कीर्तिमानी खेलाडी आयशाद्वारा दृष्टिविहीनलाई सहयोग

कीर्तिमानी खेलाडी आयशाद्वारा दृष्टिविहीनलाई सहयोग


कीर्तिमानी तेक्वान्दो खेलाडी आयशा शाक्यले दृष्टिविहीनहरूलाई खाद्यान्न सहयोग गरेकी छिन् । आयशाले कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ जना दृष्टिविहिनलाई सोही ठाउँ पुगेर ५० हजार बराबरको खाद्यान्न (राहत) हस्तान्तरण गरेकी हुन् ।

राहत स्वरुप १० केजी चामल, १ केजी दाल, १ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन, १ केजी भूजा, र ४ प्याकेट चाउचाउ आयशाले प्रत्येक दृष्टिविहीनलाई हस्तान्तरण गरेकी थिइन् ।

समय–समयमा दीन–दुःखीहरुलाई सहयोग गर्दै आएकी आयशाले योपटक कोराना माहामारीका कारण कष्टमय जीवन यापन गरिरहेका दृष्टिविहीनहरुलाई सहयोग गरेकी हुन् । उनलाई यस कार्यमा कीर्तिमानी खेलाडी तथा श्रीमान् दीपक विष्टले सहयोग गरेका थिए ।

नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दोहोरो स्वर्ण पदक जितेकी आयशाले हालै सरकारले प्रदान गरेको नगद पुरस्कारको केही अंश दृष्टिविहीनलाई सहयोग गरेकी हुन् ।

दृष्टिविहीनहरूलाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आयशाले भनिन्– ‘सबै खेलाडीले सहयोग गरिरहेका छन्, यस्तो विषम परिस्थितिमा मैले पनि सहयोग गर्नुपर्छ भनेर सहयोग गरेको हुँ ।’ यो शुरुवात मात्र हो भन्दै भविष्यमा अन्य क्षेत्रका असाहय र पीडितहरूलाई आफुले सक्दो सहयोग गर्ने आयशाले प्रतिबद्धता जाहेर गरिन् ।

दक्षिण एसियाली खेलकुद (साग)मा तीन स्वर्ण र एसियाली खेलकुद प्रतियोगितामा काश्य पदकसमेत जित्न सफल आयशा तेक्वान्दोको महिलातर्फ सबैभन्दा सफल खेलाडी हुन् । आयशाले हालै नेपालमा सम्पन्न १३औँ सागमा दुई सन्तानकी आमा भएर पनि दुई स्वर्ण जित्दै कीर्तिमान बनाएर प्रशंसा बटुलेकी थिइन् ।