकोणले सबैका लागि आकर्षक र महत्वपूर्ण मानिने पोखरा र यसआसपासका क्षेत्र कोभिड-१९ कारण अहिले सुनसान बन्न पुगेको छ ।

सरकारद्वारा घोषणा गरिएको लकडाउनले यस क्षेत्रमा पर्ने सम्पूर्ण होटल तथा रेष्टुरेण्टहरू लामो समयदेखि बन्द छन् । प्रायः सबै होटल र रेष्टुरेण्टहरूमा ताला लगाइएको छ । सर–सफाई र गोडमेल गर्न चाहिने आवश्यक जनशक्तिबाहेक अन्य सबै प्रकारको जनशक्तिलाई व्यवस्थापन पक्षले बिदा दिएर घर पठाएको छ । लकेसाइडआसपासका पसल अझै खोलिएका छैनन् । स्वदेशी र विदेशी पर्यटकहरूको चहलपहल हुने मुख्य सडकलगायत भित्री सडक समेत सुनसान छन् । व्यापार-व्यवसाय ठप्प छ । सार्वजनिक सवारीका साधनसहित पर्यटक ओसार्ने सवारी साधन पनि बन्द छन् ।

केही नीजि डुंगाबाहेक पर्यटकको अभावमा फेवा र बेगनास तालमा चल्ने डुङ्गा सञ्चालनमा आएका छैनन् । सबै डुङ्गालाई तालको किनारमा बाँधेर राखिएको छ ।

लकडाउनपछि विभिन्न कारणले अलपत्र परेका करिव हजारको संख्यामा विदेशी पर्यटकलाई सरकारसँगको समन्वयमा आ–आफ्नो देश फर्काइए तापनि वर्तमान परिस्थितिका कारण आफ्नो देश फर्कन नचाहने र नेपालमै सुरक्षित बसेका सयको हाराहारी सङ्ख्याका विदेशी पर्यटक अझै पोखरामा रहेको बताइन्छ । यसरी पोखरामा बसेका पर्यटकलाई पोखराका होटल व्यवसायीहरूले निःशुल्क भोजनको व्यवस्था गरी विपद् र सङ्कटमा सहयोग गरेका छन् ।

लकडाउनको अन्त्यसँगै विभिन्न कारणसहित जोखिममा रहेको पोखरा पर्यटन व्यवसायलाई माथि उकास्न सरकारलगायत सबैको सकारात्मक भूमिका अति नै महत्वपूर्ण छ । विश्वमा देखिने आर्थिक मन्दी र संक्रमणका कारण उत्पन्न हुने असुरक्षाका कारण अबका केही वर्षसम्म विश्वकै पर्यटन उद्योग जोखिममा पर्न सक्ने ठूलो सम्भावना छ । त्यसैले सरकारले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक आम्दानीका लागि बलियो आधार बनाउन यस क्षेत्रको प्रवर्धन गर्न जरुरी छ । यसका साथै पर्यटन क्षेत्रले पनि निम्नानुसारको कार्यमा ध्यान दिन जरुरी छ ।

सरकारले अब गर्ने काम :

कोरोना सङ्क्रमणपश्चात नेपालको पर्यटन उद्योगको समग्र विकासका लागि सरकारको ठूलो भूमिका रहन्छ । महामारीका कारण होटल र रेष्टुरेण्ट लामो समयसम्म बन्द रहँदा सम्पूर्ण पर्यटन उद्योगलाई आर्थिक भार पर्नु स्वभाविक हो । यसरी बन्द भएको व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउनका लागि व्यवसायीलाई आर्थिक अभाव हुने देखिन्छ । आगामी दिनहरूमा पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार आर्थिक राहतको प्याकेज निर्माण गरी सोहीअनुसार गर्न जरुरी छ । यसका लागि ऋणमा सहुलियत दिने, सुविधासहितको आर्थिक लगानी बढाउन वित्तीय क्षेत्रहरूमा नीतिगत निर्देशन दिने र पर्यटन क्षेत्रको पूर्वाविकासका लागि छुट्याइएको पुँजीलाई एकिकृत गरी पर्यटन क्षेत्रमा लगानी गर्न आवश्यक देखिन्छ ।

होटल संघ नेपाल पोखराका अध्यक्ष विलाल तुलाचन यो विषम परिस्थितिमा सरकारसँग धेरै माग गर्नुभन्दा व्यवसायीहरूको आर्थिक समस्यालाई सम्बोधन गर्ने आर्थिक राहत प्याकेज आवश्यक रहेको र ऋण तथा किस्ताको अवधि तत्काल बढाउन जरुरी रहेको बताउँछन् । उनका अनुसार पोखराको पर्यटन व्यवासायमा निजी र वित्तीय क्षेत्रको करिव २ खर्ब लगानी रहेको हुदाँ यो लगानीलाई सुरक्षित गर्न तत्काल सरकारी पहल जरुरी छ ।

अर्को महत्वपूर्ण विषय भनेको कामदार र पर्यटक दुवैको सुरक्षा हो । नेपाल आउने पर्यटकले जब आफू सङ्क्रमण हुनबाट सुरक्षित भएको महसुस गर्दछन् तब मात्र गन्तव्य निर्धारण गर्दछन् । यसका लागि सरोकारवालासँग छलफल गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्ड तयार गरी मापदण्डअनुसार सबै सुरक्षित रहेको पनि प्रचारप्रसार गर्नु जरुरी छ ।

त्यस्तै, सरकारले पर्यटक र कामदारहरू सबै सुरक्षित रहन अपनाइएका तौरतरिकाको सामाजिक सञ्जाललगायत वेभसाइडबाट व्यापक रूपले प्रचारप्रसार गर्न आवश्यक छ । यसका लागि विदेशमा रहेका नेपालका कुटनीतिक नियोगहरूलाई समेत प्रचारप्रसारका लागि परिचालन गर्न आवश्यक छ ।

व्यवसायीहरूले गर्नुपर्ने :

होटल संघ नेपाल पोखराका अध्यक्ष विलाल तुलाचनका अनुसार पोखरामा ७ सय ५० होटल रहेका छन् भने यस क्षेत्रमा १५ हजार कामदारले प्रत्यक्ष रूपमा रोजगारी गरिरहेका छन् ।

त्यस्तै, रेष्टुरेण्ट तथा बार एसोसियशन नेपाल पोखराका सचिव विकास भट्टराई पोखरा क्षेत्रमा मापदण्ड पूरा गरेका करिव एक सय र पूरा नगरेका २ सय ५० रेष्टुरेण्ट तथा बारहरू रहेका र तिनमा ५ हजारभन्दा बढि कामदारले रोजगारी प्राप्त गरेको बताउँछन् । आफूहरू लकडाउनपश्चात व्यवसाय खोल्न तयार रहेको र कामदारका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कर्मचारी र आगन्तुकलाई सुरक्षा प्रदान गर्न आफुहरू तयार रहेको उनको भनाई छ ।

लकडाउनपश्चात अधिकांश श्रमिक तथा कर्मचारीहरूलाई बेतलबी बिदा दिए र लामो समयसम्म व्यापार–व्यवसाय सञ्चालन नभएको हुँदा बिदामा बसेका श्रमिकलाई तलब दिन नसकिने व्यवसायीको जिकिर छ भने सरकार र मजदुर संगठनहरूले कामदारलाई तलब दिनुपर्ने बताइरहेका छन् । तलब र अन्य सेवा–सुविधासहित मजदुरहरूलाई स–सम्मान काम गर्ने वातारण सुनिश्चित गर्न सके व्यवसाय सञ्चालनका लागि चाहिने दक्ष कर्मचारीको अभाव हुँदैन । यसको सुनिश्चित गर्न नसके दक्ष कामदारहरू पलायन हुने र कामका लागि जनशक्तिको अभाव हुने सम्भावना देखिन्छ ।

त्यस्तै, अर्को काम भनेको होटल तथा रेण्टुरेण्टमा काम गर्ने कामदारलाई कोरोना संक्रमणबाट बच्नका लागि सुरक्षामा ध्यान दिनु हो । होटल-कामदारहरू प्रत्यक्ष रुपले आगन्तुकसँग सम्पर्कमा रहने भएकोले यिनीहरूको सुरक्षाका लागि विभिन्न उपाय अवलम्बन गर्न जरुरी छ । त्यस्तै व्यवसाय संचालन गर्नपूर्व कामदारहरूलाई बचाउका लागि तालिम र आवश्यक पिपिई, पन्जा लगायतका सामग्री दिन आवश्यक छ ।

त्यस्तै, प्रत्येक दिन होटल-रेष्टुरेण्टलाई डिसइन्फेक्सन गरी पर्यटकका लागि सङ्क्रमणमुक्त भएको विश्वास दिलाउनु पर्दछ । यसरी गरिएको डिसइन्फेक्सनको भिडियो बनाई सामाजिक संजाललगायत वेभसाइडमा पनि राख्दा सकारात्मक सन्देश प्रवाहित हुने देखिन्छ । यसका लागि टनेललगायतका नयाँ-नयाँ प्रविधिको प्रयोग गर्दा अझ प्रभावकारी हुने देखिन्छ ।

अर्को मुख्य काम भनेको संक्रमण फैलिन नदिन होटल र रेष्टुरेण्टमा आउने ग्राहकको तापक्रमलगायत स्वास्थ्यजाँच गर्ने व्यवस्था मिलाउनु पर्दछ । स्वास्थ्यजाँचका लागि जिल्लास्थित स्वास्थ्य संघ-संस्थासँग समन्वय गर्न पनि आवश्यक छ । यसका साथै व्यवसायीहरूले बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्सको चौविसै घण्टा सेवा प्रदान गर्ने व्यवस्वथा मिलाउन पनि जरुरी छ ।

यी मूलभूत कुरामा ध्यान दिए पोखराको पर्यटन क्षेत्र पुनः पुरानो अवस्थामा फर्कन सक्ने देखिन्छ । यसका लागि सरोकारवालाले सरकार र सम्बन्धित निकायसँग निरन्तर छलफल गरी ठोस नीति र योजना निर्माण तथा लागू गराउन अपरिहार्य देखिन्छ ।