घर बसेर हामी के गर्दैछौँ ?

घर बसेर हामी के गर्दैछौँ ?


■ बबिता बस्नेत

कोभिड-१९ को आक्रमणबाट बच्न सरकारले राष्ट्रब्यापी ‘लकडाउन’को घोषणा गरेको छ र केही समयदेखि हामी घर-घरमै छौँ । ‘घर’ मानिस बाँचुञ्जेलका लागि स्थायी ठेगाना र बस्नका लागि सुरक्षित स्थान पनि हो । आफू र परिवार सुख-शान्तिसँग बस्नकै लागि घरको परिकल्पना गरिएको हुन्छ । तर सुरक्षित मानिएको त्यही घर कतिपय महिलाका लागि भने असुरक्षित स्थान बन्ने गरेको छ ।

त्यसो त घरमा असुरक्षित महसुस गर्ने कतिपय पुरुष या लैङ्गिक अल्पसङ्ख्यकहरू पनि होलान्, तर महिलाको तुलनामा उनीहरूको संख्या न्युन छ । यसको प्रमुख कारण प्रायः पुरुषहरूको आफ्नै ‘घर’ हुन्छ । आफूले आर्जन गरेको कुरामा कति आत्मविश्वास हुन्छ त्यो हामी सबैलाई थाहै छ । हामीमध्ये धेरैले आरामले हप्तौँसम्म घरमा बस्न पाएका थिएनौँ । पढाई हुन्जेल राम्रो पढेर जागिर भएपछि आनन्दले बस्छु भनियो, जागिर या काम सुरु गरेपछि आफूलाई त्यसैमा स्थापित गर्नतिर लागियो । करियरकै दौरानमा विवाह, बच्चा, बच्चाको स्कुल अर्कै झन्झट सुरु भयो, अनि कहिले घर बस्नु ?

कहिलेकाहीँ बस्दा पनि यति काम थियो, यसो गर्नुपर्ने थियो भन्ने सोच्दै बसियो होला । दशैँ–तिहारहरू कसरी सुरु हुन्छन् कसरी सकिन्छन्, हतारहतारमै समय बितेर जान्छ, पत्तै हुँदैन । आफू काममा जाँदा सुतिरहेको बच्चा फर्किंदा पनि सुतिसकेको अवस्थाबाट गुज्रिने पनि कति हुनुहुन्छ होला । ‘लकडाउन’ले घरमा बसेर आफ्नो सौखले वर्षौंदेखि गर्न नपाएका धेरै काम–कुराहरू गर्न दिएको छ ।

एकर्काको सामिप्यतामा आत्मियता बढ्छ भन्ने कुरा सही हो । वर्षौंदेखि दिनभर आँखाअघिल्तिर देख्न नपाएका घर–परिवारका सदस्य देख्न पाउनु र उनीहरूसँग हप्तौँ बस्न पाउनु ठूलो अवसर पनि हो । तर दुःखको कुरा ! कतिपय घरमा दिनभर सँगै बस्दा घरेलु हिंसा र तनाव बढेका घटनाहरू सार्वजनिक भइरहेका छन् । सम्बन्धमा तिक्तता आएर मुद्दा चलिरहेका पति–पत्नी दिनरात सँगै बस्दा केसम्म भइरहेको होला, हामी अनुमान गर्न सक्छौँ । एउटै घरमा बसेर तनावमा जीवन गुजारिरहेकाहरू यतिबेला थप हिंसामा परेका छन् ।

आफ्नै घरमा आफ्नै मान्छेबाट मान्छे सुरक्षित छैनन् । चाहने हो भने घरलाई सोचेभन्दा बढि सुरक्षित र परिवारलाई आत्मिय बनाउन गाह्रो छैन, तर एक हातले ताली बज्दैन ।

अहिले अधिकांश मानिसलाई खान–लाउनमा भन्दा बढि सम्बन्धमा समस्या छ । बाबुआमाको झगडाको प्रत्यक्ष असर सन्तानमा परिरहेको छ । केही दिनअघि एक परिचितले यो पङ्क्तिकारसँग फोनमा भनेकी थिइन्– ‘पहिला त कम्तिमा बच्चा सुतेपछि या स्कुल गएपछि झगडा हुन्थ्यो, अहिले त बच्चाकै अगाडि जे पनि बोलिदिँदा उसको मनोविज्ञान के होला भनेर म हैरान छु, लकडाउन कहिले खुल्छ ?’

जीवन जसरी बाँच्न चाह्यो त्यस्तै हुन्छ । कतिपय कुरामा आँखा चिम्लिन र मौन रहन सक्यो भने जिन्दगी सहज बन्छ, तर त्यसरी सोच्ने मानिसको संख्या धेरै हुँदैन । फलतः घरेलु हिंसा अहिले हाम्रो प्रमुख समस्या बन्न पुगेको छ । आफ्नै घरमा आफ्नै मान्छेबाट मान्छे सुरक्षित छैनन् । चाहने हो भने घरलाई सोचेभन्दा बढि सुरक्षित र परिवारलाई आत्मिय बनाउन गाह्रो छैन, तर एक हातले ताली बज्दैन । दुवैतर्फ त्यो स्तरको समझदारी हुन आवश्यक हुन्छ । त्यसैले यो लकडाउनमा घरको वातावरण सुरक्षित र सौहाद्र्धपूर्ण बनाउन मैंले के भूमिका निर्वाह गरिरहेको छु भनेर आफूले आफैलाई मूल्याङ्कन गर्दा त्यसको परिणाम सकारात्मक आउन सक्छ ।

पति–पत्नीको कुरा मात्र होइन, सासु–बुहारी, नन्द–भाउजु, दिदी–बैनी, आमा–बुवा, दाजुभाइ, देउरानी–जेठानी परिवारका सबै सदस्यमा लागु हुने कुरा हो यो । हामी घरमा बसेर आफूलाई मन लागेको काम गरेर, उनीहरूका इच्छा–आकाङ्क्षामा साथ दिएर, राम्रा कुराको प्रशंसा गरेर परिवारका सदस्यसँग आत्मियता बढाइरहेका छौँ कि अनेक बखेडा झिकेर, केही निहुँ नपाए ‘यस्तो खाना के बनाएको ?’ भन्दै विगतका नकारात्मक पाटा केलाएर परिजनसँगको सम्बन्धमा विष घोलिरहेका छौँ ? हामी खराब हुने कि राम्रो, हाम्रै हातमा छ । परिवारका सदस्यलाई खुशी दिने कि दुःख, त्यो पनि हाम्रै हातमा छ । आफूवरपरको वातावरणलाई कस्तो बनाउने भन्ने अवसर हामी स्वयंलाई छ ।

घरमा बस्नु र घरको काममा ब्यस्त हुनुलाई ‘लकडाउन’ भन्छन् भन्ने थाहा नभएको मात्रै हो । हाम्रा भान्साहरू वर्षौंदेखि महिलाको मात्रै जिम्मेवारीमा छन् । यदि हाम्रा भान्साहरू समावेसी हुन सकेका भए जीवनशैली स्वतः न्यायिक हुने थियो ।

घरबाहिर काम गर्नेलाई लकडाउनले असर गरे पनि गृहणीहरूलाई खासै फरक परेको छैन । किनभने उनीहरू वर्षौंदेखि यस्तै दिनचर्यामा थिए । घरमा बस्नु र घरको काममा ब्यस्त हुनुलाई ‘लकडाउन’ भन्छन् भन्ने थाहा नभएको मात्रै हो । हाम्रा भान्साहरू वर्षौंदेखि महिलाको मात्रै जिम्मेवारीमा छन् । यदि हाम्रा भान्साहरू समावेसी हुन सकेका भए जीवनशैली स्वतः न्यायिक हुने थियो । यो लकडाउनले हामीलाई कमाउनुभन्दा पनि त्यसको व्यवस्थापन गर्नु कति ठूलो कुरा हो भन्ने कुराको महसुस पनि पक्कै गरायो होला । हामीलाई प्रायः घर–ब्यवहारका, पकाउने, खाने या टार्ने–पुऱ्याउने कुराहरू साना लाग्छन्, तर यिनै स–साना कुराले जीवनमा ठुलो फरक पारिरहेको हुन्छ । प्रायः घरपरिवारमा कलहको सुरुवात भान्साबाट या भान्साको निहुँमा भइरहेको हुन्छ । दाजुभाइहरू छुट्टिने सबैभन्दा ठुलो निहुँ भान्सा नै हुने गरेको देखिन्छ । परिवारको खुशीको लागि हाम्रा भान्साहरू सौहाद्र्धपूर्ण हुन आवश्यक छ ।

सोसियल मिडियाले गर्दा अहिले कसले के गरिरहेको छ मात्र होइन कसको हुलिया कस्तो छ भन्ने कुराको पनि जानकारी दिइरहेको छ । रोचक के छ भने ‘लकडाउन’पछिको सोसियल मिडियामा पोष्ट भएका फोटोहरू हेर्दा महिलाहरूको मेक–अप, फेसनमा त्यति ठूलो फरक परेको छैन तर पुरुषहरूको हुलियामा ब्यापक अन्तर छ । कार्यालय जानैपर्ने पुरुषहरू बाहेक घरमा बस्नेले दाह्री काट्न समेत जाँगर चलाएको देखिँदैन । कतिपय हास्यब्यङ्ग्य कार्यक्रममा महिलाहरू घरमा बस्दा म्याक्सीमा विरक्त भएर बस्छन्, बाहिर हिँड्दा चिनिदैनन् भनेको सुनिएको थियो । पुरुषहरू घर बसेको नदेखिएले त्यस प्रकारका ब्यङ्ग्य बनेका रहेछन् भन्ने कुरा यो लकडाउनले प्रष्ट गरिदिएको छ ।

घर बस्नुपर्दा पुरुषहरूलाई जिन्दगीमा कति ठूलो बैराग्य चल्ने रहेछ भन्ने कुरा थाहा पाउने अवसर पनि यो लक डाउनले दिएको छ ।

सोसियल मिडियामा देखिने साथीभाइ, दाजुभाइ, आफन्त मात्र नभइ बिहान–बेलुका तरकारी पसल र छिमेकतिर देखिनेहरूको हालत पनि त्यस्तै देखिन्छ । घर बस्नुपर्दा पुरुषहरूलाई जिन्दगीमा कति ठूलो बैराग्य चल्ने रहेछ भन्ने कुरा थाहा पाउने अवसर पनि यो लक डाउनले दिएको छ । फरक के हो भने महिला भए जिन्दगीमा जे भएको हो त्यही फररर भनिदिन्थे, तर पुरुषहरू यति सचेत कि यो पङ्क्तिकारले ट्वीटरमा लेखेको ‘महिलाहरू घर बस्दा दुम्सी जस्तो भएर बस्छन् भनेको सुनेकी थिएँ, पुरुष साथीहरू अहिले धमाधम नकाटिएका दाह्रीका साथ विरक्त लाग्ने फोटोहरू पोष्ट गरिरहेका छन् । यसो हेर्दा समस्या महिला–पुरुषवाला होइन, घर बस्नुसँग रहेछ । जे भने पनि मानिस राम्रो देखिन खोज्ने अरुकै लागि रहेछ भन्ने प्रमाणित भयो’ भन्ने कुराको प्रतिक्रियामा एक निकटवर्तीले फोनमा दर्शन छाँट्दै भने– ‘अहिले हामीले पालेको दाह्रीलाई लिएर विरक्तिसँग जोड्न भएन । अहिले विश्वमा जे भइरहेको छ त्यसले हामीलाई कति चिन्तित बनाएको छ भन्ने कुराको प्रमाण हो यो । यसरी बुझिदिनु पऱ्यो ।’

जे होस्, घर बसेर हामीले जीवनमा गर्न चाहेका तर नपाएका, स–साना तर ठूलो आत्मसन्तुष्टि दिने कुराहरू गर्न पायौँ, गरिरहेका छौँ । अहिलेसम्मको परिस्थिति हेर्दा हामी धेरै भाग्यमानी रहेछौँ भन्नुपर्ने हुन्छ । विश्वका शक्तिशाली राष्ट्रका नामी अस्पतालहरूमा कुन लाश कसको हो भन्ने छुट्याउन गाह्रो भइरहेका बेला हामीले आफ्नो परिवारसँग समय बिताउन पायौँ, पाइरहेका छौँ । बाँचुन्जेल जे–जे गरे पनि जब मानिसको जीवनमा आपतविपद आइलाग्छ, बाहिरका मानिसले आएर गर्दैनन्, चाहिने आफ्ना नै हो । अरुले गरेर साध्य हुने कुरा पनि होइन ।

‘अहिले हामीले पालेको दाह्रीलाई लिएर विरक्तिसँग जोड्न भएन । अहिले विश्वमा जे भइरहेको छ त्यसले हामीलाई कति चिन्तित बनाएको छ भन्ने कुराको प्रमाण हो यो । यसरी बुझिदिनु पऱ्यो ।’

मृत्युको मुखमा पुगेका मानिसहरूले प्रायः मैले जिन्दगीको दौडधुपमा आफन्त र निकटवर्तीहरूसँग समय बिताउन पाइनँ, मनमा लागेको कुरा ब्यक्त गर्न सकिनँ भनेको कुरा ब्रनी वेर नाम गरेकी अष्ट्रेलियन नर्सले पुस्तकमा लेखेकी छिन् । ‘टप फाइभ रिग्रेट्स् अफ डाइङ’ (मृत्युअघिका पाँच पश्चातापहरू) पुस्तककी लेखिका ती नर्ससँग मृत्युनजिक पुगेका ब्यक्तिहरूले भनेका छन्– ‘मैंले मेरा बाबु–आमा, दिदी–बैनी, दाजुभाइ या आफन्तसँग उनीहरू मेरालागि कति महत्वपूर्ण थिए भनेर कहिल्यै ब्यक्त गरिनँ । भन्न पाएको भए मेरो कुराले उनीहरूलाई खुशी दिन्थ्यो होला तर मनमा लागे पनि ब्यक्त गर्नै नपाई उनीहरू बितेर गए । अब त म पनि संसार छोड्न लागेँ ।’ यसैगरी साथीहरूसँगको भेटघाट र समय बिताउने कुरालाई पनि उनीहरूले सास जाने बेलासम्म ‘मिस’ गरेको पुस्तकमा उल्लेख छ ।

मानिस जति ठुलो ओहदामा पुगे पनि, जति पैसा कमाए पनि, जति बौद्धिक या व्यवसायिक भए पनि जीवन बाँचुन्जेलका लागि मात्रै हो । हाम्रो मृत्युपछि नाम पनि लिइने छैन । आर्यघाटमा कति नामी मान्छेहरूको दाहसंस्कारका बेला अब लाशलाई यता लाने उता लाने भनेको पङ्क्तिकारले सुनेको छु । पहिलोपल्ट यो कुराको आत्मसात गायक नारायण गोपालको मृत्युको बेला गरेकी थिएँ । त्यति नामी गायकलाई विशाल जनसहभागिातका बीच आर्यघाट लाँदै गर्दा मानिसहरू चोक–चोकमा बसेर लाश कहाँ ल्याइपुऱ्याए भनेर सोधिरहेका थिए न कि नारायण गोपाललाई कहाँ ल्याइपुऱ्याए ? यो भोलि हामी सबैमा लागु हुने कुरा हो । त्यसैले म नभए त संसार चल्दैन भन्ने भ्रमबाट मुक्त भई बाँचिरहन पाएको यो अवसरको सदुपयोग गर्दै घरमा बसेर खुशीको माहौल निर्माण गरौँ । आत्मीय माहौल निर्माणमा ध्यानको महत्वपूर्ण भूमिका हुन्छ, आफू गरौँ र परिवारमा अरुलाई पनि गर्न प्रेरित गरौँ !