विभागीय प्रमुखद्वारा सदस्यसचिवको मानमर्द्धन

विभागीय प्रमुखद्वारा सदस्यसचिवको मानमर्द्धन


■ श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले राखेपका सदस्यसचिव रमेशकुमार सिलवालको मानमर्द्धन गरेका छन् । थापाले व्यक्तिगत रूपमा सामाजिक सञ्जालमा खेलकुदमातहत रहेका कर्मचारी, खेलाडी र पदाधिकारीलाई निर्देशन दिएर सिलवालको मानमर्द्धन गरेका हुन् ।

यतिबेला मुलुक कोरोना भाइरसका कारण लकडाउनमा रहेको र राखेपअन्तर्गत रहेका अधिराज्यभरिका कार्यालय, कर्मचारी, खेलाडी, पदाधिकारी र निजका परिवारको बारेमा जानकारी गराउन थापाले सामाजिक सञ्जाल फेसबुकबाट निर्देशन दिएका छन् । साथै लकडाउनको अवस्थामा कुनै कठिनाई परे त्यसको विवरण संकलन गर्दै सहयोग गर्नु र केन्द्रले केही गर्नु परेमा त्यसको जानकारी गराउनसमेत उनले निर्देशन दिएका छन् ।

आफै परिषद्को प्रमुख भएको भ्रम दिने गरी थापाले गैरकानुनी तवरले यस्तो निर्देशन दिएपछि यतिबेला खेलकुदकर्मीहरू अन्योलमा परेका छन् । थापाको यो निर्देशन मान्ने कि नमान्ने भन्ने बारेमा उनीहरू प्रष्ट हुन सकेका छैनन् । किनकि, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव सिलवालले नभई विभागीय प्रमुख थापाले यसरी निर्देशन दिएका छन् ।

यदि यो निर्देशन राखेपले दिएको भए राखेपको लेटरप्याडमा हुन्थ्यो । थापाले दिएको निर्देशनमा राखेपको लेटरप्याडको प्रयोग गरिएको छैन । थापाले आफू ‘ठालु’ बन्न व्यक्तिगत रूपमा उक्त हर्कत गरेको उनले सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्रीले पनि प्रस्ट पार्छ । खेलकुदको आधिकारिक संस्था भनेको राष्ट्रिय खेलकुद परिषद हो । यदि राखेपले यो सूचना जारी गरेको भए अवश्य पनि राखेपको लेटरप्याडमा जारी हुनुपर्ने थियो ।

यसरी आधिकारिक र माउ संस्था राखेप हुँदाहुदै थापाले व्यक्तिगत रूपमा यस्तो गैरकानुनी निर्णय कुन मकसदले गरे र सम्पूर्ण खेलकुदका निकायहरुलाई कसरी निर्देशन जारी गरे, अहिले चर्चाको विषय बनेको छ । थापाले यो निर्देशनलाई ‘राखेपकोे निर्णय’ भन्दै सम्पूर्ण खेलकुदका निकायलाई सहयोग गर्न र नसके केन्द्रलाई जानकारी गराउन समेत आदेश दिएका छन् ।

यतिबेला प्रश्न उठेका छ, थापाले दिएको यो निर्देशन राखेपको हो कि थापाको ? यसको छिनोफानो हुन जरुरी छ । यदि थापाको निर्देशन व्यक्तिगत हो भने यो गैरकानुनी हो, उनले राखेपको आदेशविना यस्तो आदेश जारी गर्न मिल्दैन । राखेपलाई सुइँको समेत नदिई निर्देशन जारी गर्ने थापालाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्छ । अन्यथा भोलि खेलकुदको अर्को कर्मचारीले यस्तो हरकत गरेमा त्यसको जवाफदेही को हुने ? प्रश्न तेर्सिएको छ ।

थापा राखेपका कर्मचारी मात्र हुन्, उनलाई राखेपले जस्तो आदेश दिन्छ सोबमोजिम मात्रै गर्नुपर्छ । तर यहाँ थापाले राखेपलाई वाइपास गर्दै आफै राखेपको सर्वेसर्वा भएजस्तो गरि जसरी निर्देशन जारी गरेका छन्, जसले गर्दा राखेपको सदस्यसचिव थापा हुन् कि सिलवाल ? खुट्याउनु पर्ने अवस्था सिर्जना भएको छ ।

ज्ञातव्य छ, थापाले दिएको यस्तो अस्वाभाविक ‘निर्देशन’को बारेमा अहिलेसम्म राखेपले कुनै प्रतिक्रिया जनाएको छैन । थापाको यस गैरकानुनी हरकतबारे राखेप कहिलेसम्म मौन रहन्छ ? चासोको विषय बनेको छ ।