जोर्डनले कर्फ्यू आदेशको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

जोर्डनले कर्फ्यू आदेशको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने


जोर्डनले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई फैलिनबाट रोक्ने प्रयासस्वरूप गत महिनाको अत्यदेखि घोषणा गरिएको कर्फ्यू आदेशको पालना भए–नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने बताएको छ ।

जोर्डनमा कोरोना भाइरस सङ्क्रमितको सङख्या फैलिने क्रम बढ्न थालेपछि यहाँ राष्ट्रव्यापी कर्फ्यू आदेश जारी भएको हो । जोर्डनमा आइतबार (५ अप्रिल) सम्म सङ्क्रमितको सङ्ख्या ३२३ पुगेको छ भने यो भाइरस सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ ।

सशस्त्र तथा अन्य प्रहरी बलले ड्रोन र सीसी क्यामेराजस्ता आधुनिक प्रविधिको प्रयोग गरेर कर्फ्यू आदेश उल्लङ्घन भए–नभएको अनुगमन गर्ने जोर्डनका सूचना सहायक मन्त्री अम्जाद अल–अदाल्लेले बताएका एएपपीले जनाएको छ ।

सरकारका प्रवक्तासमेत रहेका अदाल्लेले सङ्क्रमण फैलिन नदिन अख्तियार गरेका उपायलाई कसैले उल्लङ्घन गरेमा कडा कानुनी कारबाही गरिने बताएका छन् ।

जोर्डनका अधिकारीले दिएको जानकारीअनुसार कर्फ्यू आदेशको उल्लङ्घन गरी सडकमा निस्किने एक हजार ६०० व्यक्तिलाई आइतबारसम्म जोर्डनले पक्राउ गरेको र उनीहरूलाई कडा दण्ड तथा सजाय दिइने बताएका छन् ।

जोर्डनले देशको राजधानी र सबै प्रान्तलाई कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै पूर्णतया बन्द गरेको छ । जोर्डनमा यस पहिलेदेखि नै विद्यालय बन्द भएका छन् भने सहर तथा ग्रामिण वस्तीमा समेत सार्वजनिक जमघट गर्नमा रोक लगाइएको छ ।