सरकारी राहत : हुने-खानेले लिए, मजदुरहरुले अस्विकार गरे !

सरकारी राहत : हुने-खानेले लिए, मजदुरहरुले अस्विकार गरे !


लकडाउनको समयमा सरकारले दैनिक ज्यालादारी मजदुरहरुलाई राहत दिने घोषणा गरेसँगै देशभर अहिले राहत वितरण सुरु भएको छ । कोरोना भाइरसबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दे सरकारले देशभर लकडाउन घोषणा गरेको अवस्थामा वडा स्तरमा आपूर्ति समिति गठन गरी वितरण गर्न लागिएको राहत लमजुङको राइनासमा कार्यरत १० जना मजदुरले अस्विकार गरेका छन् ।

कैयन स्थानमा हुने–खानेहरू समेत राहतको लाइनमा बसेर हात थापिरहेको देखिएको छ, राइनासका दैनिक ज्यालादारी मजदुरहरुले भने राहत लिन अस्विकार गरेका हुन् । उनीहरुले राहत भन्दा पनि आवश्यक ब्यवस्था मिलाएर खरिद गर्ने प्रबन्ध गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

मुलुक संकटमा परेको बेला आफुहरुले पनि योगदान गर्नुपर्ने भन्दै अहिले आफुहरुले मजदुरीबाट कमाएको रकम नै खर्च गर्ने उनीहरुको भनाई छ ।

राइनास नगरपालिका वडा नं १ मा रहेका एक खानेपानी आयोजनामा कार्यरत मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । रोल्पा, बागलुङ र पाल्पा घर भएका उनीहरूले अहिले आफ्नै खर्चले धान्न सक्ने अबस्थामा रहेकोले राहत लिन आवश्यक नभएको बताएपछि वडाले उनीहरुको लागि वितरण गर्न लागेको राहत फिर्ता हुने भएको छ ।

राइनास नगरपालिका वडा नं १ मा ४१ जना दैनिक ज्यालादारी मजदुरको नाम सार्वजनिक गरिएको थियो भने राइनास नगरपालिका भित्र १३३६ घरपरिबारले राहत पाउने भएका छन् ।

यसअघि नगरपालिकाले गठन गरेको आपूर्ति समितिको सिफारिसका आधारमा प्रत्येक वडाबाट आएको सिफारिसलाई समावेश गरेर घरधुरी र्निधारण गरिएको छ । राइनासले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दश लाख र पालिकामा खर्च हुन नसकेका योजनाहरुको रकमान्तर हुने गरि १८ लाख बिनियोजन गरेर राहत दिने निर्णय भएको राइनास नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए ।