पाँचथरमा शुरु भएको स्वरोजगार तालिम कोरोना महामारीका कारण स्थगित

पाँचथरमा शुरु भएको स्वरोजगार तालिम कोरोना महामारीका कारण स्थगित


पाँचथरको फालेबुङ गाउँपालिका–५ प्राङबुङ (डाँडागाउँ)मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) यही चैत ३ देखि ४५ दिवसीय (२०७७ वैशाख १७ सम्म) होजियारी सीप विकास तालिम चलिरहेकोमा कोरोना भाइरसको महामारीका कारण केही समय स्थगित गरिएको छ ।

तालिम प्रशिक्षक श्रीमती शकुन्तला ओलीका अनुसार घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको आर्थिक तथा प्राविधिक सहयोग एवम् कञ्चनजंघा महिला विकास केन्द्र ताप्लेजुङ र पाँचथरको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

गाउँघरमा सीप सिकाएर स्वरोजगार बनाउँदै लैजाने कार्यक्रमको लक्ष्यअनुसार ढाका, झोला, स्वीटर बुनाई, अदुवा, तरकारी, दलकुशन, पशुपालन आदि विषयमा जिल्लाको फिदिम नपा, फालेबुङ, हिलिहाङ र याम्बरक गाउँपालिकासमेत गरी जम्मा १५७ जना प्रशिक्षण कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

यसरी विभिन्न भेकका महिला भेला भई ती मध्येबाट केही सहभागी उद्यमी पनि बन्ने र त्यस्ता उद्यमीलाई आयोजक संस्थाबाट थप तालिम एवम् सहयोग उपलब्ध गराइने लक्ष्य रहेको पनि प्रशिक्षक ओलीले जानकारी दिइन् ।

कोरोना भाइरसको वर्तमान सन्त्रासबाट उम्किएपछि पुनः तिनै प्रशिक्षार्थीहरूलाई सोही स्थानमा भेला गरी तोकिएको अवधिभर प्रशिक्षण दिइने बताइएको छ ।

यसरी प्रशिक्षण प्रदान गर्नेहरूमा होजियारीतर्फ श्रीमती ओलीका अलावा ढाका बुनाईतर्फ पवित्रा लिम्बु, शर्मिला लिम्बु र एलिना तामाङ तथा झोला बुनाईतर्फ दिया लिम्बु रहेका छन् । जसमध्ये होजियारीको प्रशिक्षणमा सहभागी हुनेहरूमा रविना माङ्मु, निशा लिनाङ, सविना, इच्छामाया सावाँ, रोजिना थाम्सुहाङ, लीला सावाँ, रामकुमारी केरूङ, सुमित्रा सावाहाङ, जनिता राईलगायत छन् ।

फालेबुङ गाउँपालिका–५ मा भएको प्रशिक्षण कार्यक्रम शुभारम्भमा प्रशिक्षक ओलीका सहजकर्ता टकराज राई थिए भने कार्यक्रममा स्थानीय गाउँपालिका अध्यक्ष सञ्चबहादुर केरूङ र वडाध्यक्ष जीवनकुमार राईको पनि उपस्थिति रहेको थियो । प्रशिक्षण आरम्भ गराउँदै अध्यक्ष केरूङलगायतले प्रशिक्षार्थी तथा उद्यमीहरूले उत्पादन गरेका सबै सामग्रीहरू बिक्रीवितरण कार्यमा गाउँपालिकाले सहयोग गर्ने बचनबद्धता जनाएका थिए ।