विश्व बैंकद्वारा कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि तीन अर्ब बढी सहयोग

विश्व बैंकद्वारा कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि तीन अर्ब बढी सहयोग


कोभिड–१९ आपतकालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि विश्व बैंकले नेपाल सरकारलाई तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा मंगलबार (२५ चैत) विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र ‘आइसोलेसन वार्ड’स्थापना, देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा उक्त रकम खर्च गरिने र परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्ने बताइएको छ । उक्त परियोजना मंगलबारदेखि नै लागू हुनेछ ।

तीन साताको अवधिमा परियोजनामा लगानी गर्नेसम्बन्धी सम्पूर्ण काम पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ । सचिव ढुङ्गानाले कोरोना भाइरसका कारण उत्पन्न अकल्पनीय परिस्थितिमा अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडीए)बाट बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएकामा आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर भविष्यमा पनि बैंकले सहायतालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

pict: rss