मौलिक ढङ्गले नयाँ वर्ष मनाउन ‘सरोकार मञ्च’को आग्रह

मौलिक ढङ्गले नयाँ वर्ष मनाउन ‘सरोकार मञ्च’को आग्रह


कोरोना भाइरसको त्रासका कारण देश लकडाउनमा रहे पनि सङ्घारमै आइपुगेको ‘नयाँ वर्ष २०७७’ लाई नवीन तरिकाले स्वागत गर्ने तयारी गरिएको छ ।

राष्ट्र-राष्ट्रियता तथा नेपाली धर्म-संस्कृतिको रक्षाका साथै भ्रष्टाचारलगायतका विकृति-बेथितिका विरुद्ध जनता जगाउने कार्यमा क्रियाशील रहँदै आएको संस्था ‘राष्ट्रिय सरोकार मञ्च नेपाल’ले आगामी नयाँ वर्ष २०७७ वैशाख १ गते साँझ १६ः५१ देखि १८ः२७ बजेसम्म दीप प्रज्वलन गर्दै घर-घरमा भएका घण्टी, डमरू, विभिन्न किसिमका बाजा तथा पञ्चे बाजा बजाएर शंख फुक्दै नव वर्षलाई स्वागत गरेर मनाउने तयारीका साथै समस्त नेपालीजनमा आग्रह गरेको छ ।

विश्वभर छरिएर रहेका नेपालीजनमा नयाँ वर्ष २०७७ को अग्रिम शुभकामना दिँदै सो संस्थाका अध्यक्ष सोमविक्रम सिंहले वैशाख १ गते (कृष्ण षष्ठी सोमबार) आ-आफ्नो घरमा रही आफ्नै धर्म–संस्कृति तथा मौलिक सभ्यताअनुरूप पूजा अर्चना गरी साँझको समय १६ः५१ देखि १८ः२७ बजेसम्म उल्लिखित ढङ्गले नववर्ष मनाउन देश–विदेशमा रहनुभएका नेपालीलाई आग्रह गर्नुभएको हो ।

यसरी नयाँ वर्षको स्वागत कार्यक्रम आह्वान गर्नुको मूल उद्देश्य नेपालको राजनीतिमा जकडिएर बसेको भ्रष्टाचार तथा अनियमितताका साथै रोगव्याधि निर्मुल होस् भनी संकल्प तथा प्रार्थना गर्नु रहेको ‘कर्मनिष्ठ अभियन्ता’को रूपमा समेत परिचित अध्यक्ष सिंहले प्रष्ट्याउनुभएको छ ।

सो कार्यक्रमले समस्त मानव समाज र विश्व सभ्यताको नै भलो हुने सोच राख्दै विश्वभर छरिएर बसेका नेपालीले समेत उक्त कार्यक्रमलाई साथ दिई सफल बनाउन अनुरोध गर्दै उहाँले आगामी समय सुखमय, शान्तिमयका साथै उमङ्ग–उल्लासका साथ बितोस् भन्ने कामना गर्नुभएको छ ।

नयाँ वर्षलाई फरक तथा मौलिक किसिमबाट मनाउन आग्रह गर्दै जारी गरिएको विज्ञप्तिमा अध्यक्ष सिंहले भन्नुभएको छ– ‘समाज भ्रष्टाचारमुक्त तथा रोगमुक्त रहोस्, कोरोना भाइरसको सन्त्रास अन्त्य होस्, खेतीपाती उत्तम भई भोकमरीको अवस्था नरहोस्, समाजिक तथा धार्मिक सद्भाव कायम रहोस्, संकटको समयमा नेपालीमा एकताको भावना बलियो रहोस् भनी भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ । जय नेपाल !’