निखिलको आग्रह- ‘मेरो आफ्नै स्थान छ, अस्वस्थ प्रतिष्पर्धामा नाम नमुछियोस् !’

निखिलको आग्रह- ‘मेरो आफ्नै स्थान छ, अस्वस्थ प्रतिष्पर्धामा नाम नमुछियोस् !’


  • राजन घिमिरे

स्पष्टवक्ताको रुपमा परिचित छन् अभिनेता निखिल उप्रेती । सिने करिअरको आरम्भदेखि नै चर्चाको चुलिमा रहँदै आएका कलाकार पनि हुन् उनी । आफ्नो उम्दा कर्म, लगनशील र इमानका साथ जिम्मेवारी निर्वाह गर्ने स्वभावका कारण निखिललाई सिनेक्षेत्रका सबैले मन पराउँछन् । नेपाली सिनेमा बजारलाई हराभरा पार्न उनको उपस्थिति वा वजनदार सहभागिताले जुन भूमिका निर्वाह गरेको छ, यसलाई नेपाली सिनेप्रेमी तथा यो क्षेत्रले अनदेखा गर्न सक्दैन ।

यी कुशल अभिनेता लगभग दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा लागिपर्दै आएका छन् । कहिले कलाकार त कहिले निर्माताको रूपमा यिनको दमदार निरन्तरता र योगदानलाई कम आँकलन गर्न मिल्दैन । पछिल्लो समय चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्ष पदमा अन्य चलचित्रकर्मीहरू जस्तै दौडधुपमा आफ्नो पनि नाम रहेको भनी मिडियाबाजी भएकोमा चाहिँ यी अभिनेताले असन्तुष्टि र गुनासो प्रकट गरेका छन् ।

विकास बोर्डको अध्यक्ष पद हासिल गर्ने अस्वस्थ दौडमा आफ्नो कुनै संलग्नता नरहेको मात्र नभई कुनै सरोकार नै नराखेको निखिलको भनाई छ । मैले कहिल्यै पनि कुनै पदप्राप्तिको लाइनमा आफूलाई उभ्याएको छैन र चाकडी-चाप्लुसीका साथ पदका लागि दौड़धुप गर्ने कुनै सोच बनाएको पनि छैन, बनाउँदिनँ पनि’, निखिलको प्रष्टोक्ति छ । ‘यतिबेला बजारमा चलेका सब गलत हल्ला हुन् । म पदको भोको र लालची होइन । यो लाइनमा मेरो नाम नमुछियोस्’, निखिलको आग्रह छ ।

जीवनमा धेरै गर्नु छ, अगाडि बढ्नु छ भन्ने सोचका धनी निखिल चलचित्र कर्ममा नयाँ सोच र नौलो प्रस्तुति भित्र्याउने कलाकारको रूपमा पनि चिनिन्छन् । त्यसो त, आफूले कतै व्यक्त नगरेको र इच्छा जाहेर गर्ने कल्पनासम्म पनि नगरेको बोर्डको अध्यक्ष पदसँग नाम जोडिएर आउँदा उनी आश्चर्यचकित मात्र नभई दुःखी पनि बनेका छन् । प्रष्ट पार्दै निखिल भन्छन्, ‘चलचित्र विकास बोर्डको अध्यक्ष पदमा कैद भएर म किन बस्नु ? यो उर्जाशील समयको महत्व मैले बुझेको छैन र ? मेरो नाम र चर्चा कसले किन ल्यायो म छक्कै परेको छु ।’

चलचित्र विकास बोर्डको अध्यक्षको लाइनमा रहेको भन्ने समाचारहरु सार्वजनिक भएपछि घटना र विचारसँग कुरा गर्दै निखिलले भने, ‘चलचित्र विकास बोर्ड वास्तवमा त्यति भाग्यमानी पनि छैन कि जसले म जस्तो अध्यक्ष पाओस् ।’ उनको यो अभिव्यक्ति भट्ट सुन्दा दम्भपूर्ण जस्तो लाग्न सक्छ, तर उनले यो घमण्ड प्रकट गर्न भनिरहेका थिएनन् । त्यहाँको जिम्मेवारी लिनु भनेको एउटा निश्चित दायरामा आफूलाई कैद गर्नु या सीमित राख्नु हो भन्ने प्रष्ट बुझेका उनले आफ्ना आगामी योजना विस्तृत रहेको र बहुआयामिक भई काम गर्ने सोचका कारण यस्ता पदमा बाँधिन नसक्ने जिकिर गरे । बोर्डमा गएर आफ्ना बहुरंगी सपनालाई विफल तुल्याउन नसक्ने भन्दै उनले स्वाभिमानमा बाँच्न चाहने व्यक्तिले चाकडी र अस्वस्थ प्रतिष्पर्धामा लागेर समय खेर नफाल्ने बताए ।

उनले दोहोर्याएर आग्रह गरे- ‘यस्तो अस्वस्थ भीडमा मेरो नाम कतै नमुछियोस्, बोर्डको पदभन्दा निखिलले कमाएको नाम, इज्जत, सम्मान र छवि नै ठूलो छ । मेरा दर्शक र शुभचिन्तकहरूबाट पाएको सम्मान नै मेरो लागि ठूलो पद हो ।’