जुन सपनाले युरोपसम्म डोहोरिएँ र आज जे भोगिरहेको छु…


■ अर्पण तिवारी,
स्पेन



म स्याङ्जामा जन्मिएर त्यहीँ हुर्किएको युवा हुँ । सानो छँदाको दुःख–अभाव त्यति याद आउँदैन, सायद धेरै नै दुःखमा हुर्किएर होला । सानैमा बाबाको निधन र त्यसपछि बितेका कालखण्डका जति कहरहरू सम्झिने गर्छु, त्यो भन्दा दुःख त अब कोरोनापछिको भविष्यप्रति लागिरहेको छ ।

सानोमा गुरुङ गाउँमा हुर्किंदा लगाइसकेको पुराना मोजामा कागज र कपडाका टुक्रा हालेर भकुण्डोको रूप दिइ फुटबल खेल्दै गर्दा सुनिएको फुटबलको पर्यायवाची बनेको शहरमा हाल म छँदा पनि त्यो बेला ती शहरको नाम सुनेर जति आनन्द आउँथ्यो, अहिले तिनै शहरहरूमा जीवनयापन गरिरहँदा पनि त्यो बेलाको आनन्द नै बेस लाग्न थालेको छ । आमासँग सधैजसो झगडा हुने विषय आज आएर महत्वपुर्ण लाग्न थालेको यो बेला कोरोना कहरले ती महत्वपूर्ण विषयलाई भताभुङ्ग पार्न थालेको छ । जसोतसो ओशोलार्ई युट्युबमा सम्झिँदै होसमा पागलजस्तै साँझको एक घण्टाको नचाइले फेरि मन थामिएसँगै उमङ्ग, स्थिरताको बासनासहित सुन्दर भविष्यतर्फ मन फर्किन्छ ।

सात कक्षापछिको सहर बसाइ, एसएलसीसम्मको विद्यालय–जीवन आफ्नै क्षेत्रमा खेल्दै समय बितेको थाहा भएन । ‘प्लस टु’पछि बाहिर पढ्ने रहरसँगै ब्याचलर पनि सकियो । ब्याचलर सकिँदा नसकिँदै आफूलाई चाहिने खर्च जुटाउनतिर लाग्नुपर्ने बाध्यकारी अवस्था । सङ्र्घष गर्दै मास्टरसम्मको अध्ययन यात्रामा आइपुग्दा राष्ट्रिय स्तरमा स्थापित बैंकमा यात्रा थालिसकेको थिए । आफ्नो यो बैंकिङ यात्रा नै सुनौलो भविष्य हो भनि लाग्दै गर्दा यो दूरी लामो समयसम्म सयर गर्न सकिन । बैंकबाट पाउने रकमले मन थामिएन । युरोप, अमेरिका जस्ता शब्दहरूले मनमा बेस्सरी आँधिबेहेरी ल्याउन थाल्यो । साथीहरूसँगको बसाइमा १८ देखि २० लाखसम्म लगाएर युरोप अमेरिका गएका कथाहरू सुन्दै गर्दा मनमा उत्सुकताका साथ ती देशहरूमा हाँकिने रहर समुन्द्र छालको बेगभन्दा बढि मनमा पर्न थाल्यो ।

बैंकमा पनि राम्रोसँग अगाडि बढिरहेको अवस्था थियो । घरपायक शाखा मिलाउनको लागि सेन्ट्रल अफिसको मानव संसाधन विभागमा शाखा सरुवाको निवेदन हालेसँगै घरमा बिहान बेलुका आमासँगै बसेर श्रीमतीले पकाएको खाजा, खाना घरमा नै आएर खान पाउने सपना सन् २०१८ मा अचानक पासपोर्टमा लागेको जर्मनीको भिसासँगै छताछुल्ल भयो ।

जब जर्मनीको बर्लिनमा बार्सिलोनाको लागि विमानको व्यग्र प्रतीक्षा गरिरहेको थिए त्यो समयमा जम्मा भएका मनका लड्डु सायद म जीवनभर पनि खाएर सक्दिनँ होला । तर जब म आफै केही गर्नुपर्छ भनी बाहिर निस्किएँ तब नेपालबाट देखिने सपनाको युरोप र यथार्थमा देखिने युरोपको नमिठो अमिलो तीतो स्वाद थाहा पाउन थालेँ ।

भिसा नलाग्दासम्म युरोपको भुत लागेर असरल्ल परेको मन भिषा लाग्ने दिन अचानक खल्लो बन्यो । एक वर्ष पनि वैवाहिक जीवन नबिताएको अवस्थाले झन मन पोल्न थाल्यो । युरोप गइसकेपछि छिट्टै कार्ड बन्ने, भविष्य सुनौलो हुने नजिकैको क्षितिजले केहि राहत दियो । दिदीले त्यही नेपालमा केही गर्न सके नेपालमा नै राम्रो छ भन्दै गर्दा त्यही विषयलाई लिएर आमासँग गरेको त्यो झगडा आजको यस कोरोना कहरको जेलजस्तो बसाइमा दिनदिनैजसो सम्झेको छु ।

ऋण शाखामा काम, सबै ऋणीहरूसँगबाट ब्याजहरू संकलन गरिसक्नुपर्ने बाध्यकारी अवस्था सँगै विदेश आउने समयमा घर नपसी काठमाडौ हिँडेको सम्झिँदा अहिले मन बेस्सरी पोल्छ, भक्कानिएर रुन आउँछ । महत्वाकाङ्क्षी युरोप सपना र युरोप कहरले अहिले थोरै भए पनि केही कुरा सिकाएको छ ।

घरमा काम गर्नुपर्दा कोदाली काँधमा राख्दा मान्छेले देख्लान् भनेर चोरबाटोको हिँडाइ अनि घरमा ग्यास सकिदा अर्काे मान्छेलार्ई ग्यास बोकाइ आफु हात हल्लाउँदै घर गएको त्यो क्षण गलत रहेछ भन्ने बोध गराएको छ । हामी ठुला हौँ हामीले सानो काम गर्नु हुँदैन काम गरे घटिन्छ अर्थात सानो भइन्छ भन्ने अन्धविश्वास मनबाट सफाचट भएको छ । कुनै पनि काम सानो–ठुलो हुँदैन, मान्छे सानो कामले होइन विचारले हुन्छ भन्ने महत्वपुर्ण सिकाइले जीवनमा केही आशा भने जगाएको छ ।

अफिसमा पन्ध्र दिनको बिदा स्वीकृत गरी जर्मनी उडेको थिएँ । पन्ध्र दिनपछिको बिदा सकेपछि नेपाल नै फर्केर काम गर्न सुझाएको मामाको त्यो अमृतवाणी आज कोरोना कहरको यो बसाइमा दिन दिनै मानसपटलमा नाच्न थालेको छ । जब जर्मनीको बर्लिनमा बार्सिलोनाको लागि विमानको व्यग्र प्रतीक्षा गरिरहेको थिए त्यो समयमा जम्मा भएका मनका लड्डु सायद म जीवनभर पनि खाएर सक्दिनँ होला ।

बार्सिलोना आइसकेपछि भौतिक रूपमा मैले कत्ति पनि विचलित हुन परेन । दिदी यहीँ भएकोले मलार्ई कुनै किसिमका भौतिक तथा आर्थिक समस्याले पिरोलेन । तर मसँगैका साथीहरूको अवस्था देख्दा मनमा निकै ठुलो आँधी आउन थाल्यो । बार्सिलोना आएर भाषा स्कुल तथा शारीरिक सुगठनका स्कुल धाँउदा ६ महिना बितेको चाल पाइनँ । सो अवधिसम्म यहाँको भाषा, रहनसहन, बाटोहरू, मेट्रो, ट्रेन, बस, लाइब्रेरी, हस्पिटलको बारेमा सकेजतिको जानकारी बटुलेँ । ६ महिनापछिको बार्सिलोनाको बसाइपछि बाहिर निस्की काम गर्ने निर्णय गरेँ । घरबाट अहिलेसम्म धेरै समय बाहिर ननिस्केको म विदेश आउँदासम्म पनि दिदीसँगै भएकोले त्यो बेलासम्म ‘होमसिक’को कुनै असर भने देखिएन । दिदीसँग नभइ जब म आफै केही गर्नुपर्छ भनी बाहिर निस्किएँ तब नेपालबाट देखिने सपनाको युरोप र यथार्थमा देखिने युरोपको नमिठो अमिलो तीतो स्वाद थाहा पाउन थालेँ ।

हामीले प्राप्त गरेको कोरा, प्रयोगात्मक पद्धति नभएको शिक्षाबाट प्राप्त सर्टिफिकेटहरूको यहाँ कुनै मुल्य रहेनछ । त्यसमाथि अङ्ग्रेजी नचल्ने परिपाटीले यहाँ काम पाउन निकै मुस्किल पर्दोरहेछ ।

आफ्नो पढाइ र अनुभव त शुन्य जस्तै तब लाग्यो जब आफू कामको लागि निस्किएँ । हामीले प्राप्त गरेको कोरा, प्रयोगात्मक पद्धति नभएको शिक्षाबाट प्राप्त सर्टिफिकेटहरूको यहाँ कुनै मुल्य रहेनछ । त्यसमाथि अङ्ग्रेजी नचल्ने परिपाटीले यहाँ काम पाउन निकै मुस्किल पर्दोरहेछ । मैले थोरै भए पनि भाषाको ज्ञान हासिल गरेकोले एउटा रेष्टुरेन्टमा जसोतसो काम पाएँ, जुन बार्सिलोनाको बसाइबाट टाढा थियो । काम थालेको दिन आमा, मामा, दिदी, दाइ र श्रीमती सम्झेर बेस्सरी रोएँ । पछाडि पोछा लगाउँदै थिएँ, साहुले कोकालात भन्ने कोल्ड ड्रिङ्क्स लिएर आए र मेरो ढाड सुम्सुम्याउँदै आँखामा आएको आँसु पुछिदिँदै भने– ‘भाइ, यो वास्तवमा युरोप हो, यहाँको कथा आजबाट तिमीले सुरु गरेका छौै । तिमीले त शुरुमै मजस्तो मान्छे पाएका छौ, आफुलाई भाग्यमानी ठान, किनभने मैले मेरो पालामा कोही यस्तो सहानुभूति प्रदान गर्ने मान्छे पाएको थिइनँ । सुत्नको लागि अन्य व्यवस्था नभएर बंैकको पेटिलार्ई आफ्नो घर सम्झिन्थेँ, होटलमा शुक्रबार, शनिबार र आइतबारका दिन एकदम भीड हुन्थ्यो । किचनमा प्लेटका चाङ्ग भरिएपछि प्लेट माझ्न पाउँथेँ, त्यो पनि घण्टाको आधारमा । म त्यसैलाई काम भनी खुसी हुन्थेँ ।’

त्यसो त बार्सिलोना छँदा नै एकजना साथीले दिनमा चौध घण्टा काम गर्दा एकदम थोरै पारिश्रमिक, फ्रिज उचाल्दा छातीमा लागी घाइते बनेर छातीमा लगाएको त्यो टाँकाको खत देख्दा मन त्यो बेला नै अमिलो र धमिलो भैसकेको थियो ।

बिहान १० बजेबाट रातिको १२–१ बजेसम्म लगातार १४–१५ घण्टा काम गर्न अब मलाई सामान्य लाग्न थालेको थियो । यत्तिकैमा एकदिन बिहान घरबाट आएको फोनमा बोल्दै गर्दा काममा जान ५ मिनट जति ढिला भएको थियो । काम गर्ने बारको साँचो मैसँग हुन्थ्यो । त्यहाँ पुग्दा ग्राहकहरू कफीको ब्यग्र प्रतीक्षामा रहेछन्, त्यो कुरा साँझ साहुको कानसम्म पुगेछ । यही कारणले त्यो पहिलो जागिर गुम्न पुग्यो । साहुसँग अनुनय विनय गरेँ, बिन्ती बिसाएँ, तर त्यो ब्यर्थ भयो । नेपालमा विद्युतीय हाजिरीमा हाजिर लगाउँदा पाँच मिनटसम्म ढिला हुँदा उक्त मेसिनले हाजिर स्वीकारेको बेस्सरी सम्झिएँ । युरोपमा थ्री–डब्लु (वाइफ, वर्क, वेदर) को कहिले भर हुँदैन भाइ भनेर भनेको एक जना दाइलाई धित नमरुन्जेल सम्झेँ । साहुले नै सुनाएको साहुको कहानी अब आफ्नै आँखासामुन्ने आयो । काममा जान नपाएपछि दिनभर पार्कमा रुमल्लिएर साँझ साबादेल भन्ने बैंकको पेटीमा कार्टुनको डसना बनाएर च्यादर ओढी सुत्न के लागेको थिएँ सिमेन्टको चिसोले शरीर अमिलोले चिर्दा जस्तै चिऱ्यो । बैंकमा काम गर्दा एसीमुनिको हावा सम्झिँदै त्यो रात बितेको याद नै भएन । कामको अनुभव, भाषाको ज्ञानले गर्दा बैंकको पेटीको बसाइ लम्बिएन । अर्को दिन नै काम पाएँ । कामको लागि पहिलाभन्दा धेरै पारिश्रमिक र कामको समय थोरै पाएँ । यसले मनमा थोरै राहत महसुस गरायो ।

काम थालेको दिन आमा, मामा, दिदी, दाइ र श्रीमती सम्झेर बेस्सरी रोएँ । पछाडि पोछा लगाउँदै थिएँ, साहुले कोकालात भन्ने कोल्ड ड्रिङ्क्स लिएर आए र मेरो ढाड सुम्सुम्याउँदै आँखामा आएको आँसु पुछिदिँदै भने– ‘भाइ, यो वास्तवमा युरोप हो, यहाँको कथा आजबाट तिमीले सुरु गरेका छौै । तिमीले त शुरुमै मजस्तो मान्छे पाएका छौ, आफुलाई भाग्यमानी ठान ।

काम राम्रो चल्दै थियो फेरि अचानक एकदिन काममा रकम अभिलेखनमा अन्तर आयो, जुन मैले हेर्ने गरेको थिएँ । नगद मौज्दात र बिक्री विवरणमा आएको अन्तरले साहुले मप्रति शङ्का गरे । आफ्नो छोराले नगद मौज्दात चलाएको र त्यो प्रविष्ट नगरेकोले सो अन्तर आएको उनको छोराको स्वीकारोक्ति पछि मेरो इमान्दारिताले न्याय पाएको महसुस गरेँ । महिना बित्यो, महिनाको अन्तिम गते नै साहुले भनेजति रकम हातमा थमाइदिँदा एक साथीलार्ई झलझली सम्झिएँ, जसलार्र्ई काम गरेको ठाउँमा चार महिनादेखि कामको पैसा नदिएर मसँग कोठाभाडाको लागि पैसा सापट लिगेका थिए । मनमनै भगवानलार्ई बेस्सरी पुकारेँ । आमालार्ई सम्झेँ ।

मनमा एक किसिमको खुशी, गुमिसकेपछि प्राप्त गरेको नयाँ जागिरको पहिलो कमाइ, त्यो पनि बढ्दो रुपको । हामी घरमा चार जना बस्ने गर्थ्यौं । एक जना पाकिस्तानी, दुई जना नेपाली र एक जना मोरक्की । चारैजना एकै घरका सदस्यजस्तो भैसकेका थियौँ । कुन सामान कहाँ हुन्थो लगभग प्रायः सबैलाई थाहा हुन्थ्यो । बैंकखाता खोलिसकेको थिइनँ । पैसा नर्मल टेवलको ड्रअर वा सिरानीमुनि कतै राख्ने गर्थें । हिजोको त्यो खुशी अर्को दिनको साँझसम्म पनि टिक्न सकेन । साँझ आएर राखेको ठाँउमा हेर्दा त्यहाँ पैसा थिएन । साथीहरूलार्ई सुनाएँ तर यसले यस्तो काम गऱ्यो भन्ने आँट आएन । बैंकमा ट्रेनी पिरियडमा गलत इन्ट्रीका कारण पचास हजार गुमाउँदाको पीडाभन्दा परदेशमा आएर दिनरात नभनी काम गरेर कमाएको केही रकम गुमाउँदा ज्यादा पीडाको अनुभव गरेँ ।

रकम हराएको साहुले थाहा पाए । केही रकम आफुले यो महिनामा थपिदिने साहुको भनाइले मन केही हल्का भयो । अब म साहुको प्रियपात्र जस्तै भैसकेको थिए । रकम प्रविष्टको काम मेरो जिम्मामा थियो । १ सय २० कुर्चीहरू भएको रेष्टुरेन्टमा पाँच जना वेटर, सात जना किचनमा र तीन जना खाना लिएर जाने काम गर्थे । मेरो काम अर्डरअनुसार टेबल बिल तयार गर्नु र खाना बाहिर पठाउनु थियो । काम गर्ने समयावधि पनि घटेको थियो, तलब पनि आफू सन्तुष्ट हुने गरी बढेको थियो । पछिल्लो दुइ वर्षबाट जीवन केही सरल भएको थियो । अचानक आएको यो कोरोना कहरले जीवनमा फेरि एक किसिमको सन्नाटा वा अँध्यारो ल्याएको छ ।

विश्वजगतमा एकछत्र फैलिएको यो कोरोना भाइरस सम्झेर एकदमै मन मरेर आएको छ । विस्तारै सरलतातर्फ उन्मुख मजस्ता लाखौँको सपनामा तुषारापात भएको छ । अहिले म स्पेनमा छु । चीनबाट फैलिँदै इटाली पुगिसकेको भाइरस स्पेनमा ३१ जनवरी २०२० मा नै भित्रिसकेको थियो । २४ फेब्रुअरी २०२० मा समुदाय स्तरमा फैलियो । १३ मार्च २०२० मा स्पेनका ५० ओटा प्रान्तमा फैलिएको घोषणासँगै यहाँको सरकारले १४ मार्च २०२० देखि लागु गरेको लकडाउनले फेरि जीवनलार्ई एउटा बन्द कोठामा सीमित गरेको छ । बन्द कोठामा थुनिएसँगै, सरल बन्दै गएको जीवन पुनः जटिल बन्ने प्रायः निश्चित छ । जन्मकैद सजाय पाएको कैदीको मनमा उठ्ने नैराष्यता जस्तै मन पुनः सिथिल बनेको छ ।

पछिल्लो दुइ वर्षबाट जीवन केही सरल भएको थियो । अचानक आएको यो कोरोना कहरले जीवनमा फेरि एक किसिमको सन्नाटा वा अँध्यारो ल्याएको छ । विश्वजगतमा एकछत्र फैलिएको यो कोरोना भाइरस सम्झेर एकदमै मन मरेर आएको छ । विस्तारै सरलतातर्फ उन्मुख मजस्ता लाखौँको सपनामा तुषारापात भएको छ ।

यहाँको सरकारले अप्रिल २६ सम्मको लकडाउन घोषणा गरेसँगै सो कार्य मे ११ सम्म थप्ने गृहकार्य गरिरहेको समाचारहरू आएका छन् । आफुसँग भएको नगद मौज्दात विस्तारै सकिने क्रममा छ । स्पेनका प्रायः सबै शहरहरूमा काम पाउने भनेको होटल व्यवसायमा नै हो । यहाँका ठुला शहरहरूलार्ई बार तथा रात्रिकालीनि शहर भन्दा पनि हुन्छ । यहाँका प्रत्येक घरका सटरहरू बिराएर लगभग एउटा बार छन् । शहरमा रहेका हामीहरू जस्ताकोे सपना पूरा गर्ने पात्र अन्तर्राष्ट्रिय पर्यटकहरू नै हुन् । ठुला शहरमा खुसी ल्याउने सबै विदेशी पर्यटक मात्र हुन । यिनीहरूको आगमनविना यहाँको अर्थतन्त्र लगभग शुन्य हुन्छ । यहाँ कम्पनीरूमा काम खासै पाइँदैन । मार्च १४ पछि लगभग ९ लाखले आफ्नो रोजगारी गुमाइसकेका छन् । वोल्डोमिटरमा हेर्दा देखिने कोरोनाको मृत्युदर र संक्रमण दरको फैलावटले भविष्यप्रति मनमा अनिश्चितता मडारिदिएको छ ।

यो कोरोना कहर कहिले रोकिन्छ त्यो निश्चित छैन । त्यसपछि हालै जागिर गुमाएका ९ लाखसँग प्रतिष्पर्धा गरेर काम पाइएला कि नपाइएला कुनै टुङ्गो छैन । अन्तर्राष्ट्रिय जगतमा कोरोना कहर साम्य नभएसम्म यहाँ कामको वातावरण नहुने निश्चित छ । यो अवस्थामा आफ्ना सपनाहरू पूरा गर्न संर्घषको मैदानमा कहाँबाट कसरी लाग्ने हो त्यो बाटो झनै अँध्यारो छ ।

आज घरबाट ननिस्केको एक महिनाभन्दा बढि भैसकेको छ । २४ घण्टा घरमा बस्नुपर्ने बाध्यकारी यस अवस्थामा घरको कौशीबाट निलो आकाशमा मडारिइरहेको कालो बादल जस्तै जीवन निराश लाग्न थालेको छ । अबका आउँदा ३ देखि ५ वर्षसम्म अवस्था सामान्य स्थितिमा आउन मुस्किल देखिन्छ । दिनरात मिहेनत गरेर अलि सरल हुँदै गएको जीवनमा आएको यो सुनामीले मनमा एक्कासी ठुलो अस्थिरता ल्याएको छ । रोक्न नसकिने सामुन्द्रिक छालजस्तै छाल एक किसिमले मन–मष्तिष्कमा छचल्कीरहेको छ । मनमा पालुवासरी मौलाएका सपनाहरू कतै फुल्न फक्रन नपाउने हुन् कि भन्ने डरले बेस्सरी चिमोटेको छ । आशा छ, संसारमा ती कोरोनाका जडहरू छिट्टै हटेर जानेछन्, र जीवन सहज बाँच्ने सपना फेरि फर्किएर आउने छन् ।

[email protected]

प्रतिक्रिया