हिमालपारि ‘फाइबर टु द होम’ सेवा

हिमालपारि ‘फाइबर टु द होम’ सेवा


नेपाल टेलिकमले हिमालपारिको जिल्ला मुस्ताङमा उच्चगतिको डाटा तथा भ्वाइस सेवा दिन शुरु गरेको छ । लकडाउनकै समयमा मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा शुरु भएको हो ।

लकडाउनको समयमा मुस्ताङ जिल्ला प्रवेशमा लगाइएको रोकका बाबजुद नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङको प्राविधिक समूहले जोमसोम पुगेर काम थालेको थियो । दूरसञ्चार कार्यालय बागलुङका प्रमुख केशव शर्माले गत सातादेखि शुरु भएको फाइबर तार विस्तारको काम सकिएको जानकारी दिए ।

साविकको धवलागिरि अञ्चलका बागलुङ, पर्वत र म्याग्दीमा यो सेवा यसअघि नै सञ्चालन भइसकेको थियो । कार्यालय प्रमुख शर्मा नेतृत्वमा बागलुङबाट चार प्राविधिक र मुस्ताङ कार्यालयमा रहेका थप चार जना प्राविधिकले जोमसोम र ठिनीगाउँमा रहेको झण्डै नौ किलोमिटर दूरीमा फाइबर विस्तार गरेका थिए । फाइबरको मुख्य लाइन विस्तारको काम सकिएको र आगामी जेठदेखि ग्राहकका लागि डिभाइस र लाइन वितरणको काम थालिने शर्माले बताए ।

स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवालासँगको छलफलपछि मुस्ताङ पुगेको प्राविधिक समूहले काम थालेको थियो । तत्कालका लागि मुस्ताङका ४०० ग्राहकले फाइबर टु दि होम सेवा प्रयोग गर्न पाउने शर्माको भनाइ छ । ताामाको तारमा प्रवाह भइरहेको डाटा तथा भ्वाइस भरपर्दो र कम गतिको भएको गुनासो आइरहेकाले लकडाउनको प्रवाह नगरी मुस्ताङमा काम गरिएको उनले प्रष्ट्याए ।

मुस्ताङका सरकारी तथा गैरसरकारी कार्यालय र होटल व्यवसाय उच्चगतिको इन्टरनेट प्रयोग गर्न नपाएका कारण सबैभन्दा धेरै मर्कामा थिए । फाइबरबाट आठ एबिपीएस गतिको इन्टरनेट सुपथ मूल्यमा उपलब्ध हुने भएकाले उपभोक्ताको गुनासो कम हुने टेलिकमले जनाएको छ । टेलिकम बागलुङका सुपरभाइजर केशव सापकोटा न्यूनतम रु ८०० प्रतिमहिना खर्च आउने यो प्याकेजबाहेक अझै उच्च क्षमताको इन्टरनेट उपभोक्ताको मागको आधारमा उपलब्ध गराउन सकिने बताउँछन् ।