तातोपानीलगायतका नाका खोल्न चीन तयार

तातोपानीलगायतका नाका खोल्न चीन तयार


कोरोना भाइरस फैलिन शुरू भएपछि तीन महिनाका लागि भन्दै सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको चीनले नेपालसँगका सबै नाका खोल्ने भएको छ । बन्द रहेको तातोपानी नाका पनि खुल्ने भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका हुन् ।

चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको ढकालले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि चीनले आफ्नो स्थानीय प्रशासनलाई तातोपानी नाका खोल्न निर्देशन दिएको जनाएको छ । सिन्धुपाल्चोक प्रजिअ ढकालले उक्त मन्त्रालयबाट चीन नाका खोल्न तयार रहेको जानकारी आएको र आवश्यक समन्वय गरी चाँडै नाका सञ्चालन गरिने बताएका छन् ।

यस्तै, तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीलाई उद्धृत गर्दै राससले जनाएअनुसार चीनतर्फको भन्सार सुचारु गर्न निर्देशन भइसकेको छ ।