मास्क अनि पिपिई के हुन् ? कसरी नेपालमा यसको गलत प्रयोग भैरहेको छ ?

मास्क अनि पिपिई के हुन् ? कसरी नेपालमा यसको गलत प्रयोग भैरहेको छ ?


■ सागर सुवेदी

पिपई कहाँ कसले प्रयोग गर्ने ?

कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका बीच यतिबेला सही सूचनाको अभाव सबैभन्दा बढी नेपालमै देखिएको छ । यतिसम्म कि अस्पतालमा सघन कक्ष (आइसीयु), अति सघन कक्ष (आइएमसीयु) भित्र तथा अपराध अनुसन्धानमा काम गर्दै गर्दा प्रहरी टिमले पनि प्रयोग गर्न सकिने रक्षा कवच (पीपीई) कसले कहाँ प्रयोग गर्ने भन्ने सही सूचना नेपालको स्वास्थ मन्त्रलाय तथा यसमातहतका निकायबाट सरकारकै प्रहरी कर्मचारीलाई नहुँदा यसको दुरुपयोग बढिरहेको सामाजिक सञ्जालमा छताछुल्ल देखिन्छ ।

दुःखद् पक्ष यो हो कि नेपाल प्रहरीको आफ्नै अस्पताल छ, आफ्नै विशेषज्ञ डाक्टरहरू छन् । यो एपिडेमीको विषयमा अन्य सरकारी निकायमा भद्रगोल भए पनि चेन आफ कमाण्डमा रहेको नेपाल प्रहरीको अन्तरिक सञ्चारबाट हरेक प्रहरी कार्यालय तथा कर्मचारीलाई सही सूचना प्रसारण गर्नुपर्नेमा नेपाल प्रहरी किन चुकिरहेको छ ? पङ्क्तिकार ज्वलन्त प्रश्न महसुस गरिरहेछ । र, सबैभन्दा ध्यान जानुपर्ने पाटो नै यही देखिन्छ ! नेपाल प्रहरीले जतिसक्दो चाँडो यो गल्ती सुधार्नु अपरिहार्य छ ।

के पीपीई प्रयोग गर्दैमा प्रहरी सुरक्षित हुन्छन् ?

हुन्छन् तर हुँदैनन् ! – किन ? किनकि यो सुरक्षा कवज मात्र एक पटक प्रयोग गर्ने किसिमले बनाइएको हुन्छ । कतै–कतै यसलाई दोस्रो पटक पनि प्रयोग गर्न सकिने देखिएको छ, तर यसको आफ्नै प्रक्रिया हुन्छ । दोस्रो पटक प्रयोग गर्दा यो कवचलाई १२० डिग्री तापक्रमको बाफ निस्किने उपकरणमा (यस्ता उपकरण स्तरीय अस्पतालहरूमा उपलब्ध हुन्छन्) करिव २० मिनेट राख्नुपर्ने हुन्छ । नेपाल प्रहरीका कुनै पनि युनिटमा यसको ब्यवस्था भएको पङ्क्तिकारको जानकारीमा छैन । यसर्थ, यो कवच एक पटक लगाएपछि नस्ट गर्नुपर्छ (या फोहोर फाल्ने विशेष ठाउँमा संकलन गरेर यसलाई रिसाइकिल गर्न सकिन्छ) ।

पुनः प्रयोग गर्दा यसको बाहिरी सतहमा टाँसिएका सुक्ष्म किटाणु अर्को व्यक्ति या ठाउँमा सर्दछन्, र संक्रमण अझ बढी हुने सम्भावना रहन्छ । नेपाल प्रहरीले अब यो बुझ्नुपऱ्यो कि पीपीई लगाउँदैमा सुरक्षित हुन् सकिँदैन । साथै, आफ्ना मातहतका कार्यालयलाई सर्कुलर गरेर तुरुन्त अहिले भैरहेको गल्ती सुधार गर्दा राम्रो सन्देश जान्छ ।

अहिले कस्तो अवस्थामा प्रहरीले पीपीई प्रयोग गर्ने ?

हो, प्रहरीले पनि पीपीई प्रयोग गर्नुपर्ने अवस्था आउँछ । त्यो अवस्था भनेको कुनै असक्त संक्रमित (पुष्टि भैसकेको)लाई कुनै तवरबाट सहयोग गर्दा या कुनै विशेष अवस्थामा उद्दार गर्दाको बखतचाहिँ लगाउनु पर्दछ । सहज तरिकाले बुझ्दा कुनै प्रहरी कर्मचारी संक्रमित पुष्टि भैसकेको बिरामीको एक मिटरभन्दा नजिक गएर सहयोग गर्नु पऱ्यो अनि उक्त सहयोग पन्ध्र मिनेटभन्दा कम अवधि रहेर गर्नु परेको खण्डमा मात्र उक्त सुरक्षा कवच प्रयोग गर्नुपर्छ ।

कस्तो मास्क कसले प्रयोग गर्ने ?

केही दिनपहिला साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले कुनै सार्वजनिक कार्यक्रममा ‘FFP 3 – N 95’ गुणस्तर भन्दा राम्रो मास्क प्रयोग भएको तस्बिर सामाजिक सञ्जालमा राखे । साथै, नेपाली कांग्रेसका केन्द्रिय नेता डा. शेखर कोइरालाले पनि कुनै कार्यक्रममा सोही प्रकारको मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा देखियो । यस्तै, वर्तमान प्रहरी महानिरीक्षकले पनि प्रहरी केन्द्रिय कार्यालयमा यस्तै प्रकारको मास्क प्रयोग गरेर कुनै संस्थाबाट नेपाल प्रहरीलाई प्रदान गरिएको पीपीई ग्रहण गरे ।

आखिर, माथि उल्लेख गरिएका व्यक्तिहरूले ती मास्क प्रयोग गर्नुपर्ने अवस्था थियो त ? पक्कै थिएन ! किनकि ती मास्क कुनै पनि सरुवा रोगबाट त्यसको उपाचार या उद्दारमा सहयोग गर्ने व्यक्तिहरुले लगाउनका लागि निर्माण गरिएका हुन् ।

त्यसोभए माथि उल्लेख गरिएका कोटीका व्यक्तिले कस्तो मास्क प्रयोग गर्ने त ?

कुनै पनि मास्क प्रयोग नगर्ने ! प्रयोग तब गर्ने जब कोही संक्रमित व्यक्ति या संक्रमित परिवारका सदस्यलाई कुनै अस्पताल या क्वारेन्टाइमा भेट गर्नुपर्ने हुन्छ ।

के कुनै पनि मास्क नलगाई कुनै संक्रमित व्यक्तिको अगाडि जाँदा संक्रमण सर्छ त ?

सर्छ र सर्दैन पनि । सर्छ त्यो अवस्थामा जब तपाईं कुनै शरीरका अङ्गले संक्रमित व्यक्तिको अङ्गसँग जोडिनुहुन्छ, हात मिलाउनुहुन्छ, अंकमाल गर्नुहुन्छ या उक्त संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा उसको मुखबाट निस्किने ‘वाटर ड्रप’ तपाईंको कुनै अंगमा पऱ्यो भने, अन्यथा तपाईंले जबसम्म संक्रमित व्यक्तिसँग दुई मिटरको दूरी कायम गर्नुहुन्छ, तबसम्म तपाइलाईं सर्दैन, र सर्ने सय प्रतिशत सम्भावना भनेको तपाईं कुनै संक्रमित व्यक्तिसँग एक मिटरभन्दा कम दूरीमा १५ मिनेटभन्दा बढी समय सँगै रहनुहुन्छ भने सङ्क्रमित हुन सक्नुहुनछ ।

अहिले विश्वबजारमा मेडिकल प्रयोजनका लागि कस्ता प्रकारका मास्क हुन्छन् त ?

1. FFP 1
2. FFP 2 (N 95)
3. FFP 3 (N 95 Better Quality )
4. OPM

(FFP = Filtering Face Piece)

माथिका मास्कहरू मध्ये ४ नम्बर बुँदाको OP मास्क एक साधारण मास्क हो जसलाई साधारण अवस्थामा अपरेसन कक्षमा प्रयोग गरिन्छ (सरुवा रोग लागेका बिरामीबाहेक) FFP 1 मास्क मा भेन्टिल (स्वास–प्रस्वासका लागि छिद्र) हुँदैन, त्यसैले यो मास्क COVID -19 संक्रमित व्यक्तिले लागाउनु राम्रो हुन्छ । किनकि, यसमा भेन्टिल नभएको कारण स्वास फेर्दा स्वस्थकर्मीमा संक्रमण गराउने सम्भावना न्युन हुन्छ । यो मास्कले संक्रमणको दरलाई ७५ प्रतिशत रोक्न सक्छ । FFP 2 मास्कमा भेन्टिल हुन्छ तर FFP 3 जस्तो सुरक्षित अरु हुँदैन । तैपनि यसले संक्रमणको दरलाई ८९ प्रतिशत रोक्न सक्छ भने FFP 3 मास्कले ९५ प्रतिसतसम्म संक्रमण रोक्न सकिने विभिन्न निर्माताहरूले आफ्नो प्रोडक्ट को बारेमा जानकारी दिँदा बताएका हुन्छन् । साथै यी मास्कलाई विश्व स्वस्थ संगठनले पनि मान्यता दिएको छ ।

के काठमाडौंमा ट्राफिक प्रहरीले प्रयोग गर्ने मास्कले कोरोना भाइरसलाई रोक्न सक्छ ?

प्रस्ट भन्नुपर्दा– सक्दैन ! किनकि, कोरोना भाइरस ०.५ नानो मिटर भन्दा सानो हुन्छ भनेर वैज्ञानिकले प्रमाणित गरिसकेका छन् । ट्राफिक प्रहरीले प्रयोग गर्ने मास्कले धुलो केही हदसम्म मात्र रोक्न सक्छ ।

अब हामीले बुझ्नुपर्ने विषय भनेको संक्रमणबाट सय प्रतिशत बच्नु भनेको ‘अलग’ रहनु नै हो । विशेष काममा बाहिर निस्कन परेको खण्डमा थोरैमा एक मिटरको दूरी तय गरेर हिँड्ने तथा सकेसम्म घरमै बस्नु हो ।

(घटना र विचारका विशेष प्रतिनिधि सागर सुवेदी पेसाले नर्स हुन् । मास्कबारे थप जानकारी आवश्यक परे भियना (अष्ट्रिया)को अस्पतालमा कार्यरत सुवेदीसँग Twitter ठेगानामा सम्पर्क गरेर जिज्ञासा राख्न सक्नुहुनेछ । – सं.)

हाम्रा विशेष प्रतिनीधि सुवेदीलाई Twitter मा follow गर्नका लागि–

https://twitter.com/sagaraustria