पाँचथरमा पीडितलाई राहत वितरण

पाँचथरमा पीडितलाई राहत वितरण


कोरोना भाइरस महामारीका कारण पाँचथरको फिदिम नगरपालिकाभित्र बसोबास गरी दैनिक ज्याला–मजदुरी गर्ने श्रमिकहरूलाई नगरपालिकाको अग्रसरतामा खाद्यान्न वितरण गरिएको छ ।

फिदिम बजार र सदरमुकाम वडा नंं. ४ एरियामा पर्ने हुँदा यहीँबाट पीडित व्यक्तिहरूलाई वितरणको कार्य सुरु गरिएको कुरा वडा नं. ४ का सदस्य श्रीमती शकुन्तला ओलीले जानकारी दिइन् । त्यस्ता व्यक्ति वडा नं. ४ भित्र करिव ५० जना जति रहेका अनुमान गरी प्रतिव्यक्ति एक बोरा चामलसहित दाल, नून, तेल र केही सब्जी वितरण गर्ने लक्ष्य राखिएकोमा पीडितहरू सयभन्दा बढी हुन पुगेकाले सोही अनुपातमा वितरण गरिएको ओलीको भनाई थियो ।

नगरपालिकाले उपलब्ध गराएको ५० बोरा चामल (३० केजीको बोरा), ५० पोका तेल, नुन, दाल र केही सहयोगी समाजसेवीको सहयोगमा सब्जीका लागि आलु प्राप्त भएको थियो । सदरमुकाम वडा नंं ४ बाट सुरु गरिएको राहत वितरण कार्यक्रम सो न.पा.का अन्य वडामा रहेका पीडितहरूलाई पनि वितरण गर्दै लगिने बताइएको छ । खाद्यान्न राहत वितरण कार्यको शुरुवात सदस्य शकुन्तला ओली र वडा नंं ४ का अध्यक्ष प्रकाश गुरुङले गरेका थिए ।