कांग्रेसले ‘इमान्दार प्रयत्न’लाई साथ दिने ‘भ्रष्टाचारका मामला’ नछोड्ने !

कोरोनाको जोखिमसँग जुझ्न कांग्रेसले विज्ञ समूह गठन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्न पात्रहरुलाई पदमुक्त गर्न अपिल गर्दै सोबारे छानवीन र कार्वाहीमा ढिलाइ नगर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार (२५ चैत) बसेको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठकले कोरोना संक्रमणबाट नेपाल र नेपालीलाई जोगाउन सरकारले गरेका इमान्दार प्रयत्नलाई साथ दिने तर भ्रष्टाचारका मामलालाई नछोड्ने निर्णय गरेको हो ।



पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परिक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको बताए ।

अस्वस्थताको कारण देखाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा वहिष्कार गरिएको सो बैठकमा प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी रहेका बुझिएको छ । मंगलबारको कांग्रेस पदाधिकारी बैठकले विद्यमान समग्र परिस्थितिको समीक्षा गर्दै १३ बूँदे निर्णय गरेको छ ।

निर्णयका बुँदा जस्ताको तस्तै–

१. कोरोनाको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा बैठकले गरेको छ । समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद रूपमा लिँदै बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परिक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको छ ।

२. बैठकले आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ ।

३. स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वाससाथ बैठकले देशभरिका स्वास्थ्यकर्मीहरुप्रति उच्च सम्मान प्रकट गरेको छ । पीपिई, परिक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपील गरेको छ । अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउनपनि सरकारलाई माग गरेको छ ।

४. लकडाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपील गरेको छ ।

५. स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न अपील गर्दै बैठकले अनिवार्य छानवीन र कार्वाहीको विषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

६. देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन बैठकले सरकार समक्ष माग गरेको छ ।

७. ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको ध्यानाकर्षण सरकारलाई गराउँदै बेरोजगार र शहरी क्षेत्रमा डेरा गरि बसेका विद्यार्थीहरुका लागिपनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ । साना ठुला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पुऱ्याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज ब्यवहारिक ढंगले ल्याउन बैठकले माग गरेको छ ।

८. अत्यावश्यक खाद्यान्नको आपूर्ति देखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न,गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । लकडाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।

९. बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पुऱ्याउन स्थानीय सरकारहरुलाई अपिल गरेको छ ।

१०. विदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पुऱ्याउन सरकारलाई आग्रह गरेको छ । बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरुको परिवारजनप्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपील गरेको छ । विश्वभरिनै कोरोनाले गर्दा जीवन गुमाएका हजारौं मानिसप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

११. प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं विदेश स्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबै साथीहरूलाई अपील गरेको छ ।

१२. कोरोनाको जोखिमसँग जुध्न बैठकले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समुहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ ।

१३. पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न बैठकले निर्देशन गरेको छ ।

प्रतिक्रिया