यसरी घट्यो द. कोरियामा भाइरस संक्रमित संख्या

यसरी घट्यो द. कोरियामा भाइरस संक्रमित संख्या


■ सविना कार्की, द. कोरिया

कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजारभन्दा माथि भए पनि निको हुनेको संख्या पनि आधाभन्दा बढि पुगेको छ । अब बाँकी संक्रमितको संख्या यतिबेला लगभग ४ हजार मात्रै देखिएको छ ।

कोरियामा हालसम्म कोरोना भाइरस संक्रमित संख्या १० हजार २ सय ८४ पुगेको छ भने सोमबार (६ अप्रिल) ४७ जना मात्रै थपिएको छ र मृत्यु हुनेको संख्या १ सय ८६ रहेको छ । हालसम्म उपचार गरी निको हुनेको संख्या ६ हजार ५ सय ९८ जना पुगेको कोरियाको कोरोनाबोर्ड डट केआरले जनाएको छ ।

गत फेब्रुअरीदेखि संक्रमित देखिन थालेको कोरियामा सुरुवातमा फाट्टफुट्ट भेटिए पनि फेब्रुअरी अन्तिमतिर नै चीनपछिको दोश्रो कोरोना संक्रमित राष्ट्र बनेको थियो । तर यतिबेला चाहिँ विश्वको २ सय ८ राष्ट्रमा संक्रमित भइसक्दा युरोपेली देशहरुमा तीव्र रुपले प्रकोप बढिरहेको छ भने कोरियामा कोरोना भाइरस प्रकोपको संख्या पहिलेको दाँजोमा निकै कम भएको छ ।

कोरियाको सबैभन्दा बढि कोरोना भाइरस प्रकोप रहेको ठाउँ थेगु हो । थेगुमा अहिलेसम्म संक्रमितको संख्या ६ हजार ७ सय ८१ जना झन् भने मृत्यु हुनेको १ सय २५ जना पुगिसकेको छ । त्यसैगरी कोरियाको दाश्रो ठूलो कोभिड–१९ प्रकोप रहेको ठाउँ ख्यङ्बुक हो र ख्यङ्बुकमा संक्रमितको संख्या १ हजार ३ सय १६ र ज्यान गुमाउनेमा ४९ पुगेको छ त्यसपछिको ख्यङ्गि, सउल, खम्यक, छुङ्नाम, बुसान, ख्यङ्नाम, इन्छन, सेजोङ, खाङ्वन, छुङ्बुक, उल्सान, थेजन, ख्याङ्जु, छन्बोक, छन्नाम छेजु गरी १८ वटा क्षेत्रमा कोरोना भाइरसको प्रकोप फैलिएको छ ।

कोरोना भाइरस प्रकोपलाई रोक्नका लागि कोरियन सरकारले कडाइका साथ प्रभावकारी कदम चालेको र जहाँ संक्रमित भेटियो उक्त ठाउँमालाई नियन्त्रणमा लिएर सोदोक गरिहाल्ने र कोरियाको जुनसुकै ठाउँमा पनि अनलाइन सपिङको राम्रो व्यवस्थापन भएको र जनता पनि एकदमै अनुशासित भएको कारण पनि प्रकोप धेरै फैलिन नसकेको कोरियन नागरिकहरुको भनाइ छ ।