कोरोनाबाट मडारिँदै गएको तीन परिदृश्य

कोरोनाबाट मडारिँदै गएको तीन परिदृश्य


■ धीरज निष्पक्ष

पछिल्लो समय कुनै शब्द यसरी दोहोरिरहेको छ कि त्यो सुन्दासुन्दै कतिलाई डर, दिक्क वा उदासी त कतिलाई सामान्य वा भनौँ त्यस शब्दमा अभ्यस्तता पनि भइसकेको छ । शब्द हो– कोरोना भाइरस !

हुन त कोरोना आफैंमा कुनै किटान भाइरस होइन भनिएको छ, भाइरसहरूको समुहको नाम हो भनिएको छ । तर, जनजिब्रोमा पछिल्लोपटक विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड–१९ लाई सरलीकृत रूपमा ‘कोरोना’ भनी, सबैले चिनेका छन् । यो आलेख लेखिँदासम्म विश्वभर कोरोनाले करिव १२ लाख व्यक्तिहरूलाई सङ्क्रमण गरेको छ, भने करिव ६४ हजारले ज्यान गुमाउन पुगेका छन् । यो सङ्ख्या दैनिक हजारौँमा थपिने क्रम जारी नै छ । कोरोनाको सन्त्रास यसरी दिनहुँ बढ्दै जाँदा कतिपयले ‘कोरोना लागेर मर्ने डरले बरु मरिदिन्छु’ भन्दै आत्महत्या गरेका तथ्याङ्क पनि सार्वजनिक भएका छन् । त्यस्तै, संसारभर कोरोनाबाट मर्ने कुल सङ्ख्यामा २ प्रतिशतले कोरोनाको त्रासबाट हृदयघात भएको तथ्य सर्वछ्याङ्ग छ ।

विश्वव्यापीकरणमा कोरोनाको प्रभाव बढ्दै जाँदा यसबाट मुख्यतः तीन परिदृश्यको बादल मडारिँदै गएको आभाष हुन्छ । यद्यपि यो पङ्क्तिकार आफूलाई राजनीतिक पण्डित सावित गर्न यी सबै घटनाक्रम विकसित होस् र भविष्यवाणी ठ्याक्कै मिलोस् भन्ने मनसायबाट प्रेरित नभई घटनाक्रमले इङ्गित गरेको सङ्केत तथा सम्भाव्यतालाई मात्रै पूर्ववत् रूपमै जानकारी पुगोस् भन्ने हो । किनकि, पूर्ववत् रूपमा जानकारी आउँदा आगामी दिनमा घट्न सक्ने दुर्घटनालाई रोक्न, न्यूनीकरण तथा रूपान्तरण गर्न सकिन्छ भन्ने अभिशाय भने पक्कै हो । बरु आँकलन गरिएको डरलाग्दो तरिकाबाट मडारिँदै गएको बादलको निवारण होस्, पङ्क्तिकारले प्रक्षेपण गरेको घटनाक्रम गलत रहेछ भनी सावित भएमा एउटा लेखकलाई मात्रै होइन, समस्त प्राणीको पक्षमा न्याय पुग्नेछ । लेखकको यो आशक्ति मुख्यतः तेश्रो सम्भावना टरोस् भन्नेमा हो ।

यो प्रकोप ६–७ महिनासम्म यसरी नै गतिशील अवस्थाबाट अघि बढिरहे वा अमेरिका तथा युरोपेली राष्ट्रहरूमा दैनिक सयौँको सङ्ख्यामा मानिसहरू मर्दै गए भने पश्चिमा राष्ट्रहरू एक भएर थाहा नै नदिई एकाएक चीनविरुद्ध सैन्य आक्रमण गर्न सक्छन् ।

कोरोनाले निम्त्याउन सक्ने तीन घटनाक्रमको आँकलन :

१) लकडाउन कम्तीमा अरु १८ दिन थपिनेछ 

सरकारले शुरुमा एक हप्ताको लागि भनेर चैत्र ११ गतेदेखि शुरु गरेको लकडाउन पुनः एक साता थपेर आगामी २५ गतेसम्मको लागि विद्यमान छ । तर फेरि पनि एकैचोटी वा पटक–पटक गरी पुनः कम्तीमा १८ दिन लकडाउन थप्ने निश्चितप्रायः छ । भर्खरबाट थप कोरोनाको सङ्क्रमण देखिन थाल्दा लकडाउन थप्नु स्वभाविक पनि हो । तर, नेपालमा यसरी लकडाउन थपिँदै जाँदा अर्थतन्त्र त पूरै धरासयी बन्ने पक्का छ । हुन त विश्वभर नै अर्थतन्त्रको नकारात्मक असर पुगेको छ, तर पनि हरेक कुराको प्रारम्भिक प्रभाव गरिबीलाई परेको उदाहरण प्रशस्तै छ । धनी पनि नमरेका त छैनन्, तथापि उनीहरू अलि पछि मात्रै प्रभावित हुन या मर्न पुग्दछन् । नेपाल आफैं गरिब मुलुक भएकोले प्रारम्भिक अवस्थामै प्रभावित बन्दैछ ।

नेपालको अर्थतन्त्रको आकार बढाउने रेमिट्यान्स करिव–करिव रोकिएको छ । भन्सार नगन्य रूपमा छ । उद्योग, कल–कारखाना पूर्ण रूपमा बन्द छ, जसबाट कर असूली शून्यमा झर्ने क्रममा छ । अझ व्यापारीहरू सरकारबाट अनुदानको माग गर्न थालेका छन् । सरकारी राजश्वको अर्को माध्यम भनेको बाहिरी देशबाट आउने अनुदान पनि अब पूर्णतः रोकिँदै छ । किनकि कोरोनाको आक्रान्तले विकसित तथा अरुलाई सहायता दिन सक्ने मुलुकहरू नै रक्षात्मक अवस्थामा पुगेका छन् । उनीहरू आफू र आफ्ना जनताको जीवनरक्षामै बढीभन्दा बढी केन्द्रित हुन थालेका छन् । अरुलाई सहयोग वा सहायता दिने कार्य उनीहरूको लागि अहिले प्राथमिकतामा रहेको छैन ।

२) सर्वपक्षीय सरकार 

यसरी लकडाउन २–३ महिना धकिलिँदै जाँदा देश आर्थिक रूपमा तहसनहस हुने यो पङ्क्तिकारको मात्रै विश्लेषण नभई राज्यको बागडोर सम्हाल्ने कयौँ दिग्गजहरूले महशुस गरिसकेका छन् । उनीहरूमा पनि देश डुब्न लाग्यो भन्ने चिन्ताबाट व्याकुल भएको सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ, कम्युनिष्ट नेतृत्वले राज्य सञ्चालन गरिरहेको बखत देश डुबेमा दीर्घकालीन असर र इतिहास यो घटना दर्ज हुन पुग्दछ ।

हुन त यो आन्तरिक कारणबाट उब्जेको सङ्कट पनि होइन र जो कुनै दलको सरकार भए पनि हुने भनेको अहिले अवस्थामा जे छ, त्यो नै हुने हो । तर राजनीतिक दाउपेच यतिसम्म निर्मम र पेचिलो हुन्छ कि विपक्षीले यस्तो बेला निष्ठाको राजनीतिलाई तिलाञ्जलि दिँदै भरपूर फाइदा उठाउन सक्ने सम्भावना अधिक हुन्छ । त्यो सम्भावनालाई नजिकबाट सत्तापक्षले पनि केलाएको हुँदा दाउपेचबाट जोगिन र भविष्यको खलनायकताबाट बच्न पछिल्लो समय नेकपाभित्र अझ विशेषतः पूर्वएमाले वृत्तमा सत्तामा काङ्ग्रेसलाई पनि सँगै लैजाने मनसाय देखिन्छ, जसको अनौपचारिक प्रस्ताव कांग्रेस नेतृत्वसम्म पुगिसकेको छ । फलस्वरूप आफू अघिल्लो पङ्क्तिमा देखिन नचाहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सल्लाह गरेर नै वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत त्यसको व्यवस्थापन गर्न चाहेका छन् । यो संयोग मात्रै होइन, त्यसै व्यवस्थापनको सङ्केत हो, केही दिनअघि रामचन्द्र पौडेलले राष्ट्र सङ्कटमा सर्वपक्षीय सरकार बनाउनुपर्छ भनी ओकलिसकेका छन् ।

तसर्थ, करिव दुई तिहाई जनादेश पाएको वर्तमान सरकारमा कांग्रेसलगायतका दलको पनि सहभागिता रहने सम्भावना प्रवल छ र त्यसलाई अनौठो नमान्दा हुन्छ, किनकि अहिलेको अवस्थामा सांसदको सङ्ख्या अपुग होइन, सरकारलाई धेरै पार्टी एकै कित्तामा उभ्याउनु छ । यो सरकारलाई मात्रै नभएर समग्र राज्यको तर्फमा पनि सकारात्मक बल नै पुग्ने देखिन्छ ।

संसारकै अति तीक्ष्ण बुद्धिका धनी भौतिक विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनले भनेका थिए– ‘तेश्रो विश्वयुद्धमा केको प्रयोग हुन्छ त्यो त थाहा छैन, तर चौथो विश्वयुद्धमा ढुङ्गाका हतियार र लठ्ठीको प्रयोग हुन्छ ।’

३) तेश्रो विश्वयुद्धको सम्भावना 

कोरोनाको महामारी २–४ महिनाभित्र न्यूनीकरण भए चीनको भाइरसलाई हामीले जित्यौँ भन्दै पश्चिमाहरू गिज्जिन पनि सक्छन्, यद्यपि सन्तुलित हुन्छन् । तर कोरोना नियन्त्रण नभए वा यो प्रकोप ६–७ महिनासम्म यसरी नै गतिशील अवस्थाबाट अघि बढिरहे वा अमेरिका तथा युरोपेली राष्ट्रहरूमा दैनिक सयौँको सङ्ख्यामा मानिसहरू मर्दै गए भने पश्चिमा राष्ट्रहरू एक भएर थाहा नै नदिई एकाएक चीनविरुद्ध सैन्य आक्रमण गर्न सक्छन्, जुन एकैपटकमा सकेसम्म ठूलो क्षति होस् भन्ने मनशायबाट हुने देखिन्छ । त्यो भनेको अमेरिकाले जापानको नागाशाकी र हिरोशिमामा गरेको जस्तो आक्रमण नै हो ।

यस्तो अवस्थामा चीनको नेतृत्वमा पनि उत्तर कोरिया, रसिया, इरान तथा पाकिस्तानलगायतले पनि प्रतिउत्तर दिँदा विश्व फेरि दुई ध्रुवमा विभाजित हुन पुग्दछ, र फेरि धेरैको अनपेक्षित र अनुमानित परमाणु युद्ध शुरु हुने सम्भावना प्रवल रहन्छ । जसबाट प्रत्यक्ष रूपमा धेरै मानिस मर्नेछन् भने अप्रत्यक्ष रूपमा पनि विभिन्न साइड इफेक्टस्वरूपका विकीरण तथा नयाँ खालका प्रकोप फैलिएर संसारमा करिब एक चौथाई मात्रै मानिस बाँच्न सक्दछन् । किनकि, संसारकै अति तीक्ष्ण बुद्धिका धनी भौतिक विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनले भनेका थिए– तेश्रो विश्वयुद्धमा केको प्रयोग हुन्छ त्यो त थाहा छैन, तर चौथो विश्वयुद्धमा ढुङ्गाका हतियार र लठ्ठीको प्रयोग हुन्छ ।

उनको त्यो वाणीबाटै अनुमान लगाउन सकिन्छ कि यदि तेश्रो विश्वयुद्ध यति भयङ्कर वा ठूलो हुन्छ कि अहिलेका सम्पूर्ण भौतिक तथा प्रविधिको पूर्ण रूपमा नाश हुनेछ र चौथो विश्वयुद्धसम्म पुग्दा पनि पुनः ती वस्तुहरू पुनःस्थापित हुन नसकेर लठ्ठी र ढुङ्गाको हतियारको भर पर्नुपर्ने छ । तसर्थ, कोरोनाविरुद्ध सबै मानवजाति एक ठाउँमा आउनुको विकल्प छैन । मानवताविरोधी ‘साझा शत्रु’को रूपमा सहकार्यमार्फत् कोरोनाविरुद्ध विश्वमञ्च एक हुनु नै मानवसभ्यताको सुखद् पाटो र अनिष्ट रोक्ने अस्त्र भन्नु अत्युक्ति नहोला ।