कोरोना भाइरस प्रकोपबीच जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’

कोरोना भाइरस प्रकोपबीच जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’


भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नाबालकको नाम ‘कोरोना’ र नाबालिकाको नाम ‘कोभिड’ राखिएको छ ।

यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ तर रायपुरका दम्पतीका लागि कठिनाइमाथि विजयको प्रतीक रहने बताइएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण लागू भएको राष्ट्रव्यापी तालाबन्दीमा गत मार्च १४ का दिन जुम्ल्याहाको जन्म भएको र अहिले उनीहरू अस्पतालबाट घर फर्किसकेका छन् ।

उनीहरूका अभिभावक प्रीति वर्मा (आमा) र शुभ्र सिंह (बाबु) ले विश्वले भोगिरहेको अप्ठ्यारो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन आफ्ना जुम्ल्याहा सन्तानको नाम त्यसरी राखेको बताएका छन् । जुम्ल्याहाकी आमाले कोरोना भाइरस सङ्क्रमणको समयमा अस्पतालमा भर्ना भएपछि सङ्क्रमणको भयका कारण बच्चा जन्माउँदा र त्यसपछिका केही दिन निकै कठिनाइ भएको बताएकी पीटीआईले जनाएको छ ।

अस्पतालको कुशल व्यवस्थापनका कारण आफूहरू सुरक्षित घर फर्किएकोमा उनले रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पताल र आफ्नो सेवामा संलग्न स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिएकी छन् ।

‘लकडाउनका कारण सडकमा कुनै सवारी चलाउन अनुमति नहुने हुँदा हामीलाई प्रहरीले विभिन्न स्थानमा रोकेको थियो तर उनीहरू (सुरक्षकर्मी)ले मेरो अवस्था देखेपछि अवरोध गरेनन् । अस्पताल जान पाइयो । मध्यरात भएको कारण अस्पतालमा के हुने होला भनेर म सोचिरहेको थिएँ तर सौभाग्यवश चिकित्सकहरू र अन्य स्टाफहरू निकै सहयोग गर्नुभयो । हामी आज खुशी छौँ’, जुम्ल्याहाकी आमा वर्मा भन्छिन् ।

‘यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन् । त्यही भएर हामीले यी नाम छानेका हौँ’, उनले थप प्रष्टयाइन् ।

अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन् । ती दम्पतीको स्थायी घर उत्तर प्रदेशमा रहेको भएपनि पछिल्ला केही वर्षदेखि छत्तिसगढ राज्यको राजधानीको पुरानो बस्ती क्षेत्रमा भाडाको घरमा बस्दै आएका बताइएको छ ।