स्पेनमा कोभिड-१९ का नयाँ सङ्क्रमित र मृतक सङ्ख्यामा लगातार कमी

स्पेनमा कोभिड-१९ का नयाँ सङ्क्रमित र मृतक सङ्ख्यामा लगातार कमी


स्पेनमा कोरोना भाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको छ । त्यहाँको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार (५ अप्रिल) प्रकाशित गरेको दैनिक तथ्याङ्कमा यसबारे उल्लेख रहेको सिन्ह्वाले जनाएको छ ।

लगातार तेस्रो दिन नयाँ सङ्क्रमण र सङ्क्रमितको मृत्युमा कमी देखिएको उल्लेख गर्दै मन्त्रालयले शनिबार र आइतबारबीचको २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या ६ हजार २३ रहेको जनाएको छ, जो शनिबारको तुलनामा करिव एक हजारको कमी हो ।

सङ्क्रमितको सङ्ख्या शनिबार सात हजार २६ थियो भने शुक्रबार सात हजार ४७२ रहेको थियो । आइतबारसम्म स्पेनमा सङ्क्रमितको सङ्ख्या एक लाख ३० हजार ७५९ पुगेको छ ।

त्यस्तै स्पेनमा विगत २४ घण्टामा ६७४ व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । अघिल्लो दिनभन्दा आइतबारको मृतकको तथ्याङ्क १३५ ले कमी हो ।

यसैबीच, स्पेनमा कोभिड–१९ को उपचारका लागि अस्पतालमा भर्ना भएका ब्यक्तिको सङ्ख्या ५८ हजार ७४४ रहेको छ भने यो सङ्ख्या अघिल्लो दिनको सङ्ख्याभन्दा एक हजार १३२ ले बढी हो । त्यस्तै, यहाँ जटिल सङ्क्रमण भएका करिब छ हजार ८६१ जनालाई सघन उपचार कक्ष (आईसीयू)मा राखी उपचार भईरहेको छ । यो पछिल्लो २४ घण्टामा ३२९ व्यक्तिलाई आईसीयूमा भर्ना गरिएको छ ।

स्पेनको बढी प्रभावित क्षेत्र म्याड्रिड र क्याटालान क्षेत्र हुन् । म्याड्रिडमा चार हजार ९४१ जनाको उक्त भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ भने ३७ हजार ५८४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । क्याटलान क्षेत्रमा दुई हजार ६३७ जनाको मृत्यु भएको र २६ हजार ३२ जना सङ्क्रमित छन् ।

त्यस्तै, स्पेनमा आइतबारसम्म निको भएर घर फर्केका विरामीको सङ्ख्या ३८ हजार ८० पुगेको छ । यो अघिल्लो दिनभन्दा तीन हजार ८६१ व्यक्ति निको भएर घर फर्किएका छन् ।

शनिबार स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले देशवासीका नाममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरेका थिए । सम्बोधनमा उहाँले गत मार्च १४ मा घोषणा गरेको कोभिड–१९ विरूद्धको सतर्कता यही अप्रिल १२ गते समाप्त हुने भनिएको भएपनि यसलाई थप दुई हप्ता बढाई अप्रिल २५ सम्म पु¥याइएको जानकारी गराएका थिए ।

उनले देशव्यापी रूपमा लागु गरिएको लकडाउनका कारण नयाँ सङ्क्रमितको सङ्ख्यामा सामान्य कमी आएकोले स्पेनले यही उपायलाई आगामी केही साता कडाईका साथ लागु गर्नुपर्ने बताएका थिए ।

राज्यद्वारा जारी सङ्कटका समयमा सतर्कता अपनाउने निर्देशन समाप्त भएको केही हप्तासम्म नागरिकको तर्फबाट सावधानी अपनाएमा कोरोनाविरूद्धको लडाईमा सफलता मिल्ने प्रधानमन्त्रीको भनाई छ ।