‘गल्ती गर्ने उनीहरू, सजाय भोग्ने हामी’

‘गल्ती गर्ने उनीहरू, सजाय भोग्ने हामी’


■ देवप्रकाश त्रिपाठी

पुरानो पहाडी बस्तीलाई गन्तव्य बनाएर हिँडेका थिए उनीहरू । कृष्णपुर नामको उक्त बस्ती साढे चार हजार मिटरको उचाइमा भएर पनि त्यहाँ सुविधाको कुनै कमी थिएन । चारैतिर घना जङ्गलले घेरिएको पहाड, बीचमा बस्ती र वरिपरि खेत । सम्पन्नताको पर्यायझैँ बनेको कृष्णपुरबाट उत्तरमा हिमालय र दक्षिणमा समतल मैदानी भूभाग छर्लङ्ग देखिन्थ्यो ।

पर्यटकहरू त्यहाँ सूर्योदय र हिमालय पर्वतको दृश्यानन्दका लागि जाने गर्दथे । वर्जित र सरिनाले भने कृष्णपुरको बारेमा सुनेका मात्र थिए, पुगेका थिएनन् । पहाडको मध्य भागभन्दा केही माथिसम्म पक्की सडक बनाइएको भए पनि त्यसभन्दा माथि वातावरणीय सुन्दरताको रक्षार्थ प्रदूषण निसृत गर्ने कुनै पनि उपकरणहरू निषेधित थियो । यतिसम्म कि धुवाँबाट मुक्त हुन बस्तीमा घुमपानसमेत निषेध गरिएको थियो । फूल रोप्न पाइने टिप्न नपाइने, रूख–बिरूवा रोप्न पाइने काट्न नपाइने, जङ्क फुडहरूको उपभोगमा प्रतिबन्ध, खेतीमा रासायनिक मल र विषादी प्रयोग गर्न नपाइने नियम बसाएका थिए स्थानीय बासिन्दाले । पूरै बस्तीमा अर्गानिक मूल्य–मान्यता स्थापित थियो । त्यसैले कृष्णपुर देशमै एउटा नमुना बस्ती थियो र एकप्रकारले यो विश्वमै प्रचारित थियो । वर्जित र सरिना ग्लोबल वार्मिकको असरबारे अध्ययन तथा अनुसन्धान गर्न त्यहाँ पुगे । बस्तीको वरिपरि चर्चा भएजस्तो हरियाली देखेनन् उनीहरूले ।

बाटोमा एउटै गाडी र मानिस नभेटिँदा उनीहरू अचम्मित भएका थिए, पार्किङ स्थलमा केवल पाँचवटा मात्र गाडी देखिए ।

उनीहरू पनि त्यहीँ गाडी छोरोर बस्तीतिर लागे । पार्किङस्थलबाट बस्तीसम्म पुग्न पैँतालीस मिनेट लाग्यो उनीहरूलाई । बाटोमा धेरै कम सङ्ख्यामा रूखहरू देखिए, ती पनि एकै प्रजातिका । धेरैजसो रुखहरू काटिएका या सुकेका । उजाड, उदास र सुक्खा जङ्गल तथा भूतपूर्व खेतहरूलाई छिचोल्दै उनीहरू बस्तीमा पुगे ।

बस्तीमा कुनै चहलपहल थिएन । पाँच–सातजना विदेशीलाई पछ्याउँदै केही मानिसहरू हात पसारिरहेका दृश्य देखियो । उनीहरू त्यतैतिर बढे । दुई युवा–युवती आउँदै गरेको देखेर तीमध्येका केही मानिस उनीहरू भएतिर दौडिए ।

‘तपाईंहरू बोतलमा भरेको पानी लिएर हिँड्नुहुन्छ होइन ?’– एउटाले सोध्यो । सरिना ‘हो, किन र ?’ भन्दै प्रश्नकर्तातर्फ मोडिइन् ।

‘मलाई दुई घुट्की लगाउन दिनुहोस् न’, उसले भन्यो ।

सरिनाले झोलाबाट एक बोतल पानी निकालेर त्यस मानिसको हातमा राखिदिइन् । पानीको बोतल हातमा पर्नेबित्तिकै त्यो मानिस यसरी दौडिएर भाग्यो कि मानौं सिङ्गै संसार आफ्नो हातमा आइपरेको छ । करिव सत्तरी वर्ष आसपासको उमेरका लाग्ने त्यो मानिस दौडँदै गएर एक घरभित्र प्रवेश गऱ्यो । वृद्धको त्यस्तो व्यवहारले उनीहरूलाई निकै व्याकुल र चकित तुल्यायो । उनीहरू त्यसै व्यक्तिको घरतिर लागे ।

साथमा पानी माग्दै दर्जनौँ हातहरू उनीहरूको पछिल्तिर पसारिँदै थिए । वृद्धको घर पुग्नुअघि एउटा अर्को पानीको बोतल मगन्तेहरू भएतिर फालिदिइन् सरिनाले । सबै बोतल भएतिर कुँदे । बोतल आफ्नो बनाउन उनीहरूबीच भएको प्रतिस्पर्धा र लुछाचुँडीले हड्डीका निम्ति कुकुरहरूले गर्ने झगडा पनि बिर्साइदिएको महसुस सरिना र वर्जितले गरे ।

‘घरमा को हुनुहुन्छ ?’ आँगनमा उभिएर सरिना भित्र चियाउँदै कराइन् । एक वृद्धा बाहिर निस्किन् र भनिन्– ‘नानी, हामी दुई मात्र छौँ घरमा । कहाँबाट पाल्नुभएको हो, बसौँ न’, पिँढीमा राखिएका कुर्सीहरूतिर देखाउँदै वृद्धाले भनिन् ।

कुर्सीमा बस्दै वर्जितले भने– ‘आमा, बालाई पनि बोलाउनुहोस् न कुरा गरौँ ।’

‘एकछिन पर्खनुपर्छ बाबु, उहाँ त पूजामा हुनुहुन्छ ।’

‘भर्खर पानीको बोतल लिएर घरमा छिर्नुभएको होइन र ?’

‘हो बाबु, पानीको बोतल प्राप्त हुनेबित्तिकै उहाँ भण्डारमा बोतल थन्क्याउनुहुन्छ र जलदेवीको आराधना गर्नुहुन्छ । सत्तरी बोतल पानी पुऱ्याइसक्नुभएको छ बूढाले । यो बस्तीमा सम्भवतः सबभन्दा बढी पानी सङ्ग्रह गर्ने नै हामी हौँ । अरूहरूसँग त मुस्किलले दश–पन्ध्र बोतल मात्रै होलान्, त्यही कुइरे–सुइरेले दिएका ।’ यसो भनिरहँदा वृद्धाको मुहार खुसीले चम्किएको थियो । उनले थपिन्– ‘बस्ती भन्नु नै के रह्यो र अब, हामी नौ घर त छौँ ।

‘पहिला कति घर थिए आमा यो ठाउँमा ?’– सरिनाले सोधिन् ।

‘पहिले तीन सय चवालीस घर थिए नानी, अहिले दुई वर्षदेखि हामी मात्र छौँ, अरू सबै बस्ती छाडेर हिँडे, बसाइँ गए’, बुढीयाले दुःखित हुँदै भनिन्– ‘कृष्णपुरलाई पहिले–पहिले स्वर्ग भन्थे सबैले । यहाँ भगवानको बास छ भन्ने विश्वास गरिन्थ्यो । बस्तीमा कुनै कुराको कमी थिएन । अपराध भन्ने कुरा यहाँका मानिसलाई थाहै थिएन । पचास वर्षअघि यहाँ प्रहरीथाना राख्न खोज्दा पनि हामीले त्यो स्वीकार गरेनौँ, किनभने यो अपराध नै नहुने ठाउँमा चौकी राखेर अनावश्यक खर्च बढाउनुभन्दा अन्यत्र जहाँ अशान्ति र असुरक्षा छ त्यहाँ लगेर स्थापना गर्नु भनी सबैले सुझाए, त्यसपछि सरकारी निर्णय फिर्ता भयो । अहिले यहाँ अपराध बढेको छ । पानी मात्र होइन उस्तैपरे पैसा नाथे पनि लुट्छन् यहाँ मान्छे, पहिले माग्छन् दिएनन् भने लुटिहाल्छन्, पानी त देख्नै हुँदैन ।’

‘यसरी पानीको अभाव भएको कति भयो आमा ?’– वर्जितले थप बुझ्न चाहे ।

घरभित्रबाट जवाफ आयो– ‘पाँच वर्ष भयो बाबु !’ यो वृद्धको आवाज थियो ।

बूढा बाहिर निस्किए । वर्जितले जिज्ञासा राखे– ‘बाजे, पूजा–आराधना सकियो त ?’

‘सकियो बाबु’, मुस्कुराउँदै वृद्धले भने– ‘एकहत्तर बोतल पानी पुऱ्याइसकेँ, पछि अशक्त भइयो भने कहाँबाट पानी ल्याएर पिउने ? भन्नुहोस् त बाबु भविष्यको बारेमा पनि सोच्नुपऱ्यो नि । यो सब जलदेवीको कृपा हो । हजुरहरूजस्ता मानिस आउनुहुन्छ, मैले त माग्नेबित्तिकै एक बोतल फालिहाल्छन् ।’

सम्वादको प्रक्रिया अघि बढाउँदै वर्जितले सोधे– ‘बाजे, पाँच वर्षदेखि यसरी चलेको छ भने त्यसभन्दा अगाडिचाहिँ कस्तो थियो नि यो ठाउँ ?’

‘बाबु, यो स्वर्ग थियो । पानीका सोह्रवटा मुहान यही पहाडमा थिए । तीनवटा नदीको शिर नै यो पहाड थियो । हाम्रा खेतहरू भिजाउँदै पानी तल बेसीतिर ओर्लन्थ्यो । बेसीमा पनि धेरै ठूलो खेती थियो, त्यहाँको खेतलाई हराभरा बनाएर खोला दक्षिणतिर बहन्थ्यो, बिस्तारै पानीको मुहान सुक्दै गयो र पाँच वर्षअघिसम्म दुईवटा मात्र मुहान बाँकी रहे, ती पनि नाम मात्रका । दुई वर्षदेखि एउटै मुहान पनि छैनन् यहाँ । खेतीपाती गर्न नपाएको त पाँच वर्ष नै बितिसक्यो । आकाशेपानी नदेखेको पनि पाँच वर्ष नै भयो यो ठाउँमा । दुई वर्षअघि यहाँका सबैजसो बासिन्दा बसाइँ सरे । समुद्र किनारतिर गएर बसोबास गर्ने भन्थे, कता लागे कुन्नि ! हामीचाहिँ मरे पनि यहीँ पुर्खाको थातथलोमै मर्छौं भनेर बसिरहेका छौँ ।’

‘तपाईंहरू चाहिँ कसरी गुजारा चलाउँदै हुनुहुन्छ त ? खेतीपाती पनि छैन, पानी पनि छैन..’– सरिनाले जान्न चाहिन् ।

‘हामी त मागेर चलाउँदै छौँ नानी’, वृद्धाले जवाफ फर्काइन्– ‘पहिले यहाँ गरिब भन्ने कोही थिएनन् । बिरामी पर्ने र औषधि खाने भन्ने त हत्तपत्त सुन्न पाइन्नथ्यो । सबै मानिस सधैं प्रशन्न रहन्थे । अरूहरूको सेवा र सहयोग गर्ने चाहना हरेकमा थियो । गाई, बाखाहरू दाम्लो फुकाएर छोडिदिएपछि चर्नका निम्ति जङ्गल जान्थे र बेलुका आफै घर फर्कन्थे । नानाथरीका चराचुरुङ्गीहरू जङ्लमा मात्र होइन यही घरवरिपरि पनि विभिन्न गीत गाउँदै घुमिरहेका हुन्थे ।’

‘हामीले बिजुली पनि यही बस्तीको तलबाट बग्ने छहरे खोलाबाट निकालेका थियौँ’, वृद्ध अघि सरे बोल्न ।

उनले पुराना कुराहरूको सुन्दर स्मरणमा आँखा चम्काउँदै भने– ‘पहिले–पहिले दाउराबाट खाना बनाउने चलन थियो । साठी वर्षअघि छहरेबाट विद्युत् उत्पादन सुरू गरेपछि गाउँमा दाउरा काट्न प्रतिबन्ध लाग्यो, हामी खाना बनाउन र उज्यालोको निम्ति बिजुलीकै प्रयोग गर्थ्यौं, आठ वर्षअघि पानी कम भएर पावरहाउस बन्द भयो, अब त चल्ने कुरै भएन । गाईबाख्रा पनि पानीको अभावमा नासिए । कति आफै मरे, कति हामी आफैले मारेर भोजन बनायौँ । वन–जङ्गलमा बाघ, भालु, मृग, घोरल आदि हिँड्थे, पानीको अभावसँगै तिनले पनि यो ठाउँ छाडे । चरा–चुरूङ्गीको आवाज ठ्याम्मै सुन्न छोडेको दुई वर्षभन्दा बढी भइसकेको छ ।’

‘पहिले यहाँबाट उत्तरतर्फ चाँदीझैँ टल्किएको हिमाल देखिन्थ्यो, अहिले सुक्खा चुचुरा मात्र देखिन्छन् । गर्मी भनेको हामीलाई थाहा थिएन, केही वर्षदेखि गर्मी पनि निकै बढेको छ, यहाँका मानिसलाई लामखुट्टेले त्यत्तिकै सताउने गरेको छ । जमिनमा झारपात उम्रिन छोडेको छ । ठूला रुखका पात र हाँगा हामीले नै काटेर र चुसेर सिध्यायौँ, अब चुस्न नसकिएका रुख मात्र बाँकी छन् । अब यो ठाउँमा पहिलेका कुनै चिज रहेन बाबु, हामी नौ घर छौँ, हामी पनि मरेपछि पूरै रित्तिने छ यो कृष्णपुर ।’ – बूढाले खुइय्य गर्दै आफ्ना कुरा टु्ङ्ग्याए ।

‘के कारणले यस्तो अवस्था आएको होला त बाजे ?’– वर्जितले बूढाको ज्ञानबारे थप चासो राख्दै प्रश्न गरे ।

‘बाबु, देवता रिसाएर नै यस्तो भएको होला, मान्छे रिसाए झै–झगडा र युद्ध हुन्छ, देवता रिसाए ठूलै अनिष्ट हुन्छ, मान्छे नासिन्छन् भन्थे, मलाई पनि त्यस्तै लाग्छ’– बूढाले निष्कर्ष निकाले ।

वर्जितले देवता रिसाएको होइन, प्रकृति रिसाएको हो बाजे भन्दै तिनलाई आश्वस्त बनाउने कोसिस गरे । उनले वृद्धलाई सम्झाउँदै भने, ‘हेर्नुस्, पृथ्वीमा मानिसको सङ्ख्या वृद्धिसँगै विज्ञान र प्रविधिको पनि निकै विकास भयो । विज्ञानको विकाससँगै मानिसको सुविधाका निम्ति अनेक प्रविधि प्रयोगमा आउन थाले । त्यसका निम्ति उद्योगधन्दा, कलकारखानाको विश्वमा बाढी नै आयो । वर्षेनी अर्बौं टन हरित ग्यास उत्सर्जन हुन थाल्यो, आणविक भट्टीदेखि मोटर, कार र रेफ्रिजेरेटरदेखि जेनेरेटरसम्मका सबै वस्तुबाट उत्सर्जन हुने अवाञ्छित ग्यासका कारण पृथ्वी तातेको हो बाजे देवता रिसाएर होइन ।’

वृद्ध चकित परे । उनले बडो इनोसेन्ट्ली जिज्ञाशा राखे, ‘होइन बाबु, हाम्रो यहाँ त कुनै पनि कलकारखाना, मोटर, गाडी केही पनि थिएन, तैपनि हामीले दुःख पायौँ, किन ? आखिर जङ्लको पनि हामीले संरक्षण गरेकै थियौँ ।’

‘हो, गाँठी कुरा यहीँ छ बाजे । हाम्रो कारणले मात्र पृथ्वी तातेको होइन । विकसित र औद्योगिक मुलुकका कारण पृथ्वी तात्ने स्थिति बनेको हो । उनीहरू समयमै सचेत भइदिएका भए यस किसिमको परिस्थिति सिर्जना हुने थिएन ।’

वर्जितको कुरा सुनेपछि वृद्ध गर्जिए– ‘ए ! त्यसोभए ठूला धनी र औद्योगिक देशहरूले गल्ती गरेका कारण पो हामीले यस्तो अवस्था व्यहोर्नुपरेको हो ? गल्ती गर्ने उनीहरू, सजाय भोग्ने हामी ?’ बूढाको ओठ थरथरी काँपे, मुठ्ठी पारेर मुक्का हानौँलाझैँ गरे ।

तर, यसरी क्रुद्ध हुनुको अर्थ नै के थियो ! बिग्रने जति बिग्रिसकेको थियो । अब केवल संहारको उत्कर्षको मात्र प्रतीक्षा हुँदै थियो । आफूसँग भएका दशमध्ये पाँच बोतल पानी बुढाबुढीको हातमा राखिदिँदै वर्जित र सरिना कृष्णपुरबाट बिदा भए । (क्रमशः)

यसअघिको खण्ड हेरौँ- 

‘ग्लोबल वार्मिङ’बारे चेतना जगाउने प्रण