सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली ‘सेल्फ क्वारेन्टाइन’मा

सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली ‘सेल्फ क्वारेन्टाइन’मा


कञ्चनपुर, वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानी अपनाएको छ ।

ती सङ्क्रमित व्यक्ति भारतको उत्तराखण्डबाट यही चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए । ‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो,’ ब्रह्मदेवस्थित शसस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने– ‘गाडीको पछाडी पट्टी राखेर हाम्रो टोलीले गड्डाचौकी पुऱ्याएको थियो ।’

सो दिन खटिएका शसस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै उनले भने, ‘उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा छ । हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन ।’

सशस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको शसस्त्र प्रहरीले जनाएको छ । चैतको दोस्रो साता लकडाउनको शुरुवात बेला सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार तथा स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका समेत निभाएको थियो । सशस्त्र प्रहरी बलले भारतीय सुरक्षा निकायसित पनि आवश्यक समन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि सङ्क्रमित भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् । प्रजिअ उपाध्यायालाई उद्धृत गर्दै राससले जनाएअनुसार अन्य व्यक्तिमा त्यस्तो कुनै समस्या छैन, सङ्क्रमितले आश्रय लिएको बेदकोटको सुन्दरपुरमा रहेको क्वारेन्टाइन अनुगमन गरिएको छ । सङ्क्रिमतसँगै क्वारेन्टाइनमा आश्रय लिएकाको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा बस्न आउने बढिरहेका पनि उनले बताए ।