दामोदर अर्याल
विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नको लागि गरिएको बन्दाबन्दी (लकडाउन)को कारण घरमै लामो समय बिताउँदा बालबालिकाको मनस्थितिमा कोरोना भाइरसको त्रास परेको हुनसक्छ । यस्तो त्रासदीबाट बालबालिकालाई जोगाउनु अत्यन्त जरुरी हुन्छ । जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मक रूपमा व्यस्त बनाउने भन्ने आम अभिभावकमा चासोको विषय बनेको छ ।
कोरोना भाइरसका विश्वव्यापी सङ्क्रमणबारे जे यथार्थ या सत्य–तथ्य छ त्यो बालबालिकाहरूलाई भनिदिने र आधिकारिक नभएका सञ्चारमाध्यममा आउने अनावश्यक समाचार र अफवाहबाट बालबालिकाहरूलाई जोगाउनु पर्छ । स्वभावैले बालबालिकाहरू चन्चले, छुकछुके र उत्सुकताका साथ नयाँ कुरा जान्ने जिज्ञासु हुन्छन् । यस्तो अवस्थामा अभिभावकहरूले उनीहरूलाई गम्भीरताका साथ कुरा बुझाएर आफ्नो नियन्त्रणमा राख्न सक्छन् ।
कतिपय अभिभावकहरू बालबालिकाको उक्त जिज्ञासालाई तनाव सम्झने र चर्को स्वरमा उनीहरूलाई हप्काउने गरेका पनि पाइन्छ । बाल मस्तिष्क नयाँ कुरा जान्ने र बुझ्ने क्रियामा लागेको हुन्छ । घरमै लामो समय बिताउँदा बालबालिकाका पर्ने परिवेशमा के–के कुराहरू गर्न हुन्छ र के–के कुरा गर्न हुँदैन भन्ने उसलाई ज्ञान हुँदैन । विषम परिस्थितिको बारेमा बोध गराउने र सम्झाउने दायित्व अभिभावकको नै हो । यस्तो अप्ठ्यारो परिस्थितिको बारेमा सम्झाउँदै नसम्झाई बालबालिकाप्रति झर्कनु, चिच्याउनु कुशल अभिभावकको दायित्वभित्र पर्दैन ।
अभिभावकले आफ्ना कुरा लादेर बालबालिकाको मस्तिष्कलाई नियन्त्रणमा राख्न उपयुक्त हुँदैन । लामो समय एकान्तमा बस्दा वा महामारीका समयमा मानिसमा तनाव हुने, बाहिर जान नपाउने हुँदा डर लाग्ने, आत्तिने, छटपटी हुने जस्ता लक्षण देखिनु स्वभाविक भएकाले आफूलाई व्यस्त बनाएर दिमागलाई ठीक ठाउँमा राख्ने वातावरण सिर्जना गर्दै सिङ्गो परिवारप्रति नै नकारात्मक धारणा बढ्दै जान नदिन सावधानी अपनाउनु पनि अभिभावकको दायित्व हो ।
कोरोनाले मानव जीवनमा पारेका नकारात्मक असरको समाचार सुनेर आफू बालबालिकाकै सामुन्ने आत्तिने, नराम्रा शब्दहरू प्रयोग गर्ने, ‘ओहो अब त खत्तम हुने भो’ जस्ता नकारात्मक र निराशाजनक शब्दहरू बालबालिकाको सामु प्रयोग गर्नाले मनो–सामाजिक समस्या हुन पनि सक्छ ।
विश्वभरमा फैलँदै गएको यो महामारीबाट आफू पनि बाँच्न र अरुलाई पनि बचाउन सुरक्षित तवरले आफ्नो मानसिक हिसाबले आफ्नो मन बलियो बनाउनु पर्ने मनन गर्दै बालबालिकाहरूलाई विशेष ध्यान दिनु पर्दछ । समय परिस्थितिअनुसार घरभित्रै रहेर गर्न सकिने सामान्य शारीरिक व्यायाम, योग, ध्यान, सरसफाई, अनुभव आदानप्रदान, अध्ययन, गीत–संगीत, भजन, प्रवचन आदिबाट आफू र आफ्नो परिवारलाई सबैले सुरक्षित हुने, श्रृजनशील कार्यमा लगाउने गर्नु पर्दछ । हामीले बालबालिकालाई कुनै रचनात्मक काम गरेर समय बिताउने, समूहमै सहभागी गराएर खेलाउने गर्न पनि गर्न सकिन्छ । सुत्ने, खाने, खेल्ने, मनोरञ्जन गर्ने, योग गर्ने समय नियमित तर्जुमा गरी व्यस्त बनाउने, विद्युतीय सामग्री र सामाजिक सञ्जालमा धेरै नझुल्न बरु पिनायो, मादल लगायतका बाध्यवादनको सामग्री बजाउन सिकाउने, लगाउने र लुडो, चेस पनि खेलेर समय बिताउन पनि सकिन्छ ।
सामाजिक सञ्जालमा महामारीका समयमा बालबालिकाको दिमागमा असर हुने खालका सामाग्री तथा समाचार आइरहने हुँदा त्यस्तोबाट टाढा रहन आग्रह गर्दै बालबालिकालाई नियमित सिर्जनशील बनाउन अभिभावकले ध्यान दिनु जरुरी हुन्छ । यो समयमा पारिवारिक मिलन, सन्तुलन र एकआपसमा माया ममता बाँडीचुँडी गर्दै सम्यमताका साथ रमाइलोसँग बस्यौँ भने कोरोनाको संक्रमणबाट बाँच्न र बचाउन मात्र नभई अहिलेसम्म सबै परिवार मिलेर नगरेका अन्य धेरै किसिमका कामहरू गरी फरक पारिवारिक जीवनशैली र संस्कारबाट अघि बढ्ने अवसरको रुपमा पनि लिने गर्नु पर्दछ ।
आफुले पठनपाठन गर्ने विद्यालय बन्द भएको कारणले घरमा बस्न बाध्य बालबालिकाहरूलाई सिर्जनशील बनाउने वा झर्केर उनीहरूलाई मनोसामाजिक समस्यामा पार्ने अभिभावक बन्ने रोजाई स्वयम् अभिभावकको हो भन्ने कुरा हेक्का राख्नुपर्दछ । असहज परिस्थितिमा कसरी सकारात्मक अभिभावक बन्न सकिन्छ भन्ने थाहा नभएको अवस्थामा अधिकांश अभिभावकहरू नचाँहदा नचाँहदै, नजान्दा नजान्दै आफ्ना बालबालिकालाई पीडा पुऱ्यारहेका हुन सक्छौँ । यस्तो विषम परिस्थितिमा हरेक अभिभावकले आफ्ना बालबालिकाहरू कहाँ के गर्दै छन् भन्ने बारेमा चनाखो हुनु पनि पारिवारिक बोध तथा अभिभावकत्व हो ।
कुशल अभिभावकले आफ्ना बालबालिकासँगै बसि कुन बेला पढ्ने, कुन बेला आफ्ना साथीहरूसँग नेटमा वा फोनमा कुरा गर्ने, कुन बेला खाने, कुन बेला खेल्ने, कुन बेला कथा भन्ने र सुन्ने, कुन बेला रचनात्मक कृयाकलापहरू जस्तै– नाच्ने, गाउने, चित्रकला, कविता, लेख, रचना, कथा बनाउने लगायतका कुराहरू समावेश गरी उनीहरूकै सहभागितामा दैनिकी बनाउन प्रयास गर्न गर्नुपर्दछ ।
कोरोनाले मानव जीवनमा पारेका नकारात्मक असरको समाचार सुनेर आफू बालबालिकाकै सामुन्ने आत्तिने, नराम्रा शब्दहरू प्रयोग गर्ने, ‘ओहो अब त खत्तम हुने भो’ जस्ता नकारात्मक र निराशाजनक शब्दहरू बालबालिकाको सामु प्रयोग गर्नाले मनो–सामाजिक समस्या हुन पनि सक्छ । त्यसैले अभिभावकहरूले बालबालिकालाई सकारात्मक कुराहरूको बारेमा बताउने गर्नुपर्दछ । यस्तै, साबुनपानीले राम्रोसँग हात धुने, सेनिटाइजर, डेटोलको प्रयोग, सफा कपडा लगाउने, नङ काट्ने, नियमित ब्रस गर्ने, नुहाउने, आदि कुराहरूको साथै व्यक्तिगत र पारिवारिक सरसफाइले मानव जीवनमा नकारात्मक असर पार्ने कोरोना लगायतको भाइरस, किटाणु र जीवाणुबाट जोगिन सकिन्छ भन्ने बोध गराउनु पनि अभिभावकको दायित्व हो ।
शारीरिक अवस्था र उमेरका आधारमा प्रशस्त पानी, पोषणयुक्त, हरियो तरकारी, साग, दुध र घरायसी खाजाको महत्व र पोषणयुक्त व्यवस्थित खानपानले मानव जीवनमा पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा बालबालिकालाई बोध गराई रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्य भएर बाँच्न पोषिलो र सन्तुलित खानाको महत्वपूर्ण योगदान हुने बारे बालबालिकालाई पनि अभिभावकको दायित्व हो । बालअधिकारका पक्षहरू शारीरिक विकास, मानसिक विकास, बौद्धिक विकास र संवेगात्मक विकास हुने खालका खेलहरू मित्रवत व्यवहार गरी रमाईलो गर्ने पाउने अधिकारहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।
आफ्ना बालबालिकाका धेरै कुराहरू रुचि, जिज्ञासा, मनोभावना बुझ्ने र नजिक हुनु सँगै खेल खेल्दा उनीहरूका मनभित्रका कुरा बुझ्न सकिने र उनीहरूलाई हौसला पनि दिन सकिन्छ भन्ने कुरा अभिभावकले सदैव ख्याल गर्नु पर्दछ । कुशल अभिभावकले आफ्ना बालबालिकासँगै बसि कुन बेला पढ्ने, कुन बेला आफ्ना साथीहरूसँग नेटमा वा फोनमा कुरा गर्ने, कुन बेला खाने, कुन बेला खेल्ने, कुन बेला कथा भन्ने र सुन्ने, कुन बेला रचनात्मक कृयाकलापहरू जस्तै– नाच्ने, गाउने, चित्रकला, कविता, लेख, रचना, कथा बनाउने लगायतका कुराहरू समावेश गरी उनीहरूकै सहभागितामा दैनिकी बनाउन प्रयास गर्न गर्नुपर्दछ ।
बालबालिकाले गरेका कामहरूमा हौसला दिने, प्रशंसा गर्ने, आहा कति राम्रो भन्ने जस्ता उत्प्रेरणा जगाउँदै जानु पनि सकारात्मक अभिभावकको भूमिका हो । बालबालिकामा पर्न सक्ने समस्या र जटिलताको अन्त्यको लागि हरेक अभिभावकले आफ्ना बालबालिकासँग भावनात्मक रूपमा नजिक हुनै पर्दछ ।
अभिभावक नै बालबालिकाका पहिलो साथी हुन् भन्ने बालबालिकालाई बोध गराउनुपर्ने हुन्छ । बालमनोविज्ञानमा पनि बालबालिकाको मनको कुरा बुझ्न अभिभावकले पनि बालबालिकाले झैँ व्यवहार गर्नुपर्दछ । बालबालिकालाई मनपर्ने सिप सिकाउने र बालबालिकालाई उचित रूपमा सामाजिकीकरण गर्नु अभिभावकको अर्को महत्वपूर्ण उत्तरदायित्व हुन्छ । बालबालिकालाई सिर्जनात्मक र स्वावलम्बी बनाउन, उनीहरूलाई नैतिकवान र व्यवहारिक बनाउनका लागि आफू सँगसँगै घरका सामान्य भान्साको काम चिया पकाउने, दुध उमाल्ने, तरकारी काट्ने, खाना बनाउने, करेसाबारीको काममा लगाएर पनि बालबालिकाहरूलाई जोखिम हुनबाट जोगाउन सकिन्छ ।
शारीरिक र मानसिक रूपमा स्वस्थ हुन व्यायाम आवश्यक हुन्छ भन्ने बारेमा अभिभावकले उनीहरूलाई बोध गराउँदै दैनिकी बनाउँदा यसलाई समेत अभिभावकले विशेष ध्यान दिन जरुरी हुन्छ । बालबालिकासँग बढी घुलमिल भई उनीहरूको विचार, इच्छा र आवश्यकताको आधारमा सघाउन सकिन्छ । टिभी हेर्ने र मोबाइलमा गेम खेलेर एक्लोपन महसुस गरिरहेका बालबालिकाको लागि शारीरिक व्यायाम र योग गर्ने गर्नाले उनीहरूमा स्फुर्ति पैदा भई संयम, शालिन र आँटिलो व्यक्तित्व बन्न उत्प्रेरणा दिने साथै बालबालिकासँग नजिकमा रहेर अहिले बालबालिकाहरू रुचाउने र अधिकांश समय बिताउने सञ्चारमाध्यमहरू अनलाइन र इन्टरनेटबाट हुने सम्भावित जोखिमको बारेमा समेत जानकारी गराई जोगाउन सकिन्छ ।
दिनभर बालबालिकाहरूलाई एक्लै नछाड्ने, सकेसम्म पाको मान्छेसँगै राख्ने, बरु, खेतबारी वा बाहिर जाँदा आफ्नो बालबालिकाहरूलाई सँगै लिएर जाने, बालबालिकालाई समय दिने, सँगै खेल्ने बालबालिकालाई घरमा मातृभाषामा बोल्न सिकाउने गरेर पनि बालबालिकाहरूलाई जोखिमबाट जोगाउन सकिन्छ । बालबालिकाले गरेका कामहरूमा हौसला दिने, प्रशंसा गर्ने, आहा कति राम्रो भन्ने जस्ता उत्प्रेरणा जगाउँदै जानु पनि सकारात्मक अभिभावकको भूमिका हो । बालबालिकामा पर्न सक्ने समस्या र जटिलताको अन्त्यको लागि हरेक अभिभावकले आफ्ना बालबालिकासँग भावनात्मक रूपमा नजिक हुनै पर्दछ । उनीहरूले वास्तविक समस्या थाहा नपाएको अवस्थामा हामी अभिभावक उनीहरूबाट भावनात्मक रुपमा टाढा हुन पुग्छौँ । उनीहरूलाई माया गरेर सम्झाउन र बुझाउन सकिन्छ भन्ने भावना लिनुपर्दछ र यसो गर्न सक्नु पारिवारिक सकारात्मक उत्तरदायित्व र अभिभावकत्व हो ।
(लेखक दुई दशकदेखि बालबालिकाको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)
प्रतिक्रिया