सरोजले अमेरिकाबाटै भने- ‘मेरो कुरा काट्नेहरू काटिरहनु !’

सरोजले अमेरिकाबाटै भने- ‘मेरो कुरा काट्नेहरू काटिरहनु !’


■ राजन घिमिरे

नेपाली कलाकारिता क्षेत्रमा योगदान, त्याग र जीवनको आधा उमेर बिताउने थोरै कलाकारहरू मध्येमा पर्छन् सरोज खनाल । उनले नेपाली कलाकारिता क्षेत्रमा दिएको टेवा, उनको उठबस र उनले फटाएको भोटो कमै कलाकारहरूले फटाएका छन् । नेपाली रङ्गमञ्चदेखि टेलिचलचित्र र भिडियो चलचित्र हुँदै ठूलो पर्दाको चलचित्रसम्मको सरोजको फड्को र निरन्तरतालाई सहज रूपमा आँकलन गर्नु कलाकारिता क्षेत्रमाथिकै अपमान हो भन्दा फरक नपर्ला ।

तर, आज काम र योगदानले भन्दा पनि सस्तो चर्चा र आधुनिक प्रविधिको भरपूर प्रयोग गरेर केही समय हिट कहलिएका दुई–चार जना कलाकारहरू सरोजको दोहोलो काट्न हात धोएर लागेको पाइन्छ । कारण ? उनी अमेरिका गए रे…! उनीसँग अमेरिकी पासपोर्ट र पिआर रहेछ रे…।

यतिबेला विश्व नै कोरोनाको मारमा परेको छ । त्यसमाथि अमेरिका त झनै आक्रन्त छ यसबाट । उनको परिबार अमेरिकामा नै छन् । आफ्नो परिवारलाई भेट्न उनलाई अमेरिकी सरकारले यस्तो समयमा अमेरिका जान उपलब्ध गराएको अवसरको सदुपयोग गरे उनले । के बिगारे त सरोजले ? कि यता उनले कसैलाई धोका दिए या गुमराहमा राखे ? उनी भागेको होइनन्, परिवार भेट्न गएका हुन् । यस्तो बेलामा को त्यो मूर्ख अभिभावक होला जो परिवारसँग छुट्टिएर अलग बस्न सक्छ ?

सरोजले पनि परिवारको साथ चाहे र उनको परिवारले पनि उनको साथ खोज्यो । के यो कुरामा वितण्डा नै मच्चाउनु पर्दथ्यो त ? कुरा बुझ्न सकिएन । प्रवाशमा आफ्नो परिवार अप्ठेरोमा परेको समयमा रहंदा यता सरोज कसरी एक्लै मन बुझाएर बस्न सक्छ न त ? किन उनीमाथि आपत्तिजनक शङ्का, उपशङ्का, बाण र ब्यङ्ग्य हानिन्छ ? सरोज उडेको हवाइजहाजमा अरू पनि नेपाली थिए त ? उनिहरू चाहिँ राष्ट्रप्रेमी, राष्ट्रभक्त र स्वाभिमानी ? सरोज खनालचाहिँ खराव र फटाहा ? यस्तो ब्यक्तिगत लान्छना र गलत ब्यवहारले हामी कस्तो भाषा र संस्कारको विकास गरिरहेका छौँ ?

जुन बेला लामो प्रवासी जीवनबाट सरोज नेपाल फर्किए तबदेखि नै उनलाई विभिन्न भाषा र शैलीबाट लखेट्न र घोचपेच गर्न शुरू गरिएको थियो । उनको ब्यक्तिगत जीवनका कुरामा डढेलो लगाउन खोज्नेहरूलाई यो थाहा भएन कि त थाहा भएर पनि बुझ पचाए, नेपाली कलाकारिता क्षेत्रलाई सरोजले कति हराभरा बनाएका थिए भनेर ।

सरोजले नेपाली कलाकारिता क्षेत्रमा विगत तीन दशकभन्दा बढी समयदेखि पुऱ्याएको योगदान र उनको उपस्थितिको कतै चर्चा छैन । उनले प्रवासमा दुःख गरेर कमाएको धन नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दा त्यसबाट सयौँले पाएको राजगारीको गाइँगाइँसम्म हामी गर्दैनौँ, गर्छौं त पिआर र नागरिकताको मात्र । यही लगानी कुनै खैरो कपालवालाले गऱ्यो भने त्यसलाई पूजा गर्न हामी हानथाप गर्छौं तर, एउटा नेपालीको छोरोले गर्दा उसको प्रशंसा गर्नु सट्टा उसलाई हतोत्साहित बनाउँदै प्राविधिक पाटो केलाउंनतिर लाग्छौँ । ‘मलाई अचम्म लाग्छ । किन मप्रति यस्तो द्वेष र राग ? के परिवार अप्ठेरोमा पर्दा म भेट्न जान नहुने ? यसमा मेरो के गल्ती भयो ? मैले बुझ्न सकेको छैन’– अमेरिकाबाटै सरोजले भने ।

नेपालमा आफ्नो बारेमा चलेको र चलाइएका हल्लाबारे सरोज यतिबेला खिन्न भएका छन् । केही कमाएको धन नेपालमै लगानी गर्छु भनेर त्यतिबेला सरोज नेपाल आएका थिए र उनले विभिन्न क्षेत्रमा लगानी पनि गरिरहेका छन् । अमेरिकाबाट आएपछि उनले नेपालमा ब्यापारसँगै कलाकारितामा पनि निरन्तरता दिइरहेका छन् ।

परिवार भेट्न र दुःख परेको समयमा परिवारका साथ समय बिताउने चाह कसलाई हुँदैन ? त्यसमाथि सरोज अभिभावक हुन् । त्यो अभिभावकत्व निर्वाह गर्नु सरोजको कर्तब्य हो– ‘म मेरो परिवारलाई जीवनकै ठूलो सम्पत्ति, शान र मान ठान्छु । यस्तो अवस्थामा मलाई कुन नैतिकताले परिवारबाट टाढा रहन दिन्छ भन्नु त ? मेरो यसपटकको अमेरिका यात्रालाई विभिन्न शङ्का, आरोप र दोषबाट हेर्नेहरूलाई केही भन्दिनँ । सबैको जय होस् । म परिवारको साथ यस्तो अवस्थामा रहन पाएको छु । यो नै मेरो लागि ठूलो कुरा हो । जसले जे–जे भने पनि भनुन् । सबैको जय होस्’– सरोजले अनलाइनमा हामीसँग कुरा गर्दै भने ।