महाप्रसाद अधिकारी राष्ट्र बैंकका गभर्नर

महाप्रसाद अधिकारी राष्ट्र बैंकका गभर्नर


लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका चार्टर्ड एकाउन्टेन्ट महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त भएका छन् । राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका अधिकारीलाई सोमबार (२४ चैत) बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको हो ।

वर्तमान अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकका गभर्नर रहँदा अधिकारी डेपुटी गभर्नर थिए । अर्थमन्त्री खतिवडासँग अधिकारीको निकै अघिदेखि विशेष निकटता रहँदै आएको जानकारहरू बताउँछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित बहालवाला डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । गभर्नर सिफारिस गरिएकामध्ये अधिकारी अर्थमन्त्री खतिवडानिकट, सिवाकोटी प्रधानमन्त्री ओलीनिकट र खनाल पुष्पकमल दाहालनिकट पात्रका रुपमा राजनीतिक वृत्तमा चर्चामा थिए ।

कतिपय मामलामा प्रधानमन्त्री ओलीमाथि ‘हाबी’ हुँदै आएका अर्थमन्त्री खतिवडाले गभर्नर नियुक्तिमा पनि आफ्नै चाहना लादेको टीकाटिप्पणी शुरु भएको छ । प्रधानमन्त्री ओलीलाई समेत अटेर गरेका खतिवडाले प्रचण्डको सुनुवाई नगर्नु कुनै अनौठो विषय नभएको चर्चा सरोकारवालाबीच हुन थालेको छ ।