भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो


भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार ((४ अप्रिल) सम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा वृद्धि भएको हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी बृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने दुई हजार ६५० रहेको छ ।

पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना महाराष्ट्र राज्यका, दुई जना दिल्ली र एक जना गुजरात राज्यका रहेका छन् । अहिलेसम्मको विवरणबाट सबैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि धेरै गुजरातमा नौ जनाको मृत्यु भएको छ भने तेलङ्गनामा सात जनाको मृत्यु भएको विवरण छ । त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा ६–६ जना, पन्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन/तीन जना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई÷दुई जनाको मृत्यु भएको पीटीआईले जनाएको छ ।

बताइएअनुसर आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक/एक जनाको मृत्यु भएको छ । कुल सङ्क्रमित दुई हजार ९०२ जना मध्ये ५५ जना विदेशी रहेका छन् । सङ्क्रमितको सङ्ख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार महाराष्ट्रमा ४२३ जना सङ्क्रमित भएका छन् ।

दोस्रो धेरै सङ्क्रमित तमिलनाडुमा रहेका छन्, जहाँ ४११ जना सङ्क्रमित भेटिएका छन् । त्यसैगरी दिल्लीमा ३८६ जना, केरलामा २९५ जना, राजस्थानमा १७९ जना र उत्तर प्रदेशमा १७४ जना सङ्क्रमित भेटिएका छन् । अन्य प्रदेशमा पनि सङ्क्रमितहरु रहेका भए पनि अहिलेसम्म त्यहाँको सङ्क्रमित सङ्ख्या न्यून रहेको छ ।