बिरामी बोक्ने एम्बुलेन्समा यात्रु ओसारपसार !

बिरामी बोक्ने एम्बुलेन्समा यात्रु ओसारपसार !


■ विकास रौनियार, धादिङ

लकडाउनको अवस्थामा बिरामी बोक्ने एम्बुलेन्सलाई यात्रु ओसारपसार गर्ने साधन बनाइएको खुुलासा भएको छ । धादिङको गजुरी–२ मा सञ्चालित एम्बुलेन्सको प्रयोग गरी त्यस्तो कार्य भएको पाइएपछि एम्बुलेन्ससहित त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘लकडाउन’को समयमा बिरामी बोक्न छुट दिइएको गजुरीको एम्बुलेन्सले लकडाउनको उल्लघंन गर्दै यात्रु बोक्ने गरेको खुलासा भएको हो ।

सो एम्बुलेन्स बागलुङबाट ७ जना यात्रु बोकेर गजुरी फर्किन लागेको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको एम्बुलेन्सका सात जना यात्रुलाई क्वारेन्टाइनमा पठाइएको छ भने एम्बुलेन्सका दुई चालकमध्ये एक जनासँग साथमा सवारीचालक अनुमति पत्र नभएको पाइएको प्रहरीले जनाएको छ ।

पिपिइ र माक्स हस्तान्तरण

यसैबीच, गजुरी गाउँपालिका वडा नं १ मा रहेको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको कोरेनटाइन स्थलमा कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार तथा चेकजाँच सहज होस् भनी लायन्स क्लब अफ धादिङ (गजुरी) ले दुई सेट पीपीई, माक्स तथा फेस सिल्ड उपलब्ध गराएको छ।

उक्त सामाग्री लायन्स क्लब अफ धादिङ गजुरीका अध्यक्ष पदम श्रेष्ठ र सोही क्लबका सदस्य संजय श्रेष्ठले गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतको उपस्थितिमा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक खगेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।