बलात्कार अभियोगमा दुई जना प्रहरी नियन्त्रणमा

बलात्कार अभियोगमा दुई जना प्रहरी नियन्त्रणमा


एक युवतीलाई बलात्कार गरेको आरोपमा नुवाकोट प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ ।

बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रूपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा–५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता राजेश थापाले जानकारी दिएका हुन् ।

आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार (१७ चैत) राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।

उता कैलालीको घोडाघोडी नगरपालिकामा बलात्कारको आरोपमा अर्का एक जना पक्राउ परेका छन् । घोडाघोडी–९ का २४ वर्षीय भुवन रावललाई सोही स्थानकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बिहीबार (२० चैत) राति करिव १ बजेतिर घरमा सुतिरहेका अवस्थामा घरको कोठामै आएर आफूलाई जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएपछि अनुसन्धानका लागि रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टलाई उद्धृत गर्दै राससले जनाएको छ ।